हाटले हटायो तरकारी बजारको समस्या

रौतहट (अस) । तरकारी खेती गर्दै आएका चन्द्रनिगाहपुर–४ का किसान भवनाथ तिमल्सिनालाई अहिले बजारको समस्या छैन । साताको दुई दिन अर्थात् सोमवार र शुक्रवार चन्द्रनिगाहपुरमा हाटबजार लाग्ने गरेपछि उनले झेल्दै आएको बजारको समस्या हटेको हो । खेतमा उत्पादित तरकारी आफ्नो साधनमा राखेर उनले हाटबजारसम्म पुर्‍याउँछन् । उनले जस्तै चन्द्रपुर–४ कप्तान टोलमा अधिकांशले तरकारी खेती गरिरहेका छन् । अधिकांशको तरकारी हाटबजारमा नै खपत हुने गरेकाले बजारको खासै समस्या झेल्नु परेको छैन । ‘गाउँमा नै उत्पादित तरकारी भएकाले चन्द्रनिगाहपुर हाटबजारमा नै खपत हुन्छ’ उनले भने । घर नजिकैको खेतमा मौसमी वा बेमौसमी तरकारी खेती गरेर कप्तान टोलका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । तरकारी खेतीका लागि मलको समस्या पनि यहाँका किसानले भोग्नु परेको छैन । गाईभैंसी पाल्दै आएका यहाँका अधिकांश कृषकले प्राङ्गारिक मल (गोबर) को नै प्रयोग गरेर खेती गर्दै आएका छन् । गाउँघरमा नै उत्पादित तरकारीमा रासायनिक मल वा विषादीको प्रयोग नहुने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको चन्द्रनिगाहपुरका शिक्षक गोपाल दाहाल बताउँछन् । हाटबजारमा तरकारी लैजानेबित्तिकै उपभोक्ताले किन्ने गरेको उनको भनाइ छ । तरकारीको स्वाद नै फरक हुने र असर पनि नगर्ने भएपछि गाउँकै तरकारी उपभोक्ताको रोजाइमा पर्ने गरेको कप्तान टोलका कृषकहरू बताउँछन् । कप्तान टोलको मुख्य आयस्रोत नै तरकारी उत्पादन हो । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, जुत्ता–चप्पलदेखि शृंगारका सामग्रीसहित आवश्यक सम्पूर्ण सामान गाउँमै लाग्ने साप्ताहिक हाटबजारमा पाइन्छ । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भएसँगै चन्द्रपुर नगरपालिकाको ग्रामीण क्षेत्रमा पनि हाटबजार लाग्ने गरेको छ । अहिले चन्द्रपुर नगरपालिका अन्तर्गत गैंडाटार, जुडिबेला, पौराई, चेतनगर, डुमरिया, बालचनपुरमा पनि हाटबजार लाग्ने गरेको छ । कृषिजन्य उत्पादन विक्रीका लागि अब बजारको खोजी गर्दै बाहिर जानुपर्ने अवस्था नरहेको चन्द्रपुर नगरपालिकाका अधिकारीहरू बताउँछन् ।

सम्बन्धित सामग्री

कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै पर्वतका दिदिबहिनी

मंसिर १२, पर्वत । पर्वतको जलजला गाउँपालिका-९ बनौका दुई दिदिबहिनी कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दिदिबहिनी यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै ठूलो लगानीमा एकीकृत फार्म सञ्चालनमा ल्याएका हुन् ।  दुवै जनाका श्रीमान अहिले खाडी मुलुकमा पसिना बगाइरहेका छन् । महिलाहरुले गएको असोज महीनादेखि गाउँमै रहेको खाली जग्गामा बनौ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर प्रसस्त आम्दानी गर्न थालेका हुन् । उनीहरुले रू. २५ लाख रुपैयाँ लगानी गरेर कुखुरा फार्म, बंगुरपालन फार्म र तरकारी खेती गर्दै आएका छन् । यामकुमारीका श्रीमान मनबहादुर गर्बुजा र मनकुमारीका श्रीमान रुद्रबहादुर पुर्जा रोजगारीका लागि कतार गएका छन् ।  कृषि फार्मको क्षमता बढाएर श्रीमानलाई स्वदेश फर्काउने उनीहरुको योजना रहेको छ । अहिले कृषि फार्ममा १ हजार कुखुरा, झण्डै १ दर्जन बंगुर रहेका छन् भने तीन ओटा टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । बनौमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । टमाटर, काउली, बन्दा, खुर्सानी, काक्रो, घिरौला, लौका लगायतका तरकारीहरु उत्पादन गरेर विक्री गर्दै आएका छन् । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा यस्ता खालका अन्य फार्महरु छैनन् । एकमात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपजहरु गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले बताइन् । उनका अनुसार गत असोजदेखि शुरु गरिएको फार्मबाट अहिले कुखुरा, बंगुर र तरकारीबाट आम्दानी हुन थालिसकेको छ । दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाट समेत मासिक रुपमा सोचे अनुरुप आम्दानी हुने गरेको छ ।  श्रीमानहरु लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाएपनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरुले गाउँमै ऋण गरेर कृषि फार्म सञ्चालन गरेको अर्की सञ्चालक मनकुमारीले बताईन् ।  दुवैजना दिदीबहिनी फार्ममै बस्छन् । बिहान सबेरै उठ्ने एकजनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बंगुरलाई दानापानी दिने र तरकारी बारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर विक्री गर्ने दैनिकी बनेको छ ।  उनीहरुले फार्ममै कुटानी पिसानी मेशिन समेत राखेका छन् । अन्नवाली कुटानी पिसानी गर्न आउनेहरुले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले बताइन् । उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन उनले भनिन् ‘माग पु¥याउन धौ धौ भएको छ ।’ उनले यस वर्ष झण्डै रू. ५ लाख आम्दानी हुने अनुमान गरिएको बताईन् ।   ठूलो धनराशी लगानी गरेर फार्म शुरुवात गरेपनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरुको गुनासो रहेको छ । दर्ता गरेर कानूनी रुपमा सञ्चालन गरिएको भएपनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताइन् । वडा अध्यक्ष गौबहादुर पुर्जाले उनीहरुको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको बताए । खोर निर्माण, प्लाष्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उनले जानकारी दिए ।  सामान्य घरायसी काममा दिन बिताउँदै आएका यामकुमारी र मनकुमारी कृषि फार्मबाट प्रशस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । गर्न सके कुनै जागिर खानु पर्दो रहेनछ, यसैबाट पनि प्रसस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ उनीहरुले भन्छन् । उनीहरुले श्रीमानहरुलाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् । श्रीमानहरु फर्केपछि व्यावसायको आकार बढाएर फ्रेस हाउस समेत सञ्चालन गर्ने योजना रहेको छ ।  अब श्रीमानहरु लगायत कोही पनि युवा युवतीलाई विदेश नजान सल्लाह दिने उनीहरुले बताए । कृषि फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनिहरुको योजना रहेको छ । दिदीबहिनी मिलेर सञ्चालन गरेको यो फार्म जिल्लाकै नमूना रहेको वडा अध्यक्ष गौबहादुर पुर्जाले बताए ।