ललितपुरको गोदावरी र काभ्रेपलाञ्चोकको फूलचोकीडाँडा लगायत भागलाई समेटेर सरकारले ‘गोदावरी–फूलचोकी वन संरक्षण क्षेत्र’ घोषणा गरेको छ । नयाँ वन ऐनअनुसार घोषणा गरिएको यो पहिलो वन संरक्षण क्षेत्र हो । वन ऐन ०७६ को दफा १५ उपदफा १ मा ‘प्रदेश मन्त्रालयको परामर्शमा केन्द्रको वन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी राष्ट्रिय वनको कुनै भाग तथा सम्बन्धित भू–परिधीय क्षेत्रलाई सीमांकन गरी विशेष कार्ययोजना बनाई वन संरक्षण क्षेत्रका रूपमा घोषणा गर्न सक्ने’ उल्लेख छ । सोही व्यवस्थाअनुसार घोषणा गरिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए ।