काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । पहिलो चरणका लागि छुट्याईएको सम्पूर्ण कित्ता शेयर बाँडफाँट भइसकेको अवस्थामा दोस्रो चरणको आईपीओ कम्पनीले विक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी रू. १२ करोड १८ लाख ६७ हजार ५०० को २० प्रतिशत आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणतर्फको १० प्रतिशत शेयरमध्ये पनि वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा भने १ लाख २१ हजार ८६८ कित्ता शेयर बाँडफाँट गरेको हो ।
प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. १ करोड २१ लाख ८६ हजार ८०० बराबरको १ लाख २१ हजार ८६८ कित्ता सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १२ हजार १८६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको हो । २ हजार ४३७ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी १ लाख १ जार १५१ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासन अवधि छिटोमा असार २९ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ९ गतेसम्म विक्री अवधि तय गरिएको छ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र विक्रीमा रहने निश्चित छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
यस कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत रू. २४ करोड ७५ लाख ५७ हजार ३३१ छ भने प्रतिमेगावाट लागत रू. २४ करोड ८० लाख ५३ हजार ४३७ छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला