नेपाली जुत्ता १७ देशमा निर्यात

काठमाडौं । नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात भइरहेको छ । पहिले भारतमा मात्रै निर्यात हुने नेपाली जुत्ता अहिले खाडीदेखि अमेरिका, बेलायत जापानजस्ता विकसित मुलुकसम्म पुग्न थालेको छ । परिमाण कम भए पनि नेपाली जुत्ताले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाएसँगै स्वदेशी जुत्ता उत्पादकहरू उत्साहित छन् । सरकारको सहयोग र साथ पाए परिमाणका साथै थप देशमा निकासी गर्न सकिने उनीहरूको भनाइ छ । जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरे अहिले स्वदेशी उद्योगहरूले क्षमताभन्दा कम परिमाणमा जुत्ता उत्पादन गरिरहेको बताउँछन् । व्यवसायीले नै विदेशमा बजार खोजेर जुत्ता निर्यात गर्दै आएको उनले जानकारी दिए । भारतमा मात्रै सीमित जुत्ता निकासी अहिले १७ भन्दा बढी देशमा पुगेको भन्दै उनले सरकारले सहयोग गरे निर्यातको परिमाण बढाउन सकिने जानकारी दिए । ‘पहिला गुणस्तर कमजोर हुँदा निर्यात गर्न समस्या थियो,’ उनले भने, ‘अहिले अन्तरराष्ट्रिय स्तरको उत्पादन र गुणस्तरमा व्यवसायी सचेत हुँदा निर्यात र माग बढेको हो ।’ विविध कारणले नेपाली जुत्ता मूल्यमा प्रतिस्पर्धी भने हुन नसकेको उनले बताए । नेपाली जुत्ता उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक १६ करोड जोर उत्पादन हुन्छ । २०७० सालयता नेपालमा जुत्ता उत्पादनले गति लिन थालेको सम्बद्ध व्यवसायी बताउँछन् । कोरोनाको २ वर्षमा यस क्षेत्रमा थप लगानी आएको र सरकारले पनि फुटवेयरलाई प्राथमिकता दिएकाले सम्भावना राम्रो देखिएको छ । व्यवसायीका अनुसार यो क्षेत्रमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । १ हजार ५०० उद्योग सञ्चालनमा छन् । नेपालको आन्तरिक माग वार्षिक १० करोड जोर हो । अध्यक्ष घिमिरेका अनुसार पछिल्लो समयमा ३ करोड जोरभन्दा बढी जुत्ता विभिन्न देशमा निर्यात भएको छ । विदेशमा रहेका सरकारी नियोग, वाणिज्य दूतावास जस्ता निकायहरूले छुट्टै डेस्क राखेर  प्रवर्द्धनमा सहयोग गरे जुत्ता निर्यातको अंक बढाउन सकिने र दीर्घकालीन निकासीको आधार तयार हुने फुटवेयर व्यवसायी बताउँछन् । अस्थिर ब्याजदर र औद्योगिक कर्जाको व्यवस्था नहुँदा समस्या परेको उनीहरूको गुनासो छ । बिजुली अभावमा डिजेलबाट उत्पादन गर्नुपर्दा, जग्गाको मूल्य, उत्पादनमा प्रविधिभन्दा जनशक्तिको बढी प्रयोग, ढुवानी र कार्गाे मूल्यका कारण नेपालको उत्पादन अन्य देशको तुलनामा महंगो भएको घिमिरेको भनाइ छ । विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्र जस्ता स्थानमा उद्योग लगाउन समस्या हुँदा जग्गाकै मूल्य बढी पर्ने उनले बताए । अहिले नै पूर्ण क्षमतामा फुटवेयर उद्योग सञ्चालन गर्न सके नेपालको आन्तरिक माग धानेर पनि निर्यात गर्न सक्ने क्षमता रहेको घिमिरे दाबी गर्छन् । अहिले उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन पाएका छैनन् । ‘जुत्ता उद्योगहरूले कुल क्षमताको ३५ देखि ४० प्रतिशतसम्म मात्रै उत्पादन गर्छन्,’ उनले भने, ‘यसले आन्तरिक मागको ६५ प्रतिशतसम्म धान्छ ।’ सरकारले सहयोग गरे आन्तरिक माग पूरा हुने र बाँकी ३५ प्रतिशत आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ । ‘फुटवेयरमा अहिले प्रत्यक्ष रूपमा ५० हजारभन्दा बढीले रोजगारी पाएका छन्,’ घिमिरेले भने, ‘राज्यले सहयोग गरे यसलाई ७५ हजार पुर्‍याउन सकिन्छ ।’ जुत्ता उद्योगमा स्वदेशी जनशक्तिलाई रोजगारी दिन तालीम केन्द्र खोल्नुपर्ने आवश्यकता उनले औंल्याए । अहिले नेपाली जुत्ता उद्योगमा काम गर्नेमध्ये ७० प्रतिशत भारतीय छन् । उनीहरूको न्यूनतम पारिश्रमिक मासिक ४० हजार रुपैयाँ हुन्छ । नेपालीहरू भने सोही रकमका लागि विदेशिइरहेको भन्दै घिमिरेले स्वदेशमा रोजगारी सृजना गर्न सरकारले तालीम केन्द्र खोल्नुपर्ने र माध्यमिक तहदेखि नै जुत्तासम्बन्धी पाठ्यक्रम राख्नुपर्ने बताए । संघका अध्यक्ष घिमिरेका अनुसार अन्य देशमा प्रतिदिन प्रतिकामदार जुत्ता उत्पादन १० जोर छ । नेपालमा ३ जोर मात्रै छ । भारत, भियतनामजस्ता देशले पाठ्यक्रममै राखेर स्कूल, कलेजमा जुत्तासम्बन्धी अध्ययन गराउँछन् । भन्सार विभागका अनुसार गत चैत मसान्तसम्ममा नेपालबाट भारत, स्वीट्जरल्यान्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका, अस्ट्रेलिया, चीन, भुटान, जापान, अस्ट्रिया, क्यानडा, डेनमार्क, मलेशिया, नेदरल्यान्ड, नर्वे, कतार, बेलायत, स्पेनजस्ता देशमा जुत्ता निर्यात भएको छ । यसबाट ८६ करोड ३६ लाख ८९ हजार रुपैयाँभन्दा बढी आर्जन भएको छ । सरकारका पूर्वसहसचिव रवि सैंजू जुत्ता निर्यातको सम्भावना राम्रो रहेको बताउँछन् । सरकारले बनाएका विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्रमा यी उद्योगलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । नेपाली जुत्ता विश्व बजारका साथै आन्तरिक बजारमा पनि खपतको सम्भावना रहेको उनले बताए । आन्तरिक बजारका उपभोक्ताले पनि अचेल स्वदेशी जुत्ता रुचाउन थालेको भन्दै उनले जुत्ताको आयात प्रतिस्थापन गर्नेतर्फ सबै पक्षले ध्यान दिनुपर्ने बताए । ‘निर्यातका लागि उनीहरूलाई सरकार, दातृ निकाय तथा विदेशी नियोगको सहयोग चाहिन्छ,’ सैंजूले भने, ‘सरकारी नेटवर्कबाट पनि मार्केटिङका लागि सहयोग हुनुपर्छ ।’ स्वदेशी उद्योगकै कारण जुत्तामा नेपाल ६५ प्रतिशत आत्मनिर्भर भइसकेको छ । यो उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि जुत्ताचप्पल उत्पादनसम्बद्ध संघसंस्थाले वार्षिक २ पटक काठमाडौंमा ठूलो मेला गर्छन् । नेपालमा गोल्डस्टार, रोयल सुज, शिखर, हिललाइफ, क्रसरोड, स्मार्ट सुज, रन सुज, कोशेली, बेम्बो सुज, बोस, फुटस्टेप, केटीएम सुज, क्यालिबरजस्ता ब्रान्डमा जुत्ता उत्पादन हुन्छ ।

