युक्रेन रुस युद्धको असर नेपालमा: पेट्रोलको निरन्तरतालाई नेपाल आयल निगमले खोज्यो तीन विकल्प

युक्रेन-रुस युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढिरहँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको अधिकारीहरूले बताएका छन्। रुसले युक्रेनमाथि अतिक्रमण गरेपश्चात् आपूर्तिमा अवरोध सिर्जना हुने त्रासले इन्धन बजार प्रभावित भएको हो।पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले नेपालमा पनि उपभोक्ताहरू मारमा परेका छन्। एशियाली बजारमा सोमवार तेलको मूल्य १३ वर्षयताकै उच्च बिन्दुमा अर्थात्‌ प्रतिब्यारल १३९ डलर पुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको भाउ प्रतिब्यारल ३०० डलरसम्म पुग्न सक्ने चेतावनी मस्कोले दिएको छ।नेपाल आयल निगमलाई कस्तो असर?तेलको भाउमा निरन्तर भइरहेको वृद्धिको प्रत्यक्ष असर आफूहरूलाई परेको नेपाल आयल निगमका अधिकारीहरू बताउँछन्। एशियाली बजारमा प्रतिब्यारल १३० डलरमा कारोबार भइरहँदा नेपालमा ९५ देखि १०० डलरको हिसाबअनुसार निगमले विक्री गरिरहेको निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार निगमले अहिले घाटा खाएरै डीजल, पेट्रोल र खाना पकाउने ग्यास विक्री गरिरहेको छ।'हामीलाई अहिले पेट्रोलमा १६ रुपैयाँ २८ पैसा डिजेलमा ११ रुपैयाँ ७८ पैसा र खाना पकाउने प्रतिग्यास सिलिन्डरमा ६६५ रुपैयाँ घाटा छ,' बीबीसीसँग उनले भने।फेब्रुअरीमा भारतीय आयल निगमलाई तिर्न अपुग एक अर्ब ८० करोड रुपैयाँ मूल्य स्थिरीकरण कोषबाट लिएको नेपाल आयल निगमले मार्च महिनाका लागि सवा चार अर्ब रुपैयाँ लिएको उनले बताए।निमित्त कार्यकारी निर्देशक भट्टराईका अनुसार अर्को पटक तिर्नका लागि कोषमा भएको रकम पनि अपर्याप्त हुने निश्चितप्रायः छ।आपूर्ति गरिराख्ने विकल्प के छन्?अहिलेकै अवस्था जारी रहे पेट्रोलियम पदार्थ आपूर्ति गर्न सम्भव नहुने निगमका अधिकारीहरूले बताएका छन्।यथास्थितिमा आपूर्तिलाई निरन्तरता दिनका लागि विभिन्न विकल्पबारे सोच्न थालिएको निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए।'मागे जति तेल दिइराख्ने अवस्थामा हामी रहिरहने हो भने कि त अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेअनुसार दिनुपर्‍यो कि तेल किन्नलाई कुनै स्रोतबाट पैसा आउनुपर्‍यो,' विकल्पबारे उनले भने।ऋण भए पनि सरकारले उपलब्ध गराउन सके मूल्यमा थोरैथोरै समायोजन गर्दै आपूर्ति सहज राख्न सकिने भट्टराईको बुझाइ छ।सङ्कट गहिरिँदै गए पेट्रोलियम पदार्थको खपत सीमित तुल्याउन सकिने तेस्रो विकल्प उनले देखेका छन्।'केही समयलाई अत्यावश्यक क्षेत्रलाई मात्र तेल उपलब्ध गराउनुपर्ने पनि हुनसक्छ केही समय नदिँदा पनि हुने क्षेत्रलाई रोक्न पनि सकिन्छ,' भट्टराईले भने।विकल्पबारे विज्ञको मत के छ?तर पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार अत्यावश्यक क्षेत्रलाई मात्र तेल उपलब्ध गराउने विकल्प प्रत्युत्पादक हुनसक्छ।'