विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अहिले विश्व अर्थतन्त्र नै संकटमा पर्न थालेको संकेत प्राप्त भएको र त्यसको असरस्वरूप नेपाल पनि आर्थिक संकटको सँघारमा रहेको भन्ने किसिमले अर्थशास्त्रीहरूबीच चर्चा हुन थालेको छ । कतिपयले अर्थतन्त्रलाई राजनीतिसँग मिसाएर आर्थिक संकटको चर्चा गरेको आरोप एकातिर लगाइरहेका छन् भने कतिपयले विशुद्ध रूपमा आर्थिक मुद्दाहरूमा मात्र केन्द्रित हुँदा पनि सन्निकट संकटलाई उपेक्षा गर्न नसकिने बताइरहेका छन् ।
जीवन निर्वाह गर्ने आवश्यक पर्ने औसत खर्चभन्दा कम मात्रामा आम्दानी तथा ज्यालाको अवस्था भएको अवस्थामा पनि अर्थतन्त्रको स्वास्थ्य कमजोर भएको मानिन्छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत कात्तिक महीनासम्मको समष्टिगत आर्थिक परिसूचकहरूमा समाविष्ट भएका तथ्यांकहरूलाई लिएर अहिले यस्ता बहसहरू दिन प्रतिदिन बाक्लिँदै गएको पाइन्छ ।
खासगरी व्यापारघाटामा हुँदै गएको निरन्तरको वृद्धि तथा विदेशी मुद्रा सञ्चितिमा हुँदै गएको निरन्तरको ह्रासलाई देखाएर यस्तो संकटको अनुमान गर्नेहरू धेरै छन् । विप्रेषण आप्रवाहमा भएको कमीसँगै आयमा भएको ६ दशमलव ७ प्रतिशतको कमी, आयातमा भएको वृद्धि, कर्जायोग्य रकमको अभाव, निर्यातमा हुन नसकेको वृद्धिलगायत कारणले पनि अर्थतन्त्रलाई संकटतर्फ धकेलिइरहेको बताइन्छ । अर्कोतिर समग्र खर्च पनि केवल २२ प्रतिशत र पूँजीगत खर्च करीब ५ प्रतिशत मात्र हुनुले पनि अर्थतन्त्रको निराशाजनक तस्वीर नै दर्शाएको देखिन्छ ।
एकातिर यस्तो परिदृश्य त अर्कोतिर भ्रष्टाचार तथा करछलीका ठूलाठूला समाचारहरू सार्वजनिक हुँदा समेत राज्यका सम्बद्ध निकायहरूको अपेक्षित सक्रियता नदेखिनुलाई पनि संकटग्रस्त अर्थतन्त्रतर्फकै संकेत मान्नेहरू पनि छन् ।
अर्थतन्त्रका यिनै लक्षणहरूलाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंकले कतिपय सुधारात्मक नीतिगत परिवर्तन गरेको सन्दर्भमा उठेका विषयहरू सत्यातीत नै देखिन्छन् तापनि कतिपय सन्दर्भमा राजनीतिक आग्रहको भरमा नकारात्मक अतिशयोक्ति गरिएको पनि पाइन्छ ।
यिनै वादविवादको आलोकमा संकटापन्न अर्थतन्त्रका लक्षणहरू र नेपाली अर्थतन्त्रमा तिनको विद्यमानताका बारेमा संक्षेपमा चर्चा गर्ने प्रयासस्वरूप यो सानो आलेख तयार गरिएको छ ।
उच्च ब्याजदर : ब्याजको दरले एकातिर तरलताको आपूर्तिको अवस्था दर्शाउँछ भने अर्कोतिर कर्जाको मागलाई आवश्यकताअनुसार घटाउने तथा बढाउने गरी प्रभावित गर्ने गर्छ । अत्यावश्यकबाहेकका व्यवसाय तथा व्यक्तिहरूका लागि कर्जाको सहज पहुँचमाथि व्यवधान खडा गर्न उच्च ब्याजदरले मद्दत गर्छ । यसैले उच्च ब्याजदर हुनुलाई पनि कतिपयले संकटापन्न अर्थतन्त्रको संकेतका रूपमा विश्लेषण गर्ने गरेका छन् ।
तर, नेपालको अवस्था हेर्ने हो भने तरलताको यस्तो प्रकारको स्थिति चक्रीय रूपमा केही वर्षको अन्तरालमा नियमितजस्तै देखिने गरेको छ र एक विन्दुमा पुगेपछि कर्जा तथा निक्षेपको माग तथा आपूर्तिमा सामञ्जस्य कायम हुन गई ब्याजदरले स्थिरता प्राप्त गरेको पाइन्छ । फेरि अहिले सामान्य अवस्था रहेर कर्जायोग्य रकमको अभाव भएको होइन । गत १६ महीनामा मात्र १३ खर्बभन्दा बढी कर्जा प्रवाह भइसकेकाले थप कर्जाका लागि संकट परेको मात्र हो । त्यसैले ब्याजदरकै मात्र आधारमा अर्थतन्त्र संकटको सँघारमा रहेको भनी निष्कर्ष निकाल्नु अलिक हतारो गरेको ठहरिन्छ ।
पूँजी बजारको अवस्था : यदि अचानक पूँजी बजारप्रति लगानीकर्ताको विश्वास डगमगायो र पूँजीबजार धराशयी हुन पुग्यो भने पनि त्यसले अर्थतन्त्रलाई गम्भीर धक्का दिने आकलन गर्न सकिन्छ । कुनै कुनै दिन शेयरबजारमा नगण्य पहिरो गएको देखिए पनि समग्रमा २५०० भन्दा माथि रहेको नेप्से परिसूचकले तत्कालका लागि खराब अवस्थाको प्रतिनिधित्व गर्छ भनेर विश्लेषण गर्नु पनि त्यति परिपक्व मान्न सकिँदैन ।
कुल गार्हस्थ्य उत्पादन : कुल खर्च तथा कुल आम्दानीको आधारमा गणना गरिने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई अर्थतन्त्रको स्वास्थ्य परीक्षण गर्ने सबैभन्दा उपयुक्त माध्यमका रूपमा लिने गरिन्छ गर्ने गरिन्छ । बढ्दो जीडीपीले स्वस्थ अर्थतन्त्रतर्फ इंगित गर्छ भने घट्दोले संकटग्रस्त अर्थतन्त्रतर्फ । नेपालमा कुल जीडीपीमा ७० प्रतिशत योगदान निजीक्षेत्रको भएकाले र निजीक्षेत्रले बैंकबाट लिएको कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले पनि त्यसले देशको भावी अर्थतन्त्र त्यति चिन्ताजनक देखिँदैन ।
बेरोजगारीको दर : यदि बेरोजगारी दर अस्वाभाविक रूपमा बढ्ने वा अनपेक्षित रूपमा घट्दो क्रममा हुन्छ भने त्यसले पनि धेरैजसो अवस्थामा अर्थतन्त्रको नकारात्मकतातर्फ नै संकेत गरेको हुन्छ । अर्थतन्त्रको चक्रीय अवस्थाअनुरूप पनि बेरोजगारीको प्रत्यक्ष सरोकार आम्दानी, माग, उत्पादन, आपूर्ति, मूल्य, नाफा अनि फेरि बेरोजगारी नै हुने भएकाले पनि यसलाई एक महत्त्वपूर्ण सूचकको रूपमा लिने गरिन्छ । ४ वर्षअघि ३ प्रतिशतभन्दा तल रहेको बेरोजगारी दर १ वर्षअगाडि करीब साढे ४ प्रतिशतको हाराहारीमा पुग्नुले नेपालमा बेरोजगारीको दरको बढ्ने मात्रा तीव्र रहेको देखिएको छ । अन्तरराष्ट्रिय श्रम संगठनका अनुसार १५ देखि २९ वर्ष उमेर समूहका श्रम शक्तिमा त अझ १९ प्रतिशतभन्दा माथि बेरोजगारी रहनुले अर्थतन्त्रको विकासमा त्यसले गम्भीर धक्का दिएको छ ।
