रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि त्यसको चौतर्फी विरोध भईरहेको छ । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरोध सुन्ने ‘मुड’मा देखिँदैनन् । उनले आणविक हतियार तयारी अवस्थामा राख्न निर्देशन नै दिएका छन् ।रुस–युक्रेन तनावको असर नेपाली व्यापारमा पनि देखिएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको दिन २४ फेब्रुअरी २०२२ मा सुनको भाउ ९९ हजार रुपैयाँ प्रतितोला पुगेर नेपालको अन्तराष्ट्रिय व्यापारमा यसले प्रभाव पर्ने संकेत दिईसकेको छ ।खाने तेलदेखि पेट्रोलसम्मको भाउ बढ्नेबहुमूल्य धातु सुनदेखि खाने तेल र पेट्रोलियम पदार्थको मूल्य बढ्ने अनुमान हुँदै आएको छ । नेपाल र युक्रेनबीच सिधा व्यापारिक सम्बन्ध भएका कारण युक्रेन र रुससँगको नेपालको व्यापारसँगै अन्य मुलुकसँगको वैदेशिक व्यापारमा पनि यो तनावले असर गर्ने जानकारहरु बताउँछन् ।युक्रेनले तेल र ग्यास युरोप निर्यात गर्ने पाइपलाइन ‘भासिल्किएभ आयल टर्मिनल’मा रुसी सेनाले आक्रमण गर्यो । युक्रेनको दोस्रो ठूलो शहर खार्किभको प्राकृतिक ग्याँस निर्यातको पाइपलाइन पनि रुसले ध्वस्त बनाईदियो ।भारतबाट पेट्रोलियम पदार्थ नेपाल आयात हुने गर्छ । उता, भारतीय समाचार संस्थाहरुले पेट्रोलियम पदार्थको भाउ बढ्न सक्ने जनाईसकेका छन् । किनभने, भारतले अन्य देशबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरेर तयारी पेट्रोलियम पदार्थ नेपालमा निर्यात गर्दै आएको छ ।रुस–युक्रेन युद्धले तत्कालै खाने तेल, पेट्रोलियम पदार्थ र सुनको आयातमा संकुचन आउने र मूल्यमा भारी वृद्धि हुने दाबी व्यवसायीको छ । किनकी, सुन र कच्चा तेलको मूल्यमा अन्तराष्ट्रिय बजारको प्रभाव पर्ने गर्दछ । खाने तेलको कच्चा पदार्थ युक्रेनबाट आयात हुँदै आएकोमा अहिले पानी जहाजबाट ढुवानी हुन छोडिसकेको छ । यसैगरी, यसपाली पटकपटक मूल्य बढाउनुपर्दा नेपाल आयल निगम आलोचित हुँदै आएको छ । अब फेरि मार्च १ मा भारतबाट नयाँ मूल्यसूची आउनेछ । त्यतिबेला पक्कै पनि मूल्य बढेर आउने र, निगम अहिले पनि घाटामा रहेकाले अब आउने नयाँ मूल्यसूची अनुसार मूल्य बढाउनैपर्ने बाध्यतामा निगम पुग्ने निगमकै अधिकारीहरु बताउँछन् ।अर्कोतर्फ, सुन, खाने तेल र पेट्रोलियम पदार्थको भाउ अन्तराष्ट्रिय बजारमै बढ्दा ती बस्तुको आयातमा थप रकम बाहिरिने भएकाले ब्यापार घाटा चुलिने र विदेशी मुद्राको सञ्चितिमा क्रमशः गिरावट आउने वैदेशिक व्यापारका जानकारहरुको चिन्ता छ ।सुनको भाउ आज सोमबार एकैपटक तोलामा १६ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ पुगेको छ । व्यवसायीका अनुसार सुनको भाउ इतिहासमै दोस्रो पटक प्रतितोला १ लाख रुपैयाँ नाघ्ने बाटोमा अघि बढिसकेको छ । यसअघि डेढ वर्ष पहिले सुनको भाउ तोलामा १ लाख नाघेको थियो ।कति छ रुस र युक्रेनसँग नेपालको व्यापार ?नेपालको व्यापार रुससँग भन्दा युक्रेनसँग बढी छ । चालु आर्थिक वर्षको ७ महिना (साउदेखि माघ मसान्तसम्म) मा नेपालले युक्रेनबाट १४ अर्ब ४२ करोडको वस्तु आयात गर्दा १५ लाख बराबरको बस्तु निर्यात गरेको छ ।भन्सार विभागका अनुसार नेपालमा युक्रेनबाट खाने तेल, टेलिफोन तथा मोबाइलका उपकरण, तयारी कपडा र दलहन बस्तुमा केराउ आयात हुने गरेको छ । यताबाट तयारी कार्पेट र चिया निर्यात हुन्छ । नेपालले सबैभन्दा बढी बस्तु आयात गर्ने मुलुकको आठौँ नम्बरमा युक्रेन छ ।चालु आर्थिक वर्षको ७ महिनामा रुसबाट भने नेपालमा ४ अर्ब ३१ करोडको सामान आयात भएको छ भने १५ करोडको बस्तु निर्यात भएको तथ्यांक छ । रुस भने नेपालले सबैभन्दा बढी बस्तु आयात गर्ने मुलुकको २०औँ नम्बरमा छ ।