थारु खानाको स्वाद चखाउँदै, मनग्य पैसा कमाउँदै

थारु समुदायमा प्रचलित खानाका परिकारबाट राम्रो आम्दानी हुन थालेको छ । होटल व्यवसाय गर्नेहरूले परम्परागत थारु खानाबाट गतिलो आयआर्जन गर्न थालेका हुन् ।

सम्बन्धित सामग्री

पर्यटन व्यवसायका विविध आयाम

नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको देश हो । भौगोलिक रूपमा सानो भएर पनि प्राकृतिक विविधताका कारण विश्वमा नै अग्र स्थानमा रहेको छ । नेपालमा पर्यटक आकर्षित हुनुका कारणहरू अनेक रहेका छन् । त्यस्तै नेपालमा पर्यटनका विविध आयात र क्षेत्र रहेका छन् । ती सबै आयामलाई उपयोग गर्न सके यसबाट समृद्धिको बाटो खुल्न सक्छ ।   ग्रामीण पर्यटन : आजभोलि ग्रामीण पर्यटनको महत्त्व ज्यादा बढेको देखिन्छ । शहरी वातावरणबाट अलिक मात्र उन्मुक्ति प्राप्त गर्ने ध्येयले स्वदेशी पर्यटक पनि आन्तरिक पर्यटकका रूपमा गाउँ घुम्न जान्छन् । यसले रोजगारी तथा आन्तरिक उत्पादनले बजारीकरणको अवसरसमेत प्राप्त गराउँछ । पर्यटकहरू स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरू नवीन स्थान तथा वनस्पति र जीवजन्तु आदिका बारेमा जान्न चाहेका हुन्छन् । यस्ता पर्यटकका लागि ग्रामीण पर्यटन उत्तम मानिन्छ । विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किरहेको छ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक अवलोकन भ्रमण गर्न होस् या बिदा मनाउन नै किन नहोस्, गाउँमा पुग्ने गरेका छन् । यसले नेपालको आन्तरिक बजारमा मात्र नभई विश्व बजारमा पनि प्रचार भएर पर्यटन व्यवसायमा थप टेवा पुग्छ । ग्रामीण पर्यटनले स्थानीय र रैथाने उत्पादनको स्वादको मजा मात्र नलिई उक्त उत्पादनको बजारीकरणसमेत हुन्छ । कोदो, फापर, करू, जौ, सिस्नुको पीठो, मार्सी चामल, सिमीको दाल, सिन्की, लप्सी, कागुनोजस्ता दर्जनौं उत्पादनले चर्चा पाउने र त्यसको बजारीकरणमा समेत प्रभावकारी रहने भएकोले गाउँ पर्यटनको महत्त्व ज्यादा रहेको छ । होमस्टे : होमस्टेले पर्यटकलाई भिन्न खालको अनुभूति गराउन सफल भएको छ । यसले स्थान विशेषको प्रचार गराउन सहयोग गर्छ । त्यस स्थानका श्रमिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँपनको अनुभूति गर्दै स्थानीय परिकारको स्वाद लिएर आनन्दित बन्दै फर्कन्छन् । यसैले हाम्रो देशको आर्थिक र पर्यटन विकासमा होमस्टे अवधारणा वरदान नै सावित हुन सक्छ । यस्ता होमस्टे सञ्चालन गर्ने सबै व्यवसायलाई थप सहज बनाउन स्थानीय सरकारले कर र अन्य कार्यमा सहजीकरण गरी प्रेरित गर्न सक्नुपर्छ । हस्तकला र पर्यटन : पर्यटन व्यवसायबाट हस्तकलाको विकासमा सहयोग पुग्छ । हस्तकला र पर्यटन एकअर्काका परिपूरक हुन्छन् । पहाडी क्षेत्रका विशेष हस्तकलाहरूमा चकटी, सानासाना कलात्मक मूर्तिहरू, टोपी, फेटा, पटुका, पन्जा, मुडाजस्ता सामग्रीको व्यापार प्रवर्द्धन गर्न सकिन्छ । यसले पर्यटनको विकासका साथमा हस्तकलाको पनि प्रवर्द्धन हुन्छ । यसले रोजगारी समेत सृजना गर्छ । त्यसैगरी मधेश प्रदेशमा ढक्की, माटाका आकर्षक भाँडाहरू, विभिन्न देवीदेवताका मूर्ति, मिथिला चित्रकला आदिले पनि बजार पाउन सक्छन् ।   साहसिक पर्यटन : आन्तरिक पर्यटकको प्रमुख रोजाइमा बञ्जी जम्पिङ परेको छ । नेपालमा यस्ता साहसिक गतिविधिहरू सञ्चालन गरेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । उत्तरी भेगबाट बग्ने तीव्र गतिका नदीमा र्‍याफ्टिङको सम्भावना ज्यादा रहेकाले यसमा थप लगानी र प्रचार आवश्यक छ । यसैगरी प्याराग्लाइडिङ, हिमाल आरोहणजस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ जसले हाम्रो देशको चौतर्फी विकासमा समेत सहयोग दिन्छ । सांस्कृतिक पर्यटन : नेपालमा १२५ जातजातिका मानिसहरूको आआफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्य मान्यता रहेका छन् । यी नै सांस्कृतिक विविधता अवलोकन गर्न पनि धेरै पर्यटक नेपालमा आउँछन् । यो हाम्रो विशेष पहिचान पनि भएकाले यसको संरक्षणमा समेत हामीले ध्यान दिन जरुरी हुन्छ । सम्पदा पर्यटन : नेपाल धार्मिक तथा ऐतिहासिक स्थलका लागि प्रसिद्ध रहेको छ । विश्व सम्पदा सूचिका सूचीकृत भएका दशओटा सम्पदा नेपालमै छन् । पशुपति क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, बौद्धनाथ महाचैत्य, लुम्बिनी, हनुमान ढोका दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर विश्व सम्पदामा परेका छन् । यिनै सम्पदाहरूका कारण पनि नेपाल अवलोकन भ्रमणका लागि पर्यटक आउने गरेका छन् । यसले पनि आर्थिक विकास तथा पर्यटन व्यवसायमा बल दिएको अवस्था छ । हावापानीमा विविधता : हाम्रो देश नेपाल हावापानीका हिसाबले पनि विविधतायुक्त रहेको छ । यहाँको दक्षिणी भागमा उष्ण, मध्यभागमा समशीतोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । सबै खाले हावापानी रुचाउने पर्यटकलाई नेपाल भ्रमण उच्च रोजाइको देश बनेको छ । यसले नेपालको सबै क्षेत्रमा पर्यटन व्यवसायको विकासको सम्भावनासमेत बराबर रहेको देखिन्छ । वन्यजन्तु अवलोकन पर्यटन : नेपाल हावापानी र भौगोलिक विविधताले गर्दा वनस्पति र वन्यजन्तुको विविधितामा पनि अग्र स्थानमा रहेको छ । देशको विभिन्न भागलाई निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ । विभिन्न लोपोन्मुख प्रजातिका जनावर तथा चराचुरुङ्गीहरू प्रशस्त मात्रामा पाइने भएकाले यहाँ अध्ययन र अवलोकन गर्न पर्यटकहरू आउने गरेका छन् । यस्ता पर्यटक खर्चालु समेत हुने भएकाले पर्यटनले बढी लाभ लिन सक्छ । नेपाल प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै आकर्षक देश हो । यहाँको हिमाली शृंखलाहरू, मनोरम पहाडी स्थलहरू, विभिन्न प्रकारका भू–सतह, गुफा, ताल, झर्ना तथा नदीहरूले विदेशी पर्यटकहरूको मन लोभ्याउने गरेको वास्तविकता हामीसामु छिपेको छैन । अझ हामीले अन्य धेरै स्थानको पहिचान गर्न सकेमा यस क्षेत्रको विकासमा थप बल मिल्ने निश्चित छ । पर्यटकले चाहेअनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा मनग्य लाभ पर्यटन व्यवसायबाट लिन सकिन्छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

