सार्वजनिक सेवामा जवाफदेही बन्नुपर्नेमा जोड

काठमाडौं । सार्वजनिक सेवामा जवाफदेहिता र शासन पद्धतिमा प्रभावकारिता आउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । पछिल्लो समय नागरिक आफ्नो अधिकारका सचेत हुँदै गएपनि सेवा प्रदान गर्ने निकायहरू जवाफदेही बन्न नसेकेको उनीहरूको भनाइ थियो । बुधवार ट्रन्सपरेन्सी इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको ‘सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य’ परियोजनाको सामाजिक परीक्षण कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।  संस्थाकी अध्यक्ष पद्मिनी प्रधानांगले संस्थाले भ्रष्टाचार र सुशासनमा सरकारी निकायको ध्यानाकर्षण गराउँदै आएको बताइन् । उनले अहिले पनि सेवाग्राहीले प्रभावकारी सेवा पाउन नसकेको गुनासो आउने गरेको भन्दै सुशासन र सदाचारको लागि सबै एक भएर लाग्नुपर्ने बताइन् । कार्यक्रममा परियोजनाले परियोजना अवधिमा गरेका क्रियाकलाप र तिनको को बारेमा जानकारी दिइएको थियो । त्यसमाथि उपस्थित सरोकारवालामा टिप्पणी गरेका थिए । परियोजना अवधिमा सीमान्तकृत तथा जोखिममा रहेका वर्गको पहुँच बढाउने, शैक्षिक मूल्य र मान्यता स्थापना गर्ने, भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीको गुनासो सम्बोधन, सार्वजनिक जवाफदेहिता, स्वच्छ व्यावसायिक अभ्यास लगायतमा १६० क्रियाकलाप सम्पन्न भएको जानकारी दिइएको थियो । परियोजनाअन्तर्गत १ करोड ९३ लाख ९१ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा १ करोड ८४ लाख ८४ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

सम्बन्धित सामग्री

लघुवित्त क्षेत्रमा सामाजिक लेखापरीक्षण : लघुवित्तको सेवा सुधार गर्न उपयोगी

सामाजिक लेखापरीक्षणको औपचारिक प्रयोग सर्वप्रथम स्वीडेनले सन् १९८५ मा व्यवस्थापन र कर्मचारीबिचको सम्बन्धलाई लिएर शुरू गरेको हो । सार्वजनिक सेवाको विषयमा सरोकारवालाद्वारा गरिने लेखापरीक्षण नै सामाजिक लेखापरीक्षण हो । सरकारद्धारा प्रवाह गरिने वस्तु तथा सेवाको गुणस्तर, उपलब्धता, सीमान्तकृत वर्गलाई पुगेको लाभ, हानिलगायत विषयमा सामाजिक लेखापरीक्षणबाट सही तथ्यांक प्राप्त हुने भएकाले लोककल्याणकारी राज्यको अवधारणामा यसलाई महत्त्वपूर्ण अवयव मान्न सकिन्छ । विकसित देशमा यसको प्रयोग सार्वजनिक सेवामा मात्र नभई निजीक्षेत्रमा समेत प्रभावकारी रूपमा हुने गरेको पाइन्छ । कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्नुपूर्व उपभोक्ताको समीक्षा (रिभ्यु) हेरेर मात्र किन्ने प्रचलनले उत्पादकहरू सदैव आफ्नो उत्पादनप्रति सजग, सचेत, उत्तरदायी र जवाफदेही हुने गर्छन् ।  