सम्बन्धित सामग्री

आन्तरिक बजारमा स्वदेशी जुत्ताको माग घट्यो

काठमाडौं । आन्तरिक बजारमा स्वदेशी जुत्ताको व्यापार खस्किएको छ । जुत्ता उत्पादक संघ, नेपालका अनुसार विगत ६ महीनादेखि उत्पादन २५ प्रतिशतमा झरेको छ । सहकारीमा समस्या, भारतबाट जुत्ताको चोरीपैठारी, ठूलो संख्यामा युवा विदेशिनु र देशमा व्याप्त आर्थिक मन्दीले जुत्ता व्यापार घटेको व्यवसायीहरूको अनुमान छ ।  संघका वरिष्ठ उपाध्यक्ष चोककुमार श्रेष्ठका अनुसार भारतमा जुत्ताको उत्पादन लागत निकै सस्तो छ । बैंकको सस्तो ब्याजदर र कच्चा पदार्थ भारतमै उत्पादन हुने भएकाले त्यहाँको उत्पादन सस्तो हुन गएको हो । नेपालमा उत्पादित जुत्ता भारतको भन्दा ३० देखि ३५ प्रतिशत महँगो हुने उनले बताए । ‘एउटा त सस्तो जुत्ता, त्यसमा पनि चोरीपैठारी गरेर ल्याउँदा भन्सार शुल्क तिर्नु पर्दैन । बजारमा छ्याप्छ्याप्ती सस्तो जुत्ता पाइएपछि नेपालमा बढी उत्पादन लागतका कारण महँगो भएकाले जुत्ता विक्री गर्न सकस भएको हो,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘हामीले अहिले वार्षिक ४ करोड जोर जति जुत्ता उत्पादन गर्ने गरेका छौं । नेपालको कुल माग र भारतबाट भन्सार तिरेर आयात भएको जुत्ताको स्थिति हेर्दा लगभग २ करोड जोर जति जुत्ता अवैध तरीकाले आयात भएको हुनसक्ने अनुमान लगाएका छौं ।’  सरकारले चोरीपैठारी नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । अन्यथा नेपालका स्वदेशी उद्योग संकटमा पर्नुका साथै सरकारले राजस्वसमेत गुमाइरहने व्यवसायी बताउँछन् । स्वदेशी ब्रान्ड ब्ल्याक हर्सका प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठ आर्थिक मन्दीको स्थितिलाई पनि जुत्ताको माग घट्नुको कारक मान्छन् । ‘६ महीनायता व्यापार निकै खस्केको छ । यसको एउटा प्रमुख कारण आर्थिक मन्दी हो । उद्योगी व्यवसायीसँग पैसा छैन । बैंकहरूले ऋण दिइरहेका छैनन्,’ उनले भने, ‘पैसाको अभावमा उत्पादन कम गर्नुपर्ने बाध्यता एकातिर छ भने उपभोक्ताको आयस्रोत पनि कम भएकाले माग नै घटेको हो ।’ नेपालबाट दिनहुँ ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) को ९ महीनामा ६ लाख नेपाली रोजगारीका लागि विदेशिएका छन् । गत साउनदेखि चैतसम्ममा ५ लाख ४८ हजार ६६४ पुरुष र ५३ हजार ४८९ महिला गरी ६ लाख २ हजार १५३ जनाले श्रमस्वीकृति लिएको विभागले जानकारी दिएको छ । अध्ययनका लागि विदेशिने युवायुवतीको संख्या पनि उत्तिकै छ ।  खरीद गर्ने इच्छाशक्ति र क्षमता भएको वर्ग देशमा नहुँदा त्यसको समेत असर जुत्ता व्यवसायमा परेको व्यवसायीको भनाइ छ । गाउँगाउँमा पुगेर सर्वसाधारणलाई सहज रूपमा कर्जा सुविधा दिइरहेका सहकारी संस्थाहरू समस्यामा पर्दा पनि जुत्ताको माग घटाउन बल पुगेको व्यवसायीको अनुमान छ । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपाने नेपाली जुत्ता उत्पादकहरूले आफ्नो जुत्ताको बजार विदेशमा पनि खोज्नुपर्ने बताउँछन् । यसका लागि जुत्ता गुणस्तरीय बनाएर निर्यात बढाउनुपर्नेमा उनको जोड छ । ‘अहिले सबै कुरा ग्लोबलाइजेशन भइसकेको छ । हामीले पनि सशक्तरूपले विश्व बजारमा जानुको विकल्प छैन । अब स्वदेशी बजारलाई मात्रै हेरेर हुँदैन,’ उनले भने । व्यवसायीले आफ्नो उत्पादनलाई विदेशी बजारमा लैजान सक्रियता देखाउँदा सरकारको तर्फबाट पनि उचित सहयोग हुनुपर्ने व्यवसायी न्यौपानेको भनाइ छ । आर्थिक मन्दीका कारण यस वर्ष दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीलगायतको पनि माग घटेको छ ।

