बैशाख १५, काठमाडौं । शैक्षिक परामर्श लगायतका विभिन्न उद्देश्य राखी खोलिएका कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मोटो रकम असुल्न थालेपछि वैदेशिक रोजगार विभागले कारबाही अघि बढाएको छ ।
बुधवार प्रेस विज्ञप्ती जारी गर्दै विभागले रोजगारीको प्रलोभन देखाएर मोटो रकम असुल गरिरहेको घटना प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
विभागमा यस प्रकारका उजूरीहरूको संख्या दिनहु बढिरहेको छ भने यस्तो कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परि उनीहरु उपर अनुसन्धान भैरहेको पनि विभागले उल्लेख गरेको छ ।
उजूरीको अनुसन्धान गर्दै जाँदा त्यस्ता कन्सल्टेन्सीहरूले रकमको कारोबार नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरूका खातामा रकम जम्मा गर्न लगाउने, गैरकानूनी असूलिको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न संचालक फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने कर्मचारीहरु पक्राउ पर्ने गरेको पनि विभागले उल्लेख गरेको छ ।
यस्ता गैरकानूनी क्रियाकलाप र गैर कानूनी कारोबारमा संलग्न नरहनको लागि त्यस्ता संस्थामा कार्यरत वा काम गर्न चाहने कर्मचारीलाई सचेत रहन विभागले आग्रह गरेको छ ।
साथै, ती कन्सल्टेन्सीहरूको दर्ता गर्ने तथा इजाजत दिने निकायहरुलाई यस्ता संघ संस्थाहरूको अनुगमन र निगरानीलाई सघन गरी उदेश्य बिपरितका कार्यमा संलग्नलाई कारबाहीको दायारामा ल्याउन पनि विभागले अनुरोध गरेको छ ।
वैदेशिक रोजगार विभागबाट स्वीकृती नलिई कुनै पनि संस्थाले वैदेशिक रोजगारी सम्बन्धी कार्य गर्न/गराउन पाउँदैनन् । कानून विपरीतका यस्ता कार्य गरेमा बैदेशिक रोजगार ऐन, २०६४ को दफा ४ आकर्षित हुने र सो बमोजिम यस्तो कार्यमा संलग्न जो कोही व्यक्ति, कर्मचारी वा संचालकलाई कम्तिमा तीन देखि सात वर्षसम्म कैद सजाय सहित अन्य सजायको व्यवस्था रहेको पनि विभागले ध्यानाकर्षण गराएको छ ।
साथै, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान हुन, यस विभागको वेवसाईट www.dofe.gov.np मा गई वैदेशिक रोजगारीमा पठाउन लागेको संस्था यस विभागको इजाजतपत्रवाला संस्था हो होइन एकिन गर्न पनि विभागले आग्रह गरेको छ ।
'कुनै पनि कन्सल्टेन्सी वा व्यक्तिले विद्यार्थी भिजिट/वर्किङ भिषा मार्फत वैदेशिक रोजगारीमा पठाइदिने भनी प्रलोभन देखाए वा रकम माग गरेमा त्यस्तो भ्रममा नपर्न र यस्तो जानकारी हुनासाथ सम्बन्धित निकायमा तुरुन्त खबर गर्न पनि सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।' विभागको विज्ञप्तीमा भनिएको छ ।