काठमाडौं । धितोपत्र प्राथमिक बजारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको मात्र हकप्रद शेयर विक्रीमा छ । साधारण शेयर निष्कासनले निरन्तरता पाइरहेको प्राथमिक बजारमा पछिल्लो समय हकप्रद शेयर निष्कासन भने निकै कम भइरहेको छ ।
नेशनल हाइड्रोपावरले असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीको हकप्रद शेयर खरीदका लागि साउन १८ गतेसम्म मात्र आवेदन दिन सक्ने साउन ४ गते जारी गरिएको पुनः सूचनामा उल्लेख छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १० बराबर ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँ छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । साउन ४ गते बिहान १० बजेसम्म १४ हजार ५३ जना शेयरधनीहरूबाट १७ लाख ९४ हजार ९८१ कित्ता हकप्रद शेयर खरीद माग भएको छ । हालसम्म कम्पनीको करीब २२ प्रतिशत हकप्रद शेयर विक्री भइसकेको छ ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड छ ।
लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत हकप्रद शेयर खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यीसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनीमार्फत भइरहेको छ ।
कम्पनीको सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजतपत्र नेपाल सरकारले रद्द गरेको छ ।
सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजतपत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।