उपभोक्ताको समीक्षाका आधारमा उत्पादनको बजार निर्धारण हुने भएकाले सेवाप्रदायकहरू आफ्नोे उत्पादनको मूल्य, आपूर्ति, गुणस्तरलगायत विषयमा सदैव गम्भीर हुने गर्छन् । नेपालमा सामाजिक लेखापरीक्षणको थालनी पृथ्वीनारायण शाहले विसं १८२६ मा कुमारी चोक अड्डाको स्थापना गरेपश्चात् भएको पाइन्छ । पछिल्लो समय सरकारी विद्यालय, स्थानीय निकाय, स्वस्थ्य क्षेत्र, गैरसरकारी संस्थालगायत क्षेत्रमा यसको प्रयोग हुने गरेको पाइन्छ ।  सेवाप्रदायकद्वारा प्रवाह गरिने वस्तु तथा सेवाका सम्बन्धमा सरोकारवाला र लाभान्वित वर्गको सन्तुष्टि मापन सामाजिक लेखापरीक्षणबाट गर्न सकिन्छ । यस कार्यले सेवाप्रदायकले प्रवाह गर्ने वस्तु तथा सेवाको गुणस्तर र उपलब्धता, सेवा प्रवाह गर्नुको उद्देश्य र उपलब्धि तथा कार्यक्षमता र प्रभावकारितालाई अधिकतम गर्न सघाउ पुर्‍याउँछ । सामाजिक लेखापरीक्षणमा सरोकारवालाको व्यापक सहभागिता हुने भएकाले सेवाप्रदायकले प्रवाह गरेको वस्तु तथा सेवाको पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता हुन्छ ।  सहभागीले प्रजातान्त्रिक विधिबाट वस्तु तथा सेवाबाट हुने लाभ, हानि, चुनौती र अवसरको मूल्यांकन गरिने भएकाले आगामी योजना निर्माणका लागि सेवाप्रदायकलाई थप पृष्ठपोषण प्राप्त हुन्छ । लघुवित्त वित्तीय संस्थाहरू समुदायमा आधारित रहेर सञ्चालन हुने वित्तीय संस्था भएकाले यी संस्थाको सफलता मापन गर्ने विभिन्न आधारमध्ये सेवाग्राहीको सन्तुष्टि पनि एउटा हो । त्यसैले यी संस्थाले प्रवाह गरेको वित्तीय सेवाको गुणस्तर, उपलब्धता, लक्षित वर्गको सन्तुष्टि आदिलाई सामाजिक लेखापरीक्षणको माध्यमबाट मापन गर्नुपर्ने देखिन्छ ।  संस्थागत लघुवित्तीय सेवाको थालनी २०४९ सालदेखि शुरू भएको हो । प्राप्त पछिल्लो तथ्यांकअनुसार ५७ ओटा लघुवित्त वित्तीय संस्थाले करीब ६० लाख लक्षित वर्गलाई आबद्ध गरी ४७ प्रतिशतभन्दा बढीलाई कर्जा प्रदान गरेका छन् । त्यसैगरी मुलुकका ७७ ओटै जिल्लाका ६५३ ओटा स्थानीय तहमा लघुवित्तीय सेवाको पहुँच पुगिसकेको छ । लघुवित्त वित्तीय संस्थाले लक्षित वर्गको घरदैलोमा नै पुगेर बैंकिङ बानीको विकास गराउँदै आयमूलक व्यवसायका लागि सामूहिक जमानीमा कर्जा प्रदान गर्छन् । पछिल्लो तथ्यांकअनुसार लघुवित्त वित्तीय संस्थाले कृषि (४७ प्रतिशत), सेवाव्यवसाय (२६ प्रतिशत), थोक कर्जा (१३ प्रतिशत), साना तथा मझौला उद्यम (५ प्रतिशत) र बाँकी अन्य क्षेत्रमा कर्जा प्रवाह गर्दै आएका छन् । यस्ता कार्यले स्थानीय स्रोत र साधनको उपयोग हुने भएकाले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन लघुवित्त कार्यक्रम सहयोगी बन्दै आएको देखिन्छ ।  