त्यसो गरियो भने अत्यावश्यक भनिएका क्षेत्रले आफू खर्च नगरेको पेट्रोलियम पदार्थको कालोबजारी गर्न सक्छ। तपाईँ हामीले नाकाबन्दीको समयलाई सम्झँदा हुन्छ,' बीबीसीसँग उनले भने।बरु अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यअनुसार समायोजन गर्नु उपयुक्त हुने उनको धारणा छ।'त्यसको अल्पकालीन मार चाहिँ आमनागरिकले बेहोर्नुपर्छ। तर सस्तोमा दिन माग गरिरह्यौँ भने त्यसको दीर्घकालीन असर पर्छ,' खनालले थपे।शिक्षा, स्वास्थ्य र अन्य विकास खर्चको रकम काटेर सरकारले पेट्रोलियम पदार्थ सस्तोमा उपलब्ध गराउँदा देशमा त्यसको दीर्घकालीन असर पर्ने उनी बताउँछन्।बिजुलीको उपभोग बढाएर पनि पेट्रोलियम पदार्थको खपत केही हदसम्म घटाउन सकिने पूर्वअर्थसचिव खनालको सुझाव छ।निगमसँग मौज्दातको अवस्था के छ?पछिल्लो समय मोतीहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत्‌ पेट्रोलियम पदार्थ आउन थालेपछि आयल निगमले अमलेखगन्ज डिपोबाटै देशभरिका डिपोमा पठाउने गरेको छ।त्यहाँबाट जनकपुर, विराटनगर, भैरहवा, पोखरा नेपालगन्ज काठमाण्डू लगायतका डिपोमा पुर्‍याउने गरिएको प्रवक्ता उपाध्याय बताउँछन्।'अहिले हाम्रो भण्डारण क्षमताको ८० प्रतिशत पेट्रोल र डीजल मौज्दात छ। यो भनेको पाँच दिनलाई पुग्ने पेट्रोल र आठ दिनलाई पुग्ने डिजेल हामीसँग छ,' उनले भने।उपाध्यायका अनुसार देशभरि करिब ६८ हजार किलोलिटर भण्डारण क्षमता छ। -बिबिसीबाट 

सम्बन्धित सामग्री

निगम मासिक डेढ अर्ब रुपैयाँ नाफामा, भाउ घटाउने सुरसार छैन

काठमाण्डाै - नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्।कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि भाउ बढेको थियो ।भाउ बढे पनि कम मूल्यमा बेच्नुपरेको भन्दै निगमले निरन्तर घाटाको हिसाबकिताब देखाइरहेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा झरेपछि  निगमको मासिक नाफा १ अर्ब ६० करोड ...

'इन्धनको मुल्य, नाफा-नोक्सान, राजश्व र राजनीति' : बैंकर मनोज ज्ञवालीको विचार

इन्धनको मुल्य बढ्छ, केहि चर्चा परिचर्चा  शुरु हुन्छ।  कहि कतै धर्ना र जुलुस प्रदर्शन हुन्छन, विज्ञप्ति निकालिन्छ। तथ्य र तथ्याङ्क बुझि नबुझि सामाजिक सञ्जाल वा लेख वा छलफल मार्फत हामी पनि आफ्नो धारणा राख्छौ नै। तेलको मुल्य घटबढ ले हरेक नागरिकलाई असर पर्छ यसैले चर्चा स्वभाविक हो नै। नेपालमा तेलको मुल्य संग सम्बन्धित केहि तथ्य र तथ्याङ्क निम्नानुसार छन:१. युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ। कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको छ। यो मुल्य बृद्दिसंगै बस्तु तथा सेवाको लागत मा बृद्दि हुनगई  मुद्रास्फिति मा बृद्दि भएको छ।२. रसिया र युक्रेन को युद्ध पछि बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने चेतावनी  रसीयाले दिए संगै यो मुल्य US$ १२० नाघेको थियो र हाल कच्चा तेल प्रति ब्यारल US$ ११० हाराहारी छ । अहिलेसम्मको सबैभन्दा उच्च मुल्य जुन ०२, २००८  मा प्रति ब्यारल US$ १४० सम्म पुगेको थियो।  