साउनयता पुसमा उच्च लाभकर

काठमाडौं। गत पुसमा चालू आर्थिक वर्षकै सर्वाधिक पूूँजीगत लाभकर संकलन भएको छ । धितोपत्रको दोस्रो बजारको कारोबार राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार पुसमा ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार पुसमा व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनबाट १७ करोड २८ लाख ९९ हजार रुपैयाँ, अल्पकालीनबाट ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ र संस्थागत लगानीकर्ताबाट ४ करोड ६५ लाख ४१ हजार रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हो । पुसमा चालू आर्थिक वर्ष (आव) कै सर्वाधिक लाभकर संकलन भएको हो । मङ्सिरको तुलनामा पुसमा सरकारले झन्डै १४५ प्रतिशत धेरै लाभकर संकलन गरेको तथ्यांक सूचना अधिकारी न्यौपानेले उपलब्ध गराए । उनका अनुसार साउनमा ४० करोड ८ लाख, भदौमा १४ करोड ६९ लाख, असोजमा २१ करोड ९५ लाख, कात्तिकमा ८ करोड ४१ लाख र मङ्सिरमा ३० करोड ५३ लाख रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । दुई वर्षभन्दा धेरै समयपछि धितोपत्रको दोस्रो बजारमा केही उत्साह देखिएको छ । मङ्सिर २० गतेदेखि उकालो लागेको धितोपत्र बजारको तथ्यांकीय मापक नेप्से बुधवार २ हजार १६३ बिन्दुमा बन्द भएको छ । यस दिन नेप्से २ हजार २१५ बिन्दुसम्म उक्लेको थियो ।  बजार उकालो लागेसँगै कारोबार रकमले पनि रेकर्ड कायम गर्दै अघि बढेको छ । बुधवार २९ महीनायताकै सर्वाधिक रकमको कारोबार भएको छ । यो दिन ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँभन्दा बढीको ३ करोड ३५ लाख २५ हजारभन्दा बढी कित्ता धितोपत्र किनबेच भएको हो । ६० लाख ८८ हजारभन्दा बढी लगानीकर्ताको सम्पत्ति कारोबार हुने धितोपत्रको दोस्रो बजार कारोबारमा २० लाखभन्दा बढी लगानीकर्ता सहभागी छन् । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता खोल्नेको संख्या ६० लाख ८८ हजारभन्दा माथि पुगेको अवस्थामा त्यसको करीब ३३ प्रतिशतले दोस्रो बजार कारोबारका लागि अनिवार्य रहेको टीएमएस खाता खोलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । दुई महीनाअघि १८ लाख हाराहारीमा रहेको टिएमएस खाता अहिले २० लाखभन्दा माथि पुगेको नेप्सेको भनाइ छ । देशको अर्थतन्त्रको ऐना मानिने धितोपत्रको दोस्रो बजारमा सूचीकृत धितोपत्रको मूल्य बढेसँगै सरकारी आम्दानी पनि बढ्ने गरेको छ । सरकारले आफ्नो आम्दानीसँगै आम लगानीकर्ताको आम्दानी बढ्ने गतिमा बजारको विकास र विस्तारमा ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिँदै आएका छन् । गतवर्षको बजेटमै पूँजीगत लाभकर घटाउन माग गरेका लगानीकर्ताले आगामी बजेटमा उक्त माग सम्बोधन हुने अपेक्षा गरेका छन् ।  सरकारले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई व्यक्तिगत लगानीकर्ताको हकमा दुई प्रकारमा विभाजन गरी कर संकलन गर्छ । एक वर्षभन्दा बढी समय शेयर राखेर विक्री गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम समय राख्नेलाई अल्पकालीन लगानीकर्तामा विभाजन गरेर सरकारले दुईथरी करको दर तोकेको छ ।  सरकारले अल्पकालीन लगानीकर्ताबाट ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनबाट ५ प्रतिशत पूँजीगत लाभकर असुल्ने व्यवस्था गरेको छ । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । लगानीकर्ताले धितोपत्र कारोबारबाट नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । 