लघुवित्त वित्तीय संस्थाले बैंकिङ सेवाका अतिरिक्त सामाजिक उद्यमशीलताको समेत विकास गर्छन् । यसले गर्दा मुलुकमा अनौपचारिक अर्थतन्त्रको अंशलाई न्यून गर्न सहयोग पुग्दै आएको छ । लघुवित्त कार्यक्रमको माध्यमबाट महिला वर्गको आर्थिक, सामाजिक, राजनीतिक चेतनास्तरमा प्रगति भई लैगिङ र आर्थिक असमानतालाई न्यून गर्न तथा महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य सुधार गर्न सहयोग पुगेको छ ।  लघुवित्तीय सेवाका सम्बन्धमा सेवाग्राही/सरोकारवालाबाट बेलैमा सामाजिक लेखापरीक्षण गर्ने व्यवस्था गर्न सके संस्थाले प्रदान गरेको वित्तीय सेवाको गुणस्तर, उपलब्धता, सान्दर्भिकता, विस्तारलगायत विषयमा पृष्ठपोषण प्राप्त हुने भएकाले सेवाग्राहीको आवश्यकतालाई समयमै सम्बोधन गर्न सकिन्छ । लघुवित्त वित्तीय संस्थाले वित्तीय क्षेत्रमा पुर्‍याएको योगदानकै कारण मुलुकमा वित्तीय समावेशितामा सकारात्मक प्रभाव परेको पाइन्छ । यसले गर्दा लक्षित वर्गले आवश्यक पूँजीको जोहो गर्दा अनुचित लेनदेन (मीटर ब्याजी), साहूमहाजन, साथीभाइलगायत कानूनविपरीतका अनौपचारिक माध्यमबाट ठगिने विगतको अवस्थामा सुधार भई संस्थागत/औपचारिक माध्यमबाट वित्तीय कारोबार गर्ने अवसर र सुविधा पाएका छन् ।  लघुवित्त वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त गरेका र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका वित्तीय संस्था हुन् । नेपाल राष्ट्र बैंकले यी संस्थाको नियमन, गैरस्थलगत सुपरिवेक्षण, स्थलगत निरीक्षण (समष्टिगत स्थलगत निरीक्षण, लक्षित निरीक्षण, विशेष निरीक्षण तथा अनुगमन निरीक्षण) गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । उल्लिखित कार्यहरू नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, कम्पनी ऐन, अन्य प्रचलित ऐन कानुन, नेपाल राष्ट्र बैंकबाट जारी नीति, एकीकृत निर्देशन/मार्गदर्शन, असल अन्तरराष्ट्रिय अभ्यास, लघुवित्त वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली, कार्यविधि, साधारणसभा र सञ्चालक समितिका निर्णयलाई आधार बनाई सम्पन्न गर्ने गरिन्छ । यसबाट लघुवित्त वित्तीय संस्थामा कुनै कमीकमजोरी देखिएमा नीतिगत व्यवस्थाको अधीनमा रही क्रमश: समाधान गर्दै जाने नीति बैंकले लिएको पाइन्छ । लघुवित्त वित्तीय संस्थाको कामकारबाहीलाई आन्तरिक लेखा परीक्षक र मान्यताप्राप्त बाह्य लेखापरीक्षकबाट पनि लेखापरीक्षण गर्ने गरिन्छ । आन्तरिक लेखापरीक्षकले प्रचलित ऐन, कानून, संस्थाका नीतिनियम, कार्यविधिलगायत अनुपालना र जोखिमका आधारमा समेत निरीक्षण गर्ने गर्छन् । यस्ता कार्यले संस्थाका दैनिक कार्य विधिसम्मत भए/नभएको निरीक्षण गर्ने भएकाले संस्थागत सुशासन कायम गर्न तथा कार्यसञ्चालनको सिलसिलामा हुने कमीकमजोरीलाई सुधार गर्न सहयोग गर्छ । आवश्यकताअनुसार सञ्चालन गरिने आन्तरिक लेखापरीक्षण कार्यले अन्तत: सेवाग्राहीलाई प्रदान गरिने वित्तीय सेवालाई सहज, छिटोछरितो र नियमसंगत