जेठ १०, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन र कोभिड संक्रमितका उपचारमा विशेष ध्यान दिन यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।
उपकुलपति कार्यालय अगाडि सोमवार एक घण्टा धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना संक्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन् ।
यसरी ध्यानकर्षण गराउने पार्टीमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, संघीय राज्य परिषद, जनमुक्ति पार्टी लगायत रहेका छन् ।
कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले संक्रमितको उपचारमा प्रतिष्ठानले ध्यान नदिएको आरोप लगाउँदै उपकुलपतिले अस्पताल व्यवस्थापन गर्न नसकेको बताए ।
प्रतिष्ठानमा प्रतिमिनेट १ हजार ६०० लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको छैन । प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनको अवधिमा १८ जना कोरोनाका बिरामीको मृत्यु भएको थियो । रासस