सम्बन्धित सामग्री

माघमा बजार घटे पनि पूँजीगत लाभकर करीब २३ करोड बढ्यो

काठमाडौं । माघ महीनामा धितोपत्र दोस्रो बजार पुस महीनाको तुलनामा घटे पनि सरकारको आम्दानी भने बढेको छ । सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट माघ महीनामा मात्र ९७ करोड २० लाख ३ हजार ७७३ रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको हो । पुस महीनामा सरकारले ७४ करोड ३९ लाख १३ हजार  २२९ रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको तथ्यांकलाई आधार मान्दा पुस महीनाको तुलनामा माघ महीनामा सरकारले २२ करोड ८० लाख ९० हजार ५४३ रुपैयाँ बढी पूँजीगत लाभकर संकलन गरेको हो । सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले पछिल्लो महीना धितोपत्र बजारबाट सरकारले संकलन गर्ने कर रकम बढ्दो क्रममा रहेको बताएका छन् । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा ४० करोड ८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको सरकारले त्यसपछिका महीना त्योेभन्दा कम पूँजीगत लाभकर संकलन गरेकोमा पुसदेखि साउन महीनायताकै बढी लाभकर संकलन भएको सूचना अधिकारी न्यौपाने बताउँछन् । मङ्सिरमा भने सरकारले ३० करोड ५३ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेका तथ्यांकसमेत न्यौपानेले उपलब्ध गराएका छन् । उनका अनुसार पुसको तुलनामा माघमा दीर्घकालीन लगानीकर्ताबाट संकलन हुने कर रकममा ९७ लाख ४२ हजार रुपैयाँले कमी आएको छ । पुसमा १७ करोड २८ लाख रुपैयाँभन्दा बढी दीर्घकालीन लगानीकर्ताबाट लाभकर संकलन भएकोमा माघमा १६ करोड ३१ लाख रुपैयाँभन्दा बढी मात्र भएको जानकारी न्यौपानेले दिएका छन् । माघमा अल्पकालीन लगानीकर्ताबाट सबैभन्दा बढी पूँजीगत लाभकर सकलन भएको न्यौपानेको भनाइ छ । पुसमा ५२ करोड ४४ लाख रुपैयाँभन्दा बढी अल्पकालीन लगानीकर्ताबाट लाभकर संकलन भएकोमा माघमा २१ करोड ६९ लाख रुपैैयाँभन्दा बढीले वृद्धि भई ७४ करोड १३ लाख ८७ हजार संकलन भएको न्यौपानेले बताएका छन् । उनका अनुसार माघमा संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । पुसमा संस्थागत लगानीकर्ताबाट ४ करोड ६५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएकोमा माघमा २ करोड ९ लाख रुपैयाँले बढेको छ । माघ महीनामा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट नाफा कमाएबापत संकलन गरेको करको तथ्यांकलाई हेर्दा बजार घटे पनि लगानीकर्ताले नाफामै धितोपत्र कारोबार गरेको देखिन्छ । पुस महीनाको अन्तिम कारोबार दिन २ हजार १२० दशमलव ६२ बिन्दुमा रहेको नेप्से परिसूचक माघ महीनाको अन्तिम कारोबार दिन २ हजार १०१ दशमलव १६ बिन्दुमा झरेको छ । सिगंटी हाइड्रो इनर्जीले फागुन २ देखि १ करोड ४५ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरिसकेको छ । पुस १९ सम्म कायम शेयरधनीले सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । सिंगटीको हकप्रद शेयर निष्कासन बन्द हुने मिति फागुन २२ गते रहेको छ ।  त्यस्तै रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्दै छ । माघ २१ सम्म कायम शेयरधनीले रिडीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर चैत ८ गतेसम्म विक्रीमा रहनेछ । अंकको हिसाबमा पुसको तुलनामा माघमा नेप्से परिसूचक १९ दशमलव ४६ अंक घटेको देखिन्छ । माघ महीनामा देखिएको नेप्सेको उतारचढावलाई हेर्दा दैनिक कारोबारमा न्यूनतम २ हजार ५३ बिन्दुसम्म झरेको र २ हजार १७८ बिन्दुसम्म पुगेको समेत देखिन्छ । अल्पकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन भएको तथ्यांकलाई आधार मान्दा भने छोटो समयमै नाफा बुक गरी लगानीकर्ता कारोबारमा सहमागी भएको अनुमान भने लगाउन सकिन्छ । अनुभवी लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले बजारको आकार बढ्दै जाँदा दीर्घकालीन लगानीकर्ता भने घट्दै गएको बताउँछन् । बजारको दिगो विकासका लागि दीर्घकालीन लगानी महत्त्वपूर्ण हुने भएकाले क्षणिक लाभलाई हेरेर कारोबार नगर्न सबैमा अनुरोध गरेका छन् । लाखौं नेपालीको लगानी रहेको बजारको दिगोपनका लागि दीर्घकालीन लगानीमा जोड दिन आग्रह गर्दै उनले अल्पकालीन कारोबारले दीर्घकालीन उपलब्धि प्राप्त नहुने बताएका छन् । धितोपत्र बजारका लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गरेको खण्डमा सरकारलाई १० प्रतिशतसम्म कर बुझाउनुपर्ने हुन्छ । सरकारले पूँजीगत लाभकर शीर्षकमा धितोपत्र बजारका संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव ५ प्रतिशतसम्म कर संकलन गर्ने गरेको छ । व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन हुँदै आएको छ । एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम शेयर कायम गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गर्दै सरकारले अल्कालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको हो ।

