ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो ।
पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्ट्याक निर्माण प्रालिसँग माघ पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले बताएको छ । योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ ।
दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको सबइन्जिनियर लिम्बूले बताए । पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्मको आठ किलोमिटर दूरीमा भने विगतमै कालोपत्र बनेको छ । पाथीभरा जाने सडक कालोपत्र भएपछि पाथीभरा आउने तीर्थयात्रीको संख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । काफ्लेका अनुसार अहिले वार्षिक रूपमा करीब तीन लाख तीर्थयात्री पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्लेपाटीसम्म सडक कालोपत्र भएमा तीर्थयात्रीको संख्या करिब ३५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । हाल कच्ची सडक भएकाले सुकेटारदेखि उता जुनसुकै सवारीसाधन नजाने हुँदा तीर्थयात्रीको यात्रा सकसपूर्ण रहँदै आएको छ । रासस