बनाउने वातावरणको सृजना गर्छ । बाह्य लेखापरीक्षकले विशेषगरी संस्थाको वित्तीय अवस्थालाई दृष्टिगत गर्दैै आर्थिक वर्षको समाप्तिपछि लेखापरीक्षण गर्ने गर्छन् । यसरी गरिने लेखापरीक्षणले संस्थाको वित्तीय अवस्था सचित्र देखाउने गर्छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदन आन्तरिक छलफल तथा कार्यान्वयनमा रहेको हुन्छ भने बाह्य लेखापरीक्षण प्रतिवेदन शेयरधनी र सरोकारवालाको जानकारीका लागि संस्थाको वेबसाइट र पत्रपत्रिका सार्वजनिक गर्ने गरिन्छ ।  माथि उल्लिखित व्यवस्थाहरू नियामक र संस्था आफैले गर्ने कार्य हुन् । यी कार्यले नीतिगत व्यवस्थाको अनुपालनाको अवस्था, स्वनियमन र नियमनको अवस्था, संस्थागत सुशासन, संस्थाको वित्तीय अवस्था, संस्थामा भएका कमीकमजोरी र सुधारात्मक अवस्था, आगामी दिनमा संस्थाले अपनाउनुपर्ने कदमहरूका बारेमा लेखाजोखा गर्ने गर्छ । उल्लिखित नियामकीय नियमन, निरीक्षण तथा सुपरिवेक्षण, आन्तरिक लेखापरीक्षण तथा बाह्य लेखापरीक्षणलगायत कार्यले संस्थाको सुशासन, वित्तीय लक्ष्यको प्राप्ति, सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्य लिएको भए पनि यसरी सम्पन्न गरिने कार्यले सेवाग्राहीको आवश्यकता, आकांक्षा, सोको प्राप्ति र उपलब्धिलाई गहन तवरले विश्लेषण गर्न शतप्रतिशत सम्भव नहुन सक्छ । अर्थात् नियामक र संस्थाबाट गरिने उल्लिखित कार्यले सम्पूर्ण रूपमा सेवाग्राहीको सन्तुष्टिको प्रतिनिधित्व नगर्न सक्छ । लघुवित्त वित्तीय संस्थाभित्र स्वस्थ्य प्रतिस्पर्धात्मक वातावरण सृजना भएमा त्यसबाट लाभान्वित हुने सेवाग्राही नै भए तापनि सेवाग्राहीबाट प्राप्त पृष्ठपोषण संस्थाका लागि मार्गनिर्देशक बन्न सक्छन् । त्यसैले सेवाग्राहीको भावनालाई कदर गर्दै लघुवित्त वित्तीय संस्थाले उनीहरूको सन्तुष्टि र लक्षित वर्गमा पुर्‍याएको योगदानसम्बन्धी जानकारी लिन सामाजिक लेखापरीक्षण गर्नुपर्छ भन्ने आवाज यस क्षेत्रमा उठ्न थालेको छ ।  लघुवित्तीय सेवाको सम्बन्धमा सेवाग्राही/सरोकारवालाबाट बेलैमा सामाजिक लेखापरीक्षण गर्ने व्यवस्था गर्न सके संस्थाले प्रदान गरेको वित्तीय सेवाको गुणस्तर, उपलब्धता, सान्दर्भिकता, विस्तारलगायत विषयमा पृष्ठपोषण प्राप्त हुने भएकाले सेवाग्राहीको आवश्यकतालाई समयमै सम्बोधन गर्न सकिन्छ । यसरी सामाजिक लेखापरीक्षणको माध्यमबाट सदस्यहरूको सन्तुष्टिलाई केन्द्रविन्दुमा राखेर लघुवित्त वित्तीय संस्थाहरू आफ्ना उत्पादन (वस्तु तथा सेवा) प्रति सदैव उत्तरदायी र जवाफदेही हुने अवस्था निर्माण हुने भएकाले यस क्षेत्रमा सदस्यमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने देखिन्छ ।  लेखक लघुवित्तसम्बन्धी जानकार हुन् ।

देश र जनताको बढुवा गर्ने कर्मचारी संयन्त्र कहिले ?

