सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि नेपाल स्टार्टअप कोष खडा गरिने बताएका हुन् । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । नीति तथा कार्यक्रममा समेत उल्लिखित यो नयाँ कार्यक्रम हो । प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा यो कार्यक्रम सञ्चालन हुने अर्थमन्त्री पुनले बताए ।