विवरण अद्यावधिक गर्नेसम्बन्धी विवादको प्रक्रिया नमिलेको भन्दै निर्वाचन आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेपछि नेकपा विवाद फेरि अर्को मोडतर्फ लागेको छ ।
अहिले आयोगले दिएको निर्णयअनुसार नेकपा वैधानिक रूपमा एकै छ । तर दुवै पक्षले फरक–फरक पार्टीका रूपमा गतिविधि गर्न थालिसकेका छन् । त्यसैले आयोगको यो निर्णयपछि नेकपाका दुवै समूहसामु अब दुइटा विकल्प प्रयोग गर्नुपर्ने अवस्था छ ।
एउटा विकल्प आयोगले आइतबार गरेको निर्णयविरुद्ध नेकपाको कुनै पक्ष अदालत जाने हो । दोस्रो विकल्प राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलको मान्यतासम्बन्ध...