आगामी दिनमा पेट्रोलियम पदार्थको मुल्य नसोचेको उचाईमा पुग्न सक्ने आशंका समेत  गरिएको थियो तर साउदी अरब लगायत तेल उत्पादक देशहरूले आपूर्ति कम हुन नदिने बताएपछि कच्चा तेलको मुल्य  बिस्तारै घटेको पनि छ। यसले आगामी दिनमा आइओसीबाट आउने मूल्यसूची  कम हुने पनि अनुमान गर्न सकिन्छ। अनुमान जे भएता पनि मे २०२० मा प्रति ब्यारल US$ २१.६० रहेको मुल्य २ बर्षमा ५ गुणा भन्दा बढिले बढेको छ। एक ब्यारल बराबर ११९. २५ लिटर हुन्छ।३.नेपाल भित्र  तेल र ईन्धन आयात र बिक्री गर्ने अधिकार नेपाल आयल निगम संग मात्रै छ र आयात पनि भारतीय आयल निगमसँग मात्रै गर्दछ र पाँच बर्षको लागी सम्झौता गरिसकेको छ।  अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्या घटबढ हुँदा भारतीय आयल निगमले हरेक अंग्रेजी महिनाको १ र १६ गते नेपालमा नयाँ मूल्य दर पठाउने गर्छ। यही मूल्यको आधारमा आयल निगमले मूल्य समायोजन गर्दछ।४.पेट्रोलियम पदार्थको स्वचालित मुल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ (तेस्रो संसोधन) अनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम महिनामा २ पटकसम्म समायोजन गर्न सक्ने अबस्था छ।५.इण्डियन आयल कर्पोरेसनसँग नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा चलेको मूल्यको आधार खरिद गर्नुपर्ने सम्झौता रहेको छ। भारतमा हाल पेट्रोल प्रतिलिटर  स्थान  हेरि भारु ९५.२ देखि भारु १०८.६ सम्म बिक्री हुन्छ भने डिजेल भारु ८९.७ देखि भारु ९६.२० सम्म बिक्री हुन्छ।६. सरकारले प्रतिलिटर पेट्रोलमा रु. ४२.७३, डिजेलमा रु.२६.१५ , मट्टीतेलमा रु. २.८८ , हवाई इन्धन आन्तरिकतर्फ रु. २१.५० , हवाई इन्धन अन्तराष्ट्रियतर्फ रु. ११ .१८  र एपी ग्यासमा प्रतिसिलिण्डर रु.२०३.२४ आयात कर भन्सार बिन्दुमै असुल गर्छ। नेपाल सरकारले यस बाहेक मुल्य अभिबृद्ध  कर (मट्टितेल वाहेकमा), पुर्वाधार विकास कर,  भन्सार सेवा शुल्क, सडक सम्भार शुल्क, वातावरण शुल्क लगाएतका कर तथा शुल्कहरु समेत लगाउछ। यसरी पेट्रोल मा रु ६३ प्रतिलिटर र डिजेलमा रु ४५ प्रतिलिटर हाराहारी कर तथा शुल्क सरकारले असुली गर्दछ भने ग्यासमा प्रतिसिलिण्डर रु ३०० को हाराहारी कर असुलिन्छ।७. ढुवानी भाडा तथा बीमा शुल्क पेट्रोलमा ५ रुपैयाँ भन्दा बढि र डिजेलमा ३.५ रुपैंया भन्दा बढि लाग्ने गर्छ। निगमको प्रशासचिक खर्चमा पेट्रोल तथा डिजेलमा एक रुपैया हाराहारी लाग्दछ।८.प्रज्वलनशील पदार्थ भएकोले प्राविधिक नोक्सानी पेट्रोलमा ८ पैसा र डिजेलमा ४६ पैसा बराबरको हुने गरेको छ। त्यस्तै डिलर कमिसनको लागि पेट्रोलमा ४ रुपैयाँ ४९ पैसा र डिजेलमा ३ रुपैयाँ ४३ पैसा हुने गरेको छ।