काठमाडौं (अस) । राष्ट्रिय बीमा संस्थानका ग्राहकले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्ने सक्ने भएका छन् ।
संस्थानका प्रशासक कविप्रसाद पाठक, सह–प्रशासक महेश रिमाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानका साथै अन्य पदाधिकारीको उपस्थितिमा उक्त अनलाइन भुक्तानी सेवाको सुरु गरिएको हो ।
योसँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । अनलाइनबाटै आफ्नो बैंक, वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिनेछ । संस्थानले प्रणाली सुदृढीकरण तथा अटोमेसन गर्न आफ्नो आन्तरिक प्रणाली स्तरोनति गरी एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस(एनपीआई) मार्फत सम्पूर्ण भुक्तानी कारोबार विद्युतीय माध्यममार्फत गर्न गत वर्ष चैतमा सम्झौता गरेको थियो ।
हाल पहिलो चरणमा बीमाको प्रिमियम भुक्तानी संकलन अनलाइनमार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगानीलगायत विभिन्न कारोबार बैंक खाताबाट सोझै गर्न सक्ने व्यवस्था मिलाउने भएको छ ।