आजभन्दा झन्डै २५० वर्ष पहिला सन् १७७६ तिर राज्य एकीकरण पछि बनेका दुई देश अमेरिका र नेपालको प्रतिव्यक्ति आयको तुलना गर्दा ५८ गुणाको खाडल छ । सँगसँगै जन्मेका यी दुई दाजुभाइ बीचको यो फरकले विकासका बारेमा धेरै कुरा बोल्छ । यसले विकास किन हुन्छ र किन हुँदैन भनेर स्पष्ट हुन खोजी गर्न मद्दत गर्छ । छोटोमा भन्दा अमेरिकाले विकास गर्ने संस्था बनायो, हामी यसैमा चुक्यौं । परिणाम अमेरिका धनी बन्यो, नेपाल गरीबीमै रह्यौं । प्रभावकारी संस्था विकासका आधारशीला हुन् । त्यस्तो एउटा संस्था निजामती सेवा पनि हो । यो राज्यका नीतिको कार्यान्वयन गर्ने पाटो हो । यसलाई स्थायी सरकार वा कर्मचारीतन्त्र पनि भनिन्छ । देशले विकासमा फड्को मारेको वा पछाडि रहेको नतिजाको श्रेय कर्मचारीतन्त्रले नलिई बस्न मिल्दैन । यसबाट नै राष्ट्रसेवकहरू जवाफदेही भएको पुष्टि हुन्छ । विगत २५० वर्षमा नेपालमा कति कर्मचारीको पदीय बढुवा र वृत्ति विकास भयो । तर, विकसित देशका संस्थाहरूले वर्गीकरण गरेको अतिकम विकसित देशको श्रेणीमा नै हामी सीमित रहेको अवस्था छ । अहिले सन् २०२६ मा यसबाट स्तरोन्नति गर्ने बिगुल फुकिएको छ ।  मैले विसं २०५३ देखि लगभग २७ वर्ष निजामतीमा रहेर सेवा गरिरहेको छु । यस क्रममा पदीय हिसाबले माथि र तलका धेरै सहकर्मीसँग काम गर्ने र अनुभव आदानप्रदान गर्ने मौका मिलेको छ । मैले मूलत: राष्ट्रसेवकहरू सेवाभन्दा मेवातिर आकर्षित रहेको देखेको छु । उनीहरूको भावना पनि देशलाई दिनेभन्दा यसबाट लिनेतिर नै पाएको छु । यस प्रकारको आदर्श र यथार्थ बेमेल सबै तहका कर्मचारीमा देखिन्छ । खरिदारलाई पनि आकर्षक कार्यालय र छिटो बढुवा चाहिएको छ । मुख्य सचिव र सचिवहरू पनि लक्ष्मी र अहंकार संग्रहतिर नै आकृष्ट रहेको देखिन्छ । अवकाशपछि पनि पदीय आशक्तिले नछाडेको देखिन्छ । कर्मचारी मित्रहरूसँग हुने अनौपचारिक कुराकानीमा पनि निजामती सेवा वास्तवमै सेवाका लागि नभएर मेवाकै लागि हो भन्ने आशय भेटिन्छ । मेवा एक नम्बर प्राथमिकतामा परेको छ । उनीहरूमा सनातन संस्कृतिको मान्यता रहेको सेवा गरेपछि मेवा स्वत: प्राप्त भइहाल्छ भन्ने विषयमा धैर्य र आत्मविश्वासको एकदमै कमी देखिन्छ । हुन त व्यावहारिक रूपमा भोको पेटले के सेवा गर्न सक्छ । तर, निजामती सेवामा देश सेवाको आदर्शले काम गर्नेहरू निकै कम छन् र तिनीहरू घट्दो क्रममा रहेका छन् । उनीहरूले कतिपय अवस्थामा हेपिएर र चेपिएर सेवा प्रवाह गर्नु परेको छ । राष्ट्रसेवक निजामती कर्मचारीमा पनि उच्च आदर्श नभएपछि व्यवहार निम्छरो भइहाल्छ । यो विधि निर्माणमा निहित स्वार्थबाट प्रकट हुन्छ । हालै संघीय निजामती सेवा विधेयक माथिको खेल यस्तै स्वार्थको परिणति हो । राजनीतिक तहबाट स्थानीय र प्रदेशसँग तादात्म्य हुनेगरी तहगत प्रणालीमा जाने गरी लगभग टुङ्गिएर आएको मस्यौदामा निजामती सेवाभित्रका धेरै समूहले आफ्नो निहित स्वार्थलाई मात्र हेरेर फेरबदल ल्याउने लबिङ गरेका समाचार आएका छन् । बढुवालाई