काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २४ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । यस वर्ष लाभांश वितरण नगर्ने कम्पनीले होटल टास्क इन्टरनेशनल प्रालिको सभाहल पोखरा, कास्कीमा विहान ९ बजे सभा बोलाएको हो । गत वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक शेयरधनीको तर्फबाट एक नजा महिला सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि फागुन १४ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।