काठमाडौं । बंगलादेशको विदेशी विनिमय सञ्चिति घटेको छ । बंगलादेशको केन्द्रीय बैंक ‘बंगलादेश बैंक’ (Bangladesh Bank) ले एशियन क्लियरिङ युनियन (एसीयू)लाई १ अर्ब १८ करोड डलर आयात महसुल क्लियर गरेपछि त्यहाँको फरेक्स सञ्चिति २९ अर्ब ७७ करोड डलरमा झरेको हो । गएको वर्षको मेमा त्यहाँको फरेक्स ( (Forex) सञ्चिति ४२ अर्ब २० करोड डलर थियो ।
अर्थात् एक वर्षको अवधिमा बंगलादेशको विदेशी मुद्रा झन्डै एक तिहाईले घटेको छ । हालैका महीनाहरुमा सुक्दै गइरहेको विदेशी मुद्रालाई टेवा दिन सरकार र केन्द्र बैंक दुवैले प्रभावकारी उपायहरू नचाल्दा सञ्चिति घट्ने क्रम जारी छ । आगामी हप्ताहरुमा सञ्चिति थप घट्ने आशंका छ । ब्याजदर र विनिमय दर केन्द्र बैंक आफैंले नियन्त्रण गर्ने कोशिश गरिरहेको छ ।
यस्तोमा बृहत आर्थिक अवस्था थप खराब हुन सक्ने चेतावनी विश्लेषकहरुले गरिरहेका छन् । बंगलादेशमा विदेशी विनिमयको ठूलो स्रोत विप्रेषण (Remittances ) हो । गएको वर्षको सोही अवधिको तुलनामा अप्रिलमा विप्रेषण १६ दशमलव २७ प्रतिशतले घटेको थियो । तर एक वर्ष अघिको तुलनामा चालू आवको पहिलो १० महीनामा भने विप्रेषण २ दशमलव ३६ प्रतिशतले बढेर १७ अर्ब ७१ करोड डलरमा पुगेको छ ।
अप्रिलमा निर्यात आम्दानी १६ दशमलव ५२ प्रतिशतले घटेर ३ अर्ब ९५ करोड डलरमा झरेको निर्यात प्रवर्द्धन विभागले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको थियो । चालू आवको पहिलो १० महीनामा भने निर्यात ५ दशमलव ३८ प्रतिशतले बढेको छ । आयात महसुल घटेको भएपनि यो विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई उल्ट्याउन भने पर्याप्त भएन । हालैका महीनाहरुमा हरेक पटक (Asian Clearing Union) एसीयूलाई भुक्तानी गर्दा सञ्चितिमा समस्या देखिएको छ ।
एसीयूको सदस्य देशले हरेक दुई दुई महीनामा भुक्तानी क्लियर गर्ने गरेका छन् । बंगलादेशको विदेशी विनिमय सञ्चिति सन् २०२१ को अगष्टमा कीर्तिमानी उच्च स्तरमा उक्लिएको थियो । गएका केही महीनाहरुमा चालू खाता र व्यापार घाटा दुवै उल्लेख्य रुपमा घटेको भएपनि वित्तीय खातामा कमी फराकिलो बन्दा फरेक्स सञ्चिति दबाबमा छ । एजेन्सी