हाटले हटायो तरकारी बजारको समस्या

रौतहट (अस) । तरकारी खेती गर्दै आएका चन्द्रनिगाहपुर–४ का किसान भवनाथ तिमल्सिनालाई अहिले बजारको समस्या छैन । साताको दुई दिन अर्थात् सोमवार र शुक्रवार चन्द्रनिगाहपुरमा हाटबजार लाग्ने गरेपछि उनले झेल्दै आएको बजारको समस्या हटेको हो । खेतमा उत्पादित तरकारी आफ्नो साधनमा राखेर उनले हाटबजारसम्म पुर्‍याउँछन् । उनले जस्तै चन्द्रपुर–४ कप्तान टोलमा अधिकांशले तरकारी खेती गरिरहेका छन् । अधिकांशको तरकारी हाटबजारमा नै खपत हुने गरेकाले बजारको खासै समस्या झेल्नु परेको छैन । ‘गाउँमा नै उत्पादित तरकारी भएकाले चन्द्रनिगाहपुर हाटबजारमा नै खपत हुन्छ’ उनले भने । घर नजिकैको खेतमा मौसमी वा बेमौसमी तरकारी खेती गरेर कप्तान टोलका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । तरकारी खेतीका लागि मलको समस्या पनि यहाँका किसानले भोग्नु परेको छैन । गाईभैंसी पाल्दै आएका यहाँका अधिकांश कृषकले प्राङ्गारिक मल (गोबर) को नै प्रयोग गरेर खेती गर्दै आएका छन् । गाउँघरमा नै उत्पादित तरकारीमा रासायनिक मल वा विषादीको प्रयोग नहुने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको चन्द्रनिगाहपुरका शिक्षक गोपाल दाहाल बताउँछन् । हाटबजारमा तरकारी लैजानेबित्तिकै उपभोक्ताले किन्ने गरेको उनको भनाइ छ । तरकारीको स्वाद नै फरक हुने र असर पनि नगर्ने भएपछि गाउँकै तरकारी उपभोक्ताको रोजाइमा पर्ने गरेको कप्तान टोलका कृषकहरू बताउँछन् । कप्तान टोलको मुख्य आयस्रोत नै तरकारी उत्पादन हो । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, जुत्ता–चप्पलदेखि शृंगारका सामग्रीसहित आवश्यक सम्पूर्ण सामान गाउँमै लाग्ने साप्ताहिक हाटबजारमा पाइन्छ । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भएसँगै चन्द्रपुर नगरपालिकाको ग्रामीण क्षेत्रमा पनि हाटबजार लाग्ने गरेको छ । अहिले चन्द्रपुर नगरपालिका अन्तर्गत गैंडाटार, जुडिबेला, पौराई, चेतनगर, डुमरिया, बालचनपुरमा पनि हाटबजार लाग्ने गरेको छ । कृषिजन्य उत्पादन विक्रीका लागि अब बजारको खोजी गर्दै बाहिर जानुपर्ने अवस्था नरहेको चन्द्रपुर नगरपालिकाका अधिकारीहरू बताउँछन् ।