९. पेट्रोल र डिजेलमा परल मूल्यमा कम्तीमा ५ प्रतिशत र बढीमा १५ प्रतिशत नाफा राखी सोको मूल्य निर्धारण समितिले गर्नेछ। यसैगरी ग्यासमा २ प्रतिशतसम्म नाफा राख्न सकिने व्यबस्था छ। पेट्रोलियम पदार्थको आधार मूल्यको दुई प्रतिशत सम्मको घटीबढी अन्तरसीमा रहने हुन्छ भने ग्यासको मूल्य अन्तरसीमा आधार मूल्यको प्लस माइनस रु २५ रहने हुन्छ। सोहीअनुसार नै निगमले खुद्रा मूल्य निर्धारण गरिने नीति रहेको छ। तर अहिले निगमले रु १९४.६४ प्रतिलिटर मुल्य लागतको पेट्रोल रु १८० प्रतिलिटर, रु १८९. ८२ प्रतिलिटर मूल्यको डिजेल रु १६३ प्रतिलिटर, रु .२,६८९ .७५ प्रतिसिलिण्डर मूल्यको ग्याँस लाई रु.१,८०० प्रतिसिलिण्डर मा बिक्री गरिराखेको छ। हवाई इन्धन र मट्टीतेल भने केहि नाफा मा बिक्री गरेको छ।१०. कोभिड को कारण तेलको मुल्य अन्तराष्ट्रिय बजारमा राम्रै संग घटेको थियो र २०७५ को असार मसान्तमा एक लिटर पेट्रोलको भाउ रु.११३ हुदा पनि  निगमसँग पेट्रोलियम बेचेर नाफा हुँदा रु. २५ अर्ब २२ करोड रुपैयाँ बचेको थियो । निगमको मौज्दात २१ अर्ब ५० करोड र मूल्य स्थिरीकरण कोष ३ अर्ब ७१ करोड रुपैयाँ थियो । अर्थात् निगमले कमाएको पैसा जोगाएरै राखेको थियो । यस्तो मौज्दान २०७६ को असारमा ३८ अर्ब ४३ करोड, २०७७ असारमा २९ अर्ब २९ करोड र २०७८ कात्तिकमा आइपुग्दा १६ अर्ब ७० करोड रुपैयाँ रहन पुग्यो  । कात्तिकमा निगमसँग जम्मा ६ अर्ब ६७ करोड रुपैयाँ मात्र थियो, त्यो पनि घट्दै गएर , मूल्य स्थिरीकरण कोषको रु  १० अर्ब समेत प्रयोग भइसकेको अबस्था छ भने हाल को अवस्थामा सबै प्रकारका इन्धनबाट हुने घाटाको समायोजन गर्दा नयां  मूल्यअनुसार  निगमलाई अब १५ दिनमा  रु ३ अर्ब ३६ करोड रूपैयाँ घाटा हुन्छ। हाल नेपाल आयल निगम ले भारतीय आयल निगम लाई तिर्नुपर्ने  बक्यौता रकम रु २२ अरब नाघिसकेको छ भने यसै आ.ब. मा निगमको नोक्सानी रु ४७  अर्ब नाघिसकेको छ।११. सरकारले राजस्वको दर परिवर्तन गरी कर बढी उठाउनुपर्‍यो भने पेट्रोलियमलाई पहिलो सूचीमा राख्ने गर्छ । आव ०७१/७२ सम्म पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ राजस्व थियो । तर, आव ०७२/७३ को बजेटबाट  बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा लगानी जुटाउन पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर थपीएको थियो। प्रतिलिटर ५ रुपैयाँका दरले करिब ५ वर्षसम्म कर उठाउँदा निगमले यो शीर्षकबाट करिब रु.४१ अर्ब  संकलन  भयो । त्यसपछि २०७३/७४ देखि लागू हुने गरी यो शीर्षकमा थप ५ रुपैयाँ जोडेर कुल १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टीतेलबाट कर उठाउन थालेको थियो । रु. १० प्रतिलिटर कायम भएपछि मासिक रु.२ अर्ब कर उठेकै हो । तर, बुढीगण्डकी आयोजना निर्माणमा उक्त रकम खर्च हुन नसकेपछि सरकारले १३ फागुन ०७६ देखि पूर्वाधार कर शीर्षकमा रकम उठाउन थालेको छ ।उल्लेख बृद्धि को भार कम गर्न केहि करहरु समायोजन गर्न सकिन्छ की भनेर सरकारले विचार गर्न सकिरहेको छैन।१२.