जेठ १८, काठमाडौं । तीन ओटा लघुवित्त वित्तीय संस्थाले २७ लाख ६० हजार ५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।
जीवन विकास लघुवित्त, मानुषी लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । ती तीन ओटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।
ती कम्पनीमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी अर्थात् १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत फागुन १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी मानुषी लघुवित्त वित्तीय संस्थाले ३ लाख ९३ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत गत चैत १६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।
त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले ३ लाख ८९हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत फागुन १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । विक्री प्रबन्धकमा भने एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
ती तीन ओटै कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणसमेत सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरणमा उल्लेख भएअनुसार सो अवधिमा ती तीन ओटै कम्पनीले आकर्षक नाफा कमाएका छन् ।
सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाले रू. ५६ करोड ३९ लाख ३९ हजार नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको तुलनामा नाफा चालू आवमा १०६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको तुलनामा चालू आवमा २५० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा रू. ९५ लाख ६ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवमा वृद्धि गरेर रू. ३ करोड ३२ लाख ८३ हजार नाफा कमाएको छ ।
त्यसैगरी मानुुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ करोड १९ लाख ६४ हजार नाफा कमाएको छ । गत आवको तुलनामा उक्त कम्पनीको नाफा १२६ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आवमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको थियो । तीन ओटै कम्पनीको खुद ब्याज आम्दानी सञ्चालन नाफा र खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफा बढेको हो ।
स्रोत : नेपाल धितोपत्र बोर्ड