काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को अभिव्यक्ति दिएर चर्चामा आएकी नेकपा प्रचण्ड–नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ ।
राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि सोधपुछका लागि बोलाएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाले झाँक्रीलाई सोधपुछका लागि भन्दै बोलाएको हो । झाँक्री उपस्थित नभएमा पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ ।
केही दिनअघि झाँक्रीले गोरखा पुगेर संसद विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै शितलनिवासबाट निस्केर बालकोट जान भनेपछि झाँक्रीको चर्को आलोचना हुँदै आएको छ ।
ओली नेतृत्वको नेकपाका महिला नेत्रीहरुले झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए ।
बुधबार राजधानीमा भएको प्रचण्ड नेपाल समूहको जनसभामा भनेकी थिइन्, ‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ । बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं । प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’