जेठ ६, काठमाडौं । केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ ।
‘ताउ–ते’को प्रभावले बिहीवार पनि ठाउँठाउँमा वर्षा भइसकेको छ । करीब–करीब मुलुकभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रका मौसमविद् समिर श्रेष्ठले पछिल्लो एक घण्टादेखि मुलुकका अधिकांश भागमा पानी परिरहे पनि भारी वर्षा भने नरहेको जानकारी दिए ।
यद्यपि गए राति र बिहान भने नेपालको पश्चिमी क्षेत्रका केही भागमा भारी वर्षा भएको उनले बताए । सबैभन्दा बढी लुम्बिनीमा ७८ मिलीमिटर पानी परेको छ । त्यसपछि डडेलधुरामा ७१, कञ्चनपुरको शान्तिपुरमा ५५, बैतडीमा ५१ मिलीमिटर पानी परेको छ ।
‘अहिले भारी वर्षा त छैन तर बदली कायमै रहेकाले सामान्य वर्षा जारी नै छ, साँझ केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ, शुक्रवारबाट केही खुल्दै जानसक्छ, साँझ हामी अपडेट गर्ने नै छौँ’, श्रेष्ठले भने । उनका अनुसार ताउतेको प्रभाव पनि कमजोर बन्दै गएको र नेपालमा त्यसको असर पनि कम परेको जानकारी दिए ।
ताउ–ते बिहीवार भारतको राजस्थान आसपासमा रहेको छ । त्यसको प्रभाव बुधवारभन्दा थप कमजोर छ र अहिले उत्तर पूर्वतिर अगाडि बढ्दै छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसमेत रहेकाले मौसममा बदलाब आइरहेको हो ।
विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । काठमाडौं उपत्यकामा पनि बुधवार साँझदेखि नै सिमसिम पानी परेको थियो । यो क्रम बिहीवार बिहानसम्म कायम रहेको तर अहिले केही खुले पनि पानी रोकिएको छैन । बिहीवार प्रदेश नं १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात/वर्षा हुने अनुमान छ ।
विभागका अनुसार बिहीवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।
शुक्रवार दिउँसो देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको र राति प्रदेश नं १ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा सामान्यतः सफा रहने विभागले जानकारी दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अहिलेसम्म ताउतेबाट ठूलो क्षतिका घटना भने जानकारीमा नआएको बताए । उनले मौसममा बदली कायमै रहेकाले सावधानी अपनाउनु पर्नेमा जोड दिए ।
तउ-तेले नेपालको हिमाली क्षेत्रलाई समेत प्रभावित बनाएको छ । गएको साता हिमाल आरोहणमा निस्किएका आरोही रोकिएका छन् । उनीहरु मौसम खुल्ने प्रतिक्षामा रहेका जानकारी छन् । सगरमाथा आरोपहीसमेत अनुकूल मौसमको प्रतिक्षामा रहेको जानकारी दिइएको छ । ताउतेले सबैभन्दा बढी असर भारतमा गरेको छ । प्राप्त विवरणअनुसार यसले मध्य र पूर्वी भारत, बंगलादेशको उत्तरी भूभाग, नेपाल तथा भुटानमा समेत प्रभाव पारेको छ ।
शुरुमा अरब सागरबाट आएको उक्त चक्रबातले भारतको पश्चिम तटीय क्षेत्र महाराष्ट्र र गुजरातमा प्रभाव पारेको थियो । बुधवार विस्तारै उत्तर सर्ने क्रममा दिल्ली, उत्तरप्रदेश, विहार झारखण्ड पश्चिम बंगालमा बदली गरेको थियो । अहिले यो भारतको राजस्थानबाट उत्तरपूर्वतिर गइरहेको छ । रासस