नेपाली जुत्ताको विदेश यात्रा

व्यापारघाटाको आँकडा उच्च दरले बढिरहेको सन्दर्भमा नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात हुनु सकारात्मक खबर हो । निर्यातको परिमाण कम भए पनि विकसित देशहरूमा समेत जुत्ता निर्यात हुँदा यसले थप निर्यातको सम्भावनालाई देखाएको छ । विदेशी कच्चा पदार्थ, विदेशी कामदार राखेर नेपाली उत्पादनले विश्वबजारसँग प्रतिस्पर्धा गर्न पक्कै पनि सहज हुनेछैन । अतः यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन अनुसन्धान र विकासका लागि सरकारले समेत प्राविधिक र वित्तीय सहयोग गर्नुपर्ने देखिन्छ । निर्यात र आयातबीच रहेको ठूलो खाडलका कारण मुलुकमा विदेशी विनिमय सञ्चितिमा तीव्र दबाब परेको छ । यसलाई सन्तुलनमा राख्न सरकारले विभिन्न किसिमका नियन्त्रणात्मक उपाय अवलम्बन गरेको छ जुन क्षणिक मात्रै हुन् । कुल विदेशी विनिमयमा विप्रेषणको योगदान झन्डै ५६ प्रतिशत रहेको छ भने विदेशी अनुदानको ११ प्रतिशत । पर्यटनको योगदान १० प्रतिशत हाराहारी रहेको तथ्यांक पाइन्छ । त्यस्तै निर्यातको योगदान ७ प्रतिशत हाराहारी छ । विप्रेषणको योगदान बढी छ तर सबैभन्दा अनिश्चित स्रोत यही हो । त्यसैले विप्रेषणको विकल्प खोज्न ढिला भइसकेको छ । आयात घटाउन तथा निर्यात बढाउन स्वदेशी उत्पादन बढाउनुको विकल्प छैन । यस्ता विकल्पमध्ये जुत्ता पनि एउटा सम्भावनाको क्षेत्र बनेर देखापर्नु सकारात्मक हो । अहिले वार्षिक ५० लाखभन्दा बढी जोर जुत्ता विदेश निर्यात भइरहेको छ । तर, नेपाली जुत्ताले मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन । नेपालमै मलेशिया, चीन आदि मुलुकबाट आयात भएका जुत्तासँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ । ती देशमा सरकारी सहयोग तथा त्यहाँका कामदारको उत्पादकत्व क्षमताका कारण करीब २/३ डलरमा जुत्ता तयार हुने र ती जुत्ता प्रतिस्पर्धी बजारमा पुग्दा १३/१४ डलरमा विक्री हुने गरेको बताइन्छ । नेपाली जुत्ता त्यहाँ पुग्दा झन्डै २५ डलर पर्ने भएकाले ती देशमा प्रतिस्पर्धामा टिक्न सक्ने देखिँदैन । यद्यपि थोरै परिमाणमा भए पनि नेपाली जुत्ता निर्यात भने भइरहेको छ । भारतीय बजारमा भने ठूलो परिमाणमा निर्यात भइरहेको छ । नेपाली जुत्ताले सम्भावित प्रतिस्पर्धालाई ध्यान दिएर आफ्नो उत्पादन रणनीति तयार नगरे भोलिका दिनमा समस्या नपर्ला भन्न सकिँदैन । हो, पछिल्लो समय नेपाली जुत्ताको गुणस्तरमा सुधार आएको छ । आधुनिक डिजाइनका जुत्ता बन्न थालेका छन् । तर, जुत्ता उत्पादनमा अनुसन्धान र विकासको काम भएको पाइँदैन । त्यस्तै तालीम केन्द्र पनि छैन । उत्पादनमा स्थानीय कच्चा पदार्थको प्रयोग पनि भएको छैन