काठमाडौं । वैशाखमा फेरि घरजग्गा कारोबार ओरालो लागेको छ । विगत लामो समयदेखि सुस्ताएको कारोबारमा चैतमा भने केही सुधार देखिएको थियो । तर, वैशाखमा फेरि पुरानै अवस्थामा फर्किएको छ ।
२०७९ वैशाखमा २ अर्ब ५१ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएकोमा २०८० वैशाखमा १ अर्ब ९८ करोड रुपैयाँ मात्र रजिष्ट्रेशन शुल्क संकलन भएको छ । पछिल्लो ३ महीनाको तथ्याङ्क हेर्दा पनि गत महीना चैतमा रजिष्ट्रेशन शुल्कबापत २ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा १ अर्ब ९२ करोड र माघमा १ अर्ब ९६ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो ।
कारोबार संख्यामा पनि गिरावट
वैशाखमा ४२ हजार ४६१ घरजग्गा किनबेच भएका छन् । अघिल्लो वर्ष वैशाखमा भने ४४ हजार ८०३ घरजग्गा किनबेच भएका थिए । पछिल्लो ३ महीनाको तथ्याङ्क हेर्दा चैतमा ४९ हजार १५०, फागुनमा ४० हजार ७३४ र माघमा ४१ हजार ८६ घरजग्गा किनबेच भएका थिए ।
पछिल्लो ४ महीनाको तथ्याङ्क हेर्दा चैतबाहेक अन्य कुनै पनि महीनामा गत उत्साहजनक घरजग्गा किनबेच हुन सकेनन् ।
चैतमा भएको कारोबार पनि गत वर्षको सोही अवधिको भन्दा निकै कम हो । २०७८ चैतमा ७० हजार घरजग्गा किनबेच भएका थिए ।
अहिलेसम्मकै सर्वाधिक मासिक घरजग्गा किनबेच भने गत वर्ष फागुनमा ७४ हजारसम्म भएका थिए । मंसिर र पुसमा समान ७०/७० हजार र माघमा ६० हजार घरजग्गा किनबेच भएका थिए । त्यसपछि भने घरजग्गा कारोबार मन्दीमा गएपछि कारोबार निकै खस्किँदै गएको थियो ।
कुन कुन कार्यालयले गरे सर्वाधिक किनबेच ?
यो वर्ष वैशाखमा सर्वाधिक घरजग्गा किनबेच गर्ने मालपोत कार्यालयले १ हजार ६५६ ओटासम्म घरजग्गा किनबेच गरेका छन् । मालपोत कार्यालय इनरुवा सुनसरी र बेलबारी मोरङले समान १ हजार ६०० भन्दा बढी घरजग्गा किनबेच गराएका हुन् ।
मालपोत कार्यालय जनकपुर (धनुषा) १ हजार ५२१, नेपालगञ्ज (बाँके) १ हजार ५०२, दमक (झापा) १ हजार २००, भद्रपुर (झापा) १ हजार १००, राजविराज (सप्तरी) १ हजार ११०,जलेश्वर (महोत्तरी) १ हजार २४, कलैया (बारा) १ हजार १८, पर्सा १ हजार ४५, कपिलवस्तु १ हजार १०५ र धनगढी (कैलाली) १ हजार १०१ कारोबार भएका छन् ।
काठमाडौंमा भने कुनै पनि कार्यालयले हजारभन्दा धेरै घरजग्गा किनबेच गराउन सकेनन् ।
सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने लगनखेल मालपोतबाट ८८१ र भक्तपुरबाट ८६६ घरजग्गा किनबेच भएका छन् । यस्तै, कलंकीबाट ५८० र चाबहिलबाट ३९४ र शाँखुबाट ३८३ घरजग्गा किनबेच भए ।
यी कार्यालहरूमध्ये सबैभन्दा धेरै रजिष्ट्रेशन शुल्क पनि लगनखेल मालपोत कार्यालयबाटै संकलन भएको छ । लगनखेलबाट १६ करोड १४ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क आउँदा चाबहिल मालपोतबाट करीब १४ करोड, कलंकीबाट १२ करोड ५८ लाख, डिल्लीबजारबाट १२ करोड ४३ लाख र भक्तपुरबाट १० करोड २५ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ ।
काठमाडौंपछि पोखरा र चितवनबाट ७/७ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन हुँदा इटहरी र धनगढीबाट ५/५ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको छ । अन्य कार्यालयबाट त्यो बराबर रजिष्ट्रेशन शुल्क आउन सकेन ।
घरजग्गा कारोबारमा संकुचन आउँदा सरकारले पाउने राजस्वमा निकै ठूलो कमी देखिएको छ । वैशाखमा सबैखाले राजस्व गरेर ३ अर्ब ६८ करोड रुपैयाँ मात्र संकलन भएको छ । योमध्ये १ अर्ब ७ करोड रुपैयाँ पुँजीगत लाभकर छ ।
विगतमा भने सबै शीर्षकको राजस्व गरेर मासिक ८ देखि १० करोड रुपैयाँसम्म संकलन हुँदै आएको थियो ।