ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ विजेताको घोषणा

काठमाडौं। ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीलाई विश्वविद्यालयको ८ लाख ४० हजार रूपैयाँसम्मको ट्युशन शुल्कमा टेवा दिनेछ । यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो । प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । यो वर्षका लागि नेपालका विजेताहरूमा रिजु अधिकारीले प्रथम पुरस्कार ८ लाख ४० हजार रुपैयाँ, उज्ज्वल भेटुवालले द्वितीय पुरस्कार ३ लाख ३६ हजार रुपैयाँ र रिशिका शाहले तृतीय पुरस्कार १ लाख ६८ हजार रुपैयाँ बराबर रकम पाएका छन् । यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीमध्ये केही भाग्यशाली विजेताले आईईएलटीएस उपहार पाएको बताइएको छ । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिश काउन्सिलको सामाजिक सञ्जालमार्फत गर्ने गरिन्छ । ‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्तत: नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं,’ ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन् ।