आदर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओमा माग भन्दा ३२१ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन आज आइतबार साँझ सम्मको विवरण अनुसार कम्पनीको आईपिओमा १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकबाट २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा ३२१.६८ गुणा बढी हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथा बाट बाँडफाँड हुने छ । जसबाट ६ हजार २ सय ६१ जनाले मात्र शेयर पाउने छन् । ६ हजार २ सय ६१ जना मध्ये ५ जनाले ११ कित्ता शेयर पाउने छन् भने बाँकिले १० कित्ता शेयर पाउने छन्। यस हिसाबमा आवेदन दिएका मध्ये १७ लाख बढी आवेदन हात खाली हुने छन् । कम्पनीले असार १ गतेदेखि आज असार ५ गते सम्म ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको थियो, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो । शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ । नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।