पहिलो हाफमा नेपाल हङकङ बराबर

एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत दोस्रो खेलको पहिलो हाफ बराबरीमा समाप्त भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलको पहिलो हाफ गोल रहित बराबरीको अवस्थामा समाप्त भएको हो । दुबै टोलीले केही राम्रा अवसर बनाए पनि गोल भने गर्न सकेनन् । 

सम्बन्धित सामग्री

अस्ट्रेलियाको घरजग्गामा नेपालीको आकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयसमयमा सार्वजनिक सूचनामार्फत विदेशमा लगानी नगर्न सचेत गराए पनि अस्ट्रेलियाको घरजग्गा व्यवसायमा लगानी गर्न नेपालीहरू आकर्षित भएको पाइएको छ । अस्ट्रेलियाको सरकारी कार्यालयले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार नेपालीहरूले १ वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी घरजग्गामा लगानी गरेको पाइएको हो । अस्ट्रेलियाको ट्रेजरी डिपार्टमेन्टले सार्वजनिक गरेको वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनमा सन् २०२२–२३ मा नेपालीले १२६ ओटा लगानी प्रस्तावमार्फत अस्ट्रेलियाको घरजग्गा व्यवसायमा १० करोड अमेरिकी डलर लगानी गरेका छन् । बुधवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार त्यो १३ अर्ब ३४ करोेड रुपैयाँ बराबर हुन्छ ।  सन् २०२१–२२ मा पनि नेपालीले १४० लगानी प्रस्तावबाट १० करोड डलर नै लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षको पछिल्लो त्रैमासमा भने नेपालीले ५८ ओटा लगानी प्रस्ताव पेश गरेका छन् । अघिल्लो त्रैमासमा ६८ ओटा लगानी प्रस्ताव परेको थियो । प्रतिवेदनमा अस्ट्रेलियाले आफ्नो रियल स्टेट व्यवसायमा लगानी गर्ने मुख्य १० देशको नाम उल्लेख गरेकोमा नेपाल ८औं स्थानमा छ । संख्यात्मक रूपमा चीन, हङकङ, भियतनाम, ताइवान, भारत र सिंगापुरपछि नेपालको बढी लगानी छ । नेपाल पछाडि इन्डोनेशिया, बेलायत र मलेशिया छन् । लगानी रकमका आधारमा भने नेपालको स्थान तल छ । रकमका आधारमा नेपालको भन्दा बढी लगानी बेलायत र मलेशियाका लगानीकर्ताको रहेको प्रतिवेदनमा उल्लेख छ ।   एक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी लगानी  परिवारसहित पलायन हुनेले यताको सम्पत्ति बेचेर उता किनेको अनुमान अस्ट्रेलियाको घरजग्गा एजेन्ट कम्पनी ल्यान्ड एन्ड लिजमा सेल्स म्यानेजर रही काम गरेका ज्योतीन्द्र कडरियाका अनुसार अस्ट्रेलियामा घरजग्गाको लगानी सुरक्षित र प्रतिफल पनि राम्रो आउने भएकाले नेपालीको लगानी बढीरहेको छ । ‘अस्ट्रेलियामा घरजग्गा व्यवसाय उच्च नियमनमा रहेको र प्रतिफल सुनिश्चित रहेकाले लगानी गर्न सुरक्षित मानिन्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘नेपालीको कमाइ पनि राम्रो रहेकाले यस क्षेत्रमा लगानी गरिरहेका छन् ।’ घरजग्गा किन्दा मात्र सेटल भइने सोचाइका कारण पनि नेपालीले यसतर्फ लगानी गर्न जोड दिएका हुन् ।  उच्च शिक्षा अध्ययन, रोजगारी र विदेश बसाइका लागि अस्ट्रेलिया नेपालीको आकर्षक गन्तव्य बनिरहेको छ । विभिन्न पेशा व्यवसायमा स्थापित हुने नेपालीको संख्या बढ्दै गएको र रियल इस्टेट एजेन्ट, लेखापढी, ऋण ब्रोकर जस्ता व्यवसायमा पनि नेपाली उलेख्य रहेको कडरियाले बताए । यसले गर्दा नेपालीलाई यस क्षेत्रमा लगानी गर्न सजिलो भएको छ । अस्ट्रेलियन सरकारको गृह मन्त्रालयका अनुसार २०२१ जुनसम्ममा १ लाख २९ हजार ८७० नेपालीले स्थायी बसोवास अनुमति पाएका छन् । सन् २०११ मा यो संख्या २७ हजार मात्र थियो ।  सरकारले विदेशमा बस्ने नेपालीले बस्दाको अवधिसम्म आफ्नो आर्जनबाट विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरे पनि नेपालबाट लगानी लैजान पाउँदैनन् । विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ ले स्वदेशमै बस्ने नेपाली नागरिकलाई विदेशमा लगानी गर्न निषेध गरेको छ । सोही प्रावधानअनुसार राष्ट्र बैंकले समयसमय सूचना जारी गरी विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरीद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायत पूँजीगत प्रकृतिका कारोबार नगर्न सचेतसमेत गराउँदै आएको छ । तर, अस्ट्रेलियामा घरजग्गा व्यवसायमा भएको ठूलो लगानीले नेपालबाट समेत अवैध बाटोबाट पूँजी पलायन भएको आशंका गरिएको छ । परिवारसहित नेपालबाट पलायन भएका नेपालीले यहाँको सम्पत्ति बेचेर अस्ट्रेलियामा घरजग्गा किन्ने गरेको त्यहाँ अध्ययनरत एक विद्यार्थीले बताए ।

ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

काठमाडौं। ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीलाई विश्वविद्यालयको ८ लाख ४० हजार रूपैयाँसम्मको ट्युशन शुल्कमा टेवा दिनेछ । यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो । प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । यो वर्षका लागि नेपालका विजेताहरूमा रिजु अधिकारीले प्रथम पुरस्कार ८ लाख ४० हजार रुपैयाँ, उज्ज्वल भेटुवालले द्वितीय पुरस्कार ३ लाख ३६ हजार रुपैयाँ र रिशिका शाहले तृतीय पुरस्कार १ लाख ६८ हजार रुपैयाँ बराबर रकम पाएका छन् । यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीमध्ये केही भाग्यशाली विजेताले आईईएलटीएस उपहार पाएको बताइएको छ । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिश काउन्सिलको सामाजिक सञ्जालमार्फत गर्ने गरिन्छ । ‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्तत: नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं,’ ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन् ।

सुनका गरगहनाको निर्यात शतप्रतिशत बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/ ७८ देखि हुन थालेको सुनका गरगहनाको निर्यात चालू आवमा शतप्रतिशतभन्दा बढीले बढेको छ । पोहोरको तुलनामा यो वर्ष परिमाणको आधारमा सुनका गरगहनाको निर्यात १०२ प्रतिशतले बढेको हो । भन्सार विभागबाट प्राप्त चालू आवको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवको चैत मसान्तसम्म २३ केजी बराबर सुनका गरगहना निर्यात भएको थियो । चालू आवको चैत मसान्तसम्म ४६ केजी ४०८ ग्राम बराबर सुनका गरगहना विभिन्न मुलुकमा निर्यात भएको छ ।  रकमका आधारमा भने ५५ प्रतिशतले यसको निर्यात बढेको छ । गत आवको उक्त अवधिमा २५ करोड ९५ लाख रुपैयाँको सुनका गरगहना निर्यात भएको थियो । यसपालि ४० करोड १५ लाख रुपैयाँको निर्यात भएको तथ्यांकमा उल्लेख छ ।  गत आव र चालू आवमा सुनको मूल्य फरक भएकाले रकम र परिमाणका आधारमा निर्यात वृद्धिदर फरकफरक देखिएको हो ।  विशेषगरी नेपालबाट गत आवदेखि सुनका गरगहना निर्यात हुन थालेको हो । भन्सार विभागले यसका लागि एचएस कोड उपलब्ध गराएपछि गत आवदेखि सुनका गरगहना निर्यात हुन थालेको हो । सुनका गरगहना निर्यात पछिल्लो समय बढ्दै गएको व्यवसायी बताउँछन् ।  तथ्यांकअनुसार नेपालबाट अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात भएको छ । तीन मुलुकमध्ये अमेरिकामा सबैभन्दा बढी निर्यात भएको छ । चालू आवमा त्यहाँ ३३ करोड ९ लाख रुपैयाँको सुनका गरगहना निर्यात भएको छ । यस्तै अस्ट्रेलियामा १ करोड ८८ लाख र हङकङमा ५ करोड १८ लाख रुपैयाँको गरगहना निर्यात भएको छ ।  यसअघि नेपालबाट आव २०७२/ ७३ मा चीनमा १५ लाख १६ हजार बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि अघिल्लो आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । यद्यपि, नगन्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायी बताउँछन् । तर, गत आवको शुरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको व्यवसायी बताउँछन् ।  पछिल्लो समय अमेरिका, हङकङ तथा अस्ट्रेलियाजस्ता मुुलुकमा नेपालीको बसोवास बढ्दै गएको छ । उनीहरूबाट नै सुनका गरगहना माग हुने गरेको छ । उनीहरूबाट नेपाली परम्परागत शैली र नेपाली डिजाइनका गरगहना माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अधिकारी बताउँछन् । उनीहरूले विदेशमा नबन्ने गरगहना माग गर्ने गरेका छन् । विदेशमा नबन्ने तिलहरी, चुराजस्ता नेपाली मौलिक गरगहना यहाँबाट निर्यात हुने गरेको छ । कतिपय व्यवसायीले विदेशमा रहेका व्यवसायीसँग सम्पर्क गरेर पनि नेपालका मौलिक गरगहना निर्यात गर्दै आएका छन् ।  पछिल्लो समय नेपालको व्यापारघाटा बढ्दो क्रममा छ । त्यो अवस्थामा आयात घटाउँदै जानुका साथै निर्यात बढाउनुपर्ने बाध्यता पनि छ । यो अवस्थामा सुनका गरगहनाको निर्यात बढ्दै जानुलाई सकारात्मक रूपमा लिइएको छ । यसलाई थप प्रवर्द्धन गर्न सके व्यापारघाटा न्यूनीकरण गर्न समेत सहयोग पुग्ने व्यवसायी बताउँछन् ।