काठमाडौं । चितवनको कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।
उहाँका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ ।
यता, तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।
डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो ।
शुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिएपनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो ।
‘तनहुँमा पनि चरी बाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरी बाघ छ भन्ने थाहा थिएन’, उहाँले भन्नुभयो ।