उपभोक्ता/उत्पादक मूल्य सूचकांक : नेपालको उपभोक्ता मूल्य सूचकांक करीब ८ वर्षअघि ११७ दशमलव ७३ कायम भएकोमा २ महीना अघिको १४३.४२ विन्दुबाट बढेर गत महिना १४५ दशमलव ५४ बिन्दुमा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । बढ्दो मूल्य सूचकांकले मुद्राको घट्दो मूल्यतर्फ संकेत गर्ने हुनाले यसलाई त्यति सकारात्मक मान्न नसकिने भए तापनि त्यसले अर्थतन्त्रमा गम्भीर असर पारिहाल्ने भने अनुमान गर्न सकिँदैन ।
व्यापार सन्तुलन : यो एकअर्को महत्त्वपूर्ण सूचक हो । अहिले नेपालमा आयातको तुलनामा निर्यात अत्यन्त न्यून रहेको र आयातको वृद्धि पनि गत वर्षको तुलनामा अत्यधिक रहेको देखिएकाले यसले अर्थतन्त्रलाई संकटमा धकेल्ने आकलन गरिएको छ । गतवर्ष मात्र करीब साढे १५ खर्बको आयात गर्दा केवल ४० अर्बजतिको मात्र निर्यात हुनुले व्यापारघाटाको कहालीलाग्दो अवस्था चित्रण त गर्छ नै । तर, कतिपय वस्तुहरू आयात गर्दा शतप्रतिशत नै नगद मार्जिन राख्नुपर्ने गरी नेपाल राष्ट्र बैंकले नीतिगत परिवर्तन गरेपछि त्यसले यो व्यापारघाटालाई केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा गर्न सकिन्छ । आयात गरिएका वस्तुहरूको सूची तथा प्रकृति हेर्दा भने अधिकांश उत्पादनसँग सम्बद्ध भएकाले त्यसले संकटापन्न अर्थतन्त्र होइन कि सबल अर्थतन्त्रतर्फ संकेत गरेको मान्नेहरू पनि छन् ।
आम्दानी तथा ज्याला : जीवन निर्वाह गर्ने आवश्यक पर्ने औसत खर्चभन्दा कम मात्रामा आम्दानी तथा ज्यालाको अवस्था भएको अवस्थामा पनि अर्थतन्त्रको स्वास्थ्य कमजोर भएको मानिन्छ । अहिले नेपालको अवस्था हेर्ने हो भने बेरोजगारी व्याप्त रहेको भए तापनि आम्दानी र ज्यालाको हिसाबले मानव स्रोतको मूल्य बढी नै देखिन आउँछ । आमरूपमा खर्च गर्ने प्रवृत्तिले पनि त्यही दिशातर्फ नै संकेत गरेको छ । अन्तरराष्ट्रिय श्रम संगठनले प्रकाशित गरेको विश्व ज्याला प्रतिवेदनले देखाएअनुसार विगतको १ दशकमा भियतनामले वास्तविक ज्यालामा ११ दशमलव ३ प्रतिशतले वृद्धि गरेको देखाएको छ भने सोही अवधिमा नेपालमा केवल ४ दशमलव ७ प्रतिशत मात्र औसत वास्तविक ज्याला बढेको छ । यसले नेपाली ज्याला तथा आम्दानीको निम्न स्तरतर्फ संकेत गरे पनि त्यसलाई खतराको विन्दु भने मान्न सकिँदैन ।
लेखक बैंकर हुन् ।