तरकारीको भाउ सुन्दा जिब्रो टोक्नुपर्ने बेला भएको छ । उब्जनी नै कम भएर हो कि बजारमा त्यति तरकारी नै देखिँदैन । यो भनाइ हो बानेश्वर शंखमूलमा तरकारी किन्दै गरेकी एक गृहणीको । हुन पनि एक किलो बोडीको रू. १००, करेला रू. ६०, भिन्डी पाउको रू. २०, बन्दा किलोको रू. ३०–३५ पर्न थालेपछि सर्वसाधारण उपभोक्ताले जिब्रो टोक्नु स्वाभाविकै हो । अब झनै कति महँगो हुने हो भन्न गाह्रो छ ।
चामल र तरकारी साँझबिहान धेरै चाहिने र तिनको मूल्य बढ्दै जान थालेपछि आमउपभोक्ता छटपटिन लागेका छन् । तेल, दाल, चिनी थोरैले पनि पुर्याउन सकिने तर तरकारी सस्तोमा किनेर थन्काउन नमिल्ने बढीमा २/३ दिन राख्न मिल्ने हुनाले जेजस्तो भाउमा पनि उपभोक्ता किन्न बाध्य हुन्छन् ।
उपभोक्ताले खुद्रा मूल्य सुन्दा अचम्म मानेझैं शंखमूलमा तरकारी बिक्री गर्दै गरेकी एक महिला भन्छिन्, ‘के गर्नु कालिमाटीमै महँगो छ । ८–९ हजार रुपैयाँ लिएर गयो २/४ ढकका दरले ४/५ थरी तरकारी किन्दा नै सकिन्छ । २/४ पैसा नाफा लिएर बेच्ने हो ।’
वर्ष ५, अंक ४६, २०६७, साउन ३–९