विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडाको राष्ट्रिय गणनाका छैठाँै संस्करण सोमबारबाट सुरु भएको छ । यसअघि सन् २०१५ मा राष्ट्रिय तहमा गैँडा गणना भएको थियो । गत वर्ष सबै तयारी पूरा भएर पनि कोभिड १९ का कारणले स्थगित भएको गणना यो वर्ष सुरु भएको छ ।
एकसिङ्गे गैँडा पाइने चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गर्दा झण्डै एक महिना लाग्ने भएको छ । सन् १९९४ मा पहिलो पटक, सन् २००० मा दोस्रो पटक, सन् २००८ मा तेस्रो पटक, सन् २०११ मा चौथो पटक र सन् २०१५ मा पाँचौ राष्ट्रिय गैँडा गणना गरिएको थियो । हुन त नेपालमा सन् १९५० देखि नै केही सिमित निकुञ्जभित्रका गैँडा गणना गरिँदै आएको हो तर राष्ट्रिय स्तरमा पहिलो पटक सन् १९९४ बाट सुरु गरिएको हो ।