पुस २१, काठमाडौं । अलग - अलग पाँच ओटा कम्पनीको शेयरमूल्य बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
नेप्सेले छ्याङ्दी हाइड्रोपावर, पोखरा फाइनान्स, मल्टिपर्पस फाइनान्स, कालिका लघुवित्त र जन उत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।
छ्याङदी हाइड्रोपावरले हकप्रद शेयर प्रयोजनका लागि र बाँकी चार कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तोकिदिएको हो ।
नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत, कालिका लघुवित्तको १३ प्रतिशत, मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत र पोखरा फाइनान्सको ८ दशमलव शून्य ७ प्रतिशत बोनस शेयर र छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मंगलवार कायम अन्तिम शेयरमूल्यको आधारमा मूल्य समायोजन गरेको हो ।
समायोजनपछि नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य रू. २ हजार ३८३ दशमलव २०, कालिका लघुवित्तको रू. १ हजार १६३ दशमलव ७२, मल्टीपर्पस फाइनान्सको रू. ४१६ दशमलव ८१, पोखरा फाइनान्सको रू.४४० दशमलव ४३ र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य रू. ३९६ दशमलव १५ तोकेको छ ।
मंगलवार जन उत्थान सामुदायिक लघुवित्तको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ९७९ , कालिका लघुवित्तको रू. १ हजार ३१५, मल्टीपर्पस फाइनन्सको रू.४७१ ,पोखरा फाइनान्सको रू. ४७६ र छ्याङ्दी हाइड्रोपावरको रू. ४८५ कायम भएको थियो ।
जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पुस ३० गते साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनफाबाट प्रस्तावित २५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशसमेत पारित गर्नेछ ।
त्यस्तै कालिका लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पुस ३० गते बाह्रौँ वार्षिक साधारण सभामार्फत पारित गर्दैछ ।
त्यसैगरी, पोखरा फाइनान्सले हाल कायम चुक्तापूँजीको ८ दशमलव ०७५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ० दशमलव ४३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ३० गते, २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
त्यस्तै, मल्टीपर्पस फाइनान्सले १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पुस ३० गतेनै २४औं वार्षिक साधारण सभामार्फत पारित गर्दैछ ।
छ्याङदी हाइड्रोपावरले भने हालसम्म ३० प्रतिशत हकप्रद शेयर निष्कासनको मिति तय नगरेपनि बुक क्लोजको मिति भने तय गरेको हो । पुस २० गतेसम्म कायम शेयरधनीहरु मात्र छ्याङ्दीको ३० प्रतिशत हकप्रद शेयर र अन्य चार कम्पनीहरुको लाभांश प्राप्त गर्न योग्य भएका छन् ।