सुनसरी (अस) । कोरोना संक्रमित बढ्दै गएपछि सुनसरीको इनरुवामा २० शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी थालिएको छ । संक्रमित बिरामीको उपचार स्थानीयस्तरमै उपलब्ध गराउन इनरुवा नगरपालिकाले कोभिड अस्पताल सञ्चालनको तयारी गरेको हो ।
केही दिनअघि इनरुवा–३ का एकै परिवारका आठजनामा कोरोना संक्रमण देखिएकोमा दुईजनाको मृत्यु भएको थियो । स्थानीयले आफ्नै शहरमा उपचार पाउन नसकेपछि नगरपालिका अस्पताल सञ्चालनमा ल्याउन लागिपरेको हो ।
स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रूपमा कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी अघि बढाएका छन् । स्वास्थ्य कार्यालय सुनसरीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले इनरुवा अस्पतालको आकस्मिक कक्षलाई कोभिड अस्पतालको रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
बैठकमा सहभागी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले स्थानीयस्तरमै उपचारको व्यवस्था मिलाउन कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए । मेहतासहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयको टोलीले कोभिड अस्पताल सञ्चालनका लागि इनरुवा अस्पतालको संरचना निरीक्षण समेत गरेको थियो ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार आवश्यक उपकरण र स्रोतसाधन जुटाएर तीन दिनभित्र कोभिड अस्पताल सञ्चालनमा ल्याइनेछ । सञ्चालनमा ल्याउन लागिएको शøयाको अस्पताल सुविधासम्पन्न रहने उनले बताए । अस्पतालको अन्य सेवा प्रभावित नहुनेगरी कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको उनको भनाइ छ ।