काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ घरपरिवारको खानेपानीको स्रोत कस्तो रहेछ भन्ने तथ्यांक पनि एक महत्त्वपूर्ण मापकको रूपमा देखापरेको छ । नेपालमा कुल घरपरिवारमध्ये ३४ दशमलव ५९ प्रतिशतले घरमै जोडेका धाराको पानी खाने गरेका छन् । २२ दशमलव ३८ प्रतिशत घरपरिवारले घर बाहिरका धाराको पानी खाने गरेका छन् । यसैगरी २९ दशमलव ७६ प्रतिशतले ह्याण्डपम्पको पानी खाने गरेको पाइन्छ । कुवाको पानी खानेको हिस्सा ३ दशमलव ६६ प्रतिशत छ । मूलको पानी खानेको संख्या ३ दशमलव ९३ प्रतिशत रहेको छ । नदी खोलाको पानी खानेको हिस्सा शून्य दशमलव ३६ प्रतिशत छ । जार र बोतलको पानी खाने घरपरिवारको संख्या ४.६३ प्रतिशत रहेको छ ।
नगरपालिका र गाउँपालिकामा घरभित्रै जोडिएको धाराको पानी खानेको हिस्सामा खासै फरक देखिएको छैन । नगरपालिकामा यसको यस्तो घर परिवारको हिस्सा ३६ दशमलव ८३ प्रतिशत देखिएको छ भने गाउँपालिकामा यो हिस्सा ३० दशमलव शून्य १ प्रतिशत रहेको छ । नगरपालिकामा घर बाहिर जोडिएको धाराको पानी खानेको हिस्सा १७ दशमलव ४२ प्रतिशत छ । तर यो हिस्सा गाउँपालिकामा भने ३२ दशमलव ५४ प्रतिशत रहेको छ ।
हिमालमा घरमै जोडिएको धाराको पानी खाने घरपरिवारकोे हिस्सा ३६ दशमलव शून्य ४ प्रतिशत रहेको छ भने यो हिस्सा तराईमा सबैभन्दा कम ( २६ दशमलव शून्य ४ प्रतिशत) रहेको छ । तराईमा खानेपानीको मुख्य स्रोत ह्याण्डपम्प (५८ दशमलव शून्य ९) प्रतिशत रहेको छ । कुनै समय कुवाको पानी मूल स्रोतको रूपपमा रहेको तराईमा सो स्थान ह्याण्डपम्पले लिएको छ । मूलको पानी खानेको संख्या हिमालमा सबैभन्दा बढी अर्थात् १० दशमलव ३७ प्रतिशत रहेको छ भने सबैभन्दा कम तराई प्रदेशमा १ दशमलव ३० प्रतिशत रहेको छ । प्रदेशगत रूपमा हेर्दा घरमै जोडिएको धाराको पानी खानेको हिस्सा गण्डकी प्रदेशमा सबैभन्दा बढी ५२ दशमलव ४९ प्रतिशत तथा मधेश प्रदेशमा सबैभन्दा कम १५ दशमलव ३२ प्रतिशत रहेको छ । उक्त तथ्यांंकले नेपालमा घरमै जोडिएको धाराको पानीको माग भविष्यमा बढ्ने र सो हुन नसकेमा जार र बोतलको पानीको माग बढ्ने स्पष्ट संकेत देखिएको छ ।