जसले गर्दा यसको अपवार्ड र डाउनवार्ड लिन्केज बलियो देखिँदैन । यसका लागि व्यवसायीको प्रयासले मात्र पुग्दैन । त्यसैले यसमा निजीक्षेत्र र सरकारको साझेदारी आवश्यक देखिन्छ । व्यवसायीहरूले जुत्ताको बजार रणनीति तय गर्दा प्रतिश्रमिक उत्पादकत्व बढाउने उपाय खोज्नुपर्छ । त्यस्तै नेपाली श्रमिकलाई नै तालीम दिएर यसमा लगाउनुपर्छ । ५० हजार श्रमिकले काम गरिरहेको यस क्षेत्रमा ७० प्रतिशत कामदार भारतीय छन् । विदेशी कच्चा पदार्थ, विदेशी कामदार राखेर नेपाली उत्पादनले विश्वबजारसँग प्रतिस्पर्धा गर्न पक्कै पनि सहज हुनेछैन । अतः यसलाई प्रतिस्पर्धी बनाउन अनुसन्धान र विकासका लागि सरकारले समेत प्राविधिक र वित्तीय सहयोग गर्नुपर्ने देखिन्छ । अन्यथा, गलैंचा, गार्मेन्ट, पश्मिना आदि वस्तुको निर्यातले भागेको नियति यसले पनि नभोग्ला भन्न सकिँदैन । आन्तरिक बजारमा नेपाली जुत्ताले राम्रो स्थान पाउन थालेको छ । यसो हुनुमा मूल्य र डिजाइन प्रतिस्पर्धी हुनु नै हो । तर, गुणस्तर र ब्रान्डिङसमेत गर्न सके आन्तरिक बजारमा यसको बलियो उपस्थिति हुन सक्छ । आन्तरिक बजार राम्रोसँग लिएको वस्तुलाई निर्यात गर्न पनि सहज हुन्छ । चीन, मलेशिया आदि देशले ठूलो परिमाणमा जुत्ता उत्पादन गर्ने भएकाले लागत निकै सस्तो पर्छ । तर, त्यो परिमाणमा नेपाली जुत्ता उत्पादन गर्न कठिन हुन्छ । त्यसैले लागत घटाउन सरकारी सहयोग आवश्यक परेको हो । नेपालका केही उत्पादनले राम्रो ब्रान्डको परिचय बनाउन सकेको पाइन्छ । हिमालय पेट सप्लाई, कोबोल्ड घडी, शेर्पा एडभेन्चर, गुर्खा लेदर, यार्चागुम्बा ह्वीस्की जस्ता विश्वकै महँगा ब्रान्ड पनि नेपालको नामबाट नचिनिएका होइनन् । पछिल्लो समय नेपाली उपभोक्तालाई लक्षित गरेर ब्रान्ड पहिचानका वस्तु उत्पादन हुन पनि थालेका छन् । त्यसैले जुत्ताको विदेश निर्यातमा पनि प्रशस्त अनुसन्धान गरी नयाँ बजार रणनीति लिन आवश्यक देखिन्छ ।

नेपाली जुत्ता १७ देशमा निर्यात

काठमाडौं, बैशाख २६ । नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात भइरहेको छ । पहिले भारतमा मात्रै निर्यात हुने नेपाली जुत्ता अहिले खाडीदेखि अमेरिका, बेलायत जापानजस्ता विकसित मुलुकसम्म पुग्न थालेको छ । परिमाण कम भए पनि नेपाली जुत्ताले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाएसँगै स्वदेशी जुत्ता उत्पादकहरू उत्साहित छन् । सरकारको सहयोग र साथ पाए परिमाणका साथै […]

भारतदेखि अमेरिकासम्म पुग्ने नेपाली जुत्ता/चप्पलको निर्यात खस्कियो

आर्थिक वर्ष २०७६/७७ नेपालले विभिन्न देशमा २५ लाख ४८ हजार ९ सय ६४ जोर अर्थात् ७६ करोड ७७ लाख २५ हजार रुपैयाँको जुत्ता/चप्पल निर्यात गरेको थियो