हरेक सरकारले राजस्व वृद्धि गर्ने  उपाय पेट्रोलियमलाई देख्दै आएका छन् । कर  लगाइदियो, असुल भैहाल्छ- सजिलो पनि । भन्सारमा न्यून बिजकीकरण गरेर राजस्व चुहावट भएको तर्फ सबै संयन्त्र जानकार हुँदा पनी कसैलाई हेर्न मतलब नभए झै हुन्छ। सरकारले राजस्वको लक्ष्य लिन्छ  - तेल आयात बाट राम्रै उठिहाल्छ। हरेक सरकारलाई भ्यु टावर बनाउन, भोट बैंक का लागी गरिने बजेट बिनियोजन र बांडफांड गर्न, चुनाब जित्न वा वाहवाही पाउन  कनिका छरेजस्तो बजेट छर्नुपर्ने बाध्यता छदैछ। यसरी हुने खर्च मिलाउन लाई करको  दर र दायरा दुबै बढाउनु पर्छ नै -  करको संकलनको विकल्प पनि कम मात्रै छन। सरकारले आर्थिक वर्ष २०७७–७८ को बजेट वक्तव्यमार्फत पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले भन्सार दर बढाएको थियो । तत्कालीन समयमा कोभिड–१९ महामारीको पहिलो लहरका कारण विश्वभर इन्धनको प्रयोगमा कमी आई अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएको र नेपाली बजारमा पनि मूल्यमा कमी आएको अवस्था थियो यहि मौका छोपेर सरकारले कर बढायो तर समयान्तरमा मूल्य समायोजनसँगै तत्कालीन समयमा वृद्धि गरिएको यो  भन्सारको दर समायोजन गरिएन। यस आर्थिक बर्षको ९ महिनामा नेपालले २१८.३५ रुपैया को इन्धन आयात गरिसकेको छ र यो रकम कूल आयातको १५% हाराहारी हुन्छ र सोहि अनुसारको कर सरकारले असुल गरेको छ भने निगमले घाटा बेहोरेको छ।सरकारले कर उठाउने अनी नेपाल आयल निगमले लागत मुल्य समेत असुल नगरेर गाली खादै पेट्रोलियम पदार्थ घाटामा बिक्री गर्नुपर्ने अवस्थालाई पुनर्विचार गर्नुपर्छ नै। भारत सरकारले बढिरहेको ईन्धन मुल्यमा राहत दिन  पेट्रोलमा भारु ८ र डिजेलमा भारु ६ अन्त:शुल्क घटाएको छ। त्यसैगरी उज्ज्वल कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा एलपी ग्यासको जडान पाएका मानिसहरूले भारु २०० सहुलियत पाउने झोषणा गरेको छ तर हाम्रोमा यस्तो विषयमा छलफल सम्म हुदैन। सरकार जिम्मेवार हुनुपर्छ, राजश्व संकलन सरकारको खर्च भन्दा बढि भइरहेको बेला इन्धन को चर्को मुल्य बुद्धिबाट नागरिकलाई राहत  दिन सक्ने सम्भावनालाई हेर्नुपर्दछ अनी नागरिकहरु पनि एकोहोरो सरकार र संयन्त्र लाई सराप्दै बसेर हुदैन- बजार र मुल्य को जानकार हुनुपर्दछ। अन्तर्राष्ट्रिय स्तर मै मुल्य बढेर नेपाल आयल निगमले घाटा खादै बढाएको मुल्यमा समेत हामी उफ्रिन्छौ तर मुल्य घट्दा घटेको मुल्य मा पेट्रोलियम पदार्थ पाउनुपर्छ भनेर न आन्दोलन न प्रतिक्रिया। एकोहोरो यसरी घाटामा गएको निगमले भोली मागलाई पूर्ति गर्न आयात कसरी गर्छ ? एकोहोरो बढिरहेको ईन्धन को मुल्य यो मुल्य बुद्धिबाट नागरिकलाई हुने असहजतालाई सरकारले कसरी समाधान गर्दछ?  निगमले ईन्धन घाटामा बेचेर अनी बैकहरुबाट कर्जा लिएर कहिले सम्म इन्धनको आवश्यकता पूर्ति गर्दछ? सांच्चै सम्वेदनशील बिषय छ।सरकार, संयन्त्र र नागरिक सबैजना जानकार रहौं, जिम्मेवार बन्नुपर्दछ नै!! ज्ञवाली नबिल बैंकका महाप्रबन्धक हुन् ।