फेरि घट्यो घरजग्गाको कारोबार, वैशाखमा २ अर्ब रुपैयाँ पनि उठेन रजिष्ट्रेशन शुल्क

काठमाडौं । वैशाखमा फेरि घरजग्गा कारोबार ओरालो लागेको छ । विगत लामो समयदेखि सुस्ताएको कारोबारमा चैतमा भने केही सुधार देखिएको थियो । तर, वैशाखमा फेरि पुरानै अवस्थामा फर्किएको छ । २०७९ वैशाखमा २ अर्ब ५१ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएकोमा २०८० वैशाखमा १ अर्ब ९८ करोड रुपैयाँ मात्र रजिष्ट्रेशन शुल्क संकलन भएको छ । पछिल्लो ३ महीनाको तथ्याङ्क हेर्दा पनि गत महीना चैतमा रजिष्ट्रेशन शुल्कबापत २ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा १ अर्ब ९२ करोड र माघमा १ अर्ब ९६ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । कारोबार संख्यामा पनि गिरावट  वैशाखमा ४२ हजार ४६१ घरजग्गा किनबेच भएका छन् । अघिल्लो वर्ष वैशाखमा भने ४४ हजार ८०३ घरजग्गा किनबेच भएका थिए । पछिल्लो ३ महीनाको तथ्याङ्क हेर्दा चैतमा ४९ हजार १५०, फागुनमा ४० हजार ७३४ र माघमा ४१ हजार ८६ घरजग्गा किनबेच भएका थिए । पछिल्लो ४ महीनाको तथ्याङ्क हेर्दा चैतबाहेक अन्य कुनै पनि महीनामा गत उत्साहजनक घरजग्गा किनबेच हुन सकेनन् । चैतमा भएको कारोबार पनि गत वर्षको सोही अवधिको भन्दा निकै कम हो । २०७८ चैतमा ७० हजार घरजग्गा किनबेच भएका थिए । अहिलेसम्मकै सर्वाधिक मासिक घरजग्गा किनबेच भने गत वर्ष फागुनमा ७४ हजारसम्म भएका थिए । मंसिर र पुसमा समान ७०/७० हजार र  माघमा ६० हजार घरजग्गा किनबेच भएका थिए । त्यसपछि भने घरजग्गा कारोबार मन्दीमा गएपछि कारोबार निकै खस्किँदै गएको थियो । कुन कुन कार्यालयले गरे सर्वाधिक किनबेच ? यो वर्ष वैशाखमा सर्वाधिक घरजग्गा किनबेच गर्ने मालपोत कार्यालयले १ हजार ६५६ ओटासम्म घरजग्गा किनबेच गरेका छन् । मालपोत कार्यालय इनरुवा सुनसरी र बेलबारी मोरङले समान १ हजार ६०० भन्दा बढी घरजग्गा किनबेच गराएका हुन् । मालपोत कार्यालय  जनकपुर (धनुषा) १ हजार ५२१, नेपालगञ्ज (बाँके) १ हजार ५०२, दमक (झापा) १ हजार २००, भद्रपुर (झापा) १ हजार १००, राजविराज (सप्तरी) १ हजार ११०,जलेश्वर (महोत्तरी) १ हजार २४, कलैया (बारा) १ हजार १८, पर्सा १ हजार ४५, कपिलवस्तु १ हजार १०५ र धनगढी (कैलाली) १ हजार १०१ कारोबार भएका छन् । काठमाडौंमा भने कुनै पनि कार्यालयले हजारभन्दा धेरै घरजग्गा किनबेच गराउन सकेनन् ।  सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने लगनखेल मालपोतबाट ८८१ र भक्तपुरबाट ८६६ घरजग्गा किनबेच भएका छन् । यस्तै, कलंकीबाट ५८० र चाबहिलबाट ३९४ र शाँखुबाट ३८३ घरजग्गा किनबेच भए ।  यी कार्यालहरूमध्ये सबैभन्दा धेरै रजिष्ट्रेशन शुल्क पनि लगनखेल मालपोत कार्यालयबाटै संकलन भएको छ । लगनखेलबाट १६ करोड १४ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क आउँदा चाबहिल मालपोतबाट करीब १४ करोड, कलंकीबाट १२ करोड ५८ लाख, डिल्लीबजारबाट १२ करोड ४३ लाख र भक्तपुरबाट १० करोड २५ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ । काठमाडौंपछि पोखरा र चितवनबाट ७/७ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन हुँदा इटहरी र धनगढीबाट ५/५ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ । अन्य कार्यालयबाट त्यो बराबर रजिष्ट्रेशन शुल्क आउन सकेन । घरजग्गा कारोबारमा संकुचन आउँदा सरकारले पाउने राजस्वमा निकै ठूलो कमी देखिएको छ । वैशाखमा सबैखाले राजस्व गरेर ३ अर्ब ६८ करोड रुपैयाँ मात्र संकलन भएको छ । योमध्ये १ अर्ब ७ करोड रुपैयाँ पुँजीगत लाभकर छ । विगतमा भने सबै शीर्षकको राजस्व गरेर मासिक ८ देखि १० करोड रुपैयाँसम्म संकलन हुँदै आएको थियो ।

माघमा धितोपत्र बजारबाट सरकारको आम्दानी करीब ३५ करोड

काठमाडौं । एक महीनामा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट रू. ३४ करोड ६४ लाख ५ हजारभन्दा बढी कर संकलन गरेको छ । सरकारले माघमा मात्र धितोपत्र बजारका लगानीकर्ताबाट उक्त रकम बराबर कर संकलन गरेको हो । धितोपत्र बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गरेबापत सरकारलाई १० प्रतिशतसम्म पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले ५ देखि ७ दशमलव ५० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।  व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा बढी समय राखेर धितोपत्र विक्री गरेको खण्डमा ५ प्रतिशत र एक वर्षभन्दा कम समय राखेर विक्री गरेको खण्डमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । दीर्घकालीन लगानीकर्तालाई धितोपत्र कारोबारमा प्रोत्साहन गर्ने उद्देश्यसहित पूँजीगत लाभकरमा लागू गरिएको यो व्यवस्थाले प्रभावकारी भूमिका भने खेलेको देखिँदैन । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले पछिल्लो समय अल्कालीन लगानीकर्ता कारोबारमा बढी सहभागी भएको जानकारी दिएका छन् । पूँजीगत लाभकरसमेत अल्कालीन लगानीकर्ताबाटै बढी संकलन भएको न्यौपानेको भनाइ छ । न्यौपानेले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महीनामा मात्र अल्पकालीन लगानीकर्ताबाट रू. २४ करोड ६५ लाख ३१ हजार पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीकर्ताबाट भने रू. ९ करोड ९८ लाख ७४ हजार कर संकलन भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।  पुसको तुलनामा माघमा सरकारले रू. ९ लाख ५६ हजारभन्दा कम पूँजीगत लाभकर संकलन गरेको छ । पुसमा अल्पकालीन लगानीकर्ताबाट रू. २४ करोड ६८ लाखभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट रू. १० करोड ४ लाखभन्दा बढी गरी कुल रू. ३४ करोड ७३ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । पुस महीनामा १ हजार ८८२ दशमलव ६० विन्दुदेखि बजार उकालो लागेर २ हजार १४९ दशमलव ३९ विन्दुमा पुगेको थियो । माघको कारोबारमा भने बजार २ हजार १२१ दशमलव ८६ विन्दुमा झरेको छ । पुस मसान्तसम्मको तुलनामा माघ महीनामा लगानीकर्ताको सम्पत्ति मूल्य रू. ४१ अर्ब १९ करोड ४९ लाखले घटेको छ । लगानीकर्ताले पुस महीनामा बढेको बजारबाट आफ्नो लगानीमा भएको नाफा माघ महीनामा बुक गरेको देखिन्छ । माघमा धितोपत्र दोस्रो बजारमा रू. ५३ अर्ब ४६ करोड ९० लाख बराबरको १४ करोड ८१ लाख ३४ हजार ६९२ कित्ता धितोपत्र खरीदविक्री भएको छ । पुसमा भने रू. ५८ अर्ब ८७ करोड ३५ लाखभन्दा बढीको १६ करोड ८४ हजार ८२५ कित्ता धितोपत्र खरीदविक्री भएको थियो । पुसको तुलनामा माघमा रू. ५ अर्ब ४० करोड ४४ लाखभन्दा कमको धितोपत्र खरीदविक्री भएको हो ।  महीना  कुल पूँजीगत लाभकर संकलन रू.   अल्पकालीन लगानीकर्ताबाट संकलन रू.  दीर्घकालीन लगानीकर्ताबाट संकलन रू.  माघ ३४६४०५८४१ २४६५३११७३ ९९८७४६६८ पुस ३४७३६२१८८ २४६८६७६६२ १००४९४५२६ फरक –९५६३४७ –३३६४८९ –६१९८५८ स्रोत : सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)