जाडोयाममा देउखुरीको राप्ती नदी क्षेत्रमा देखा पर्ने लोभीपापी गरुड यस वर्ष भने देखा परेको छैन । विश्वमै दुर्लभ ठानिएको गरुड प्रत्येक जाडोयाममा राप्ती नदी क्षेत्रमा देखा पर्दै आएको थियो ।
लोभीपापी गरुड नेपाल, भारत, इन्डोनेसियाको रैथाने चरा हो । पाँच वर्षदेखि यस क्षेत्रमा जलपक्षी गणना गर्दै आउनुभएका चिरञ्जीवी खनालका अनुसार यो वर्ष जलपन्छी गणनाका क्रममा लोभीपापी गरुड देखिएन । लोभीपापी गरुड लोपोन्मुख अवस्थामा सूचीकृत गरिएको पन्छी हो । खनालका अनुसार यो वर्ष कालो गरुड एउटा मात्र भेटिएको थियो । गत वर्ष देखिएको जुरे हुटिट्याउँ र खोयाँ हाँस पनि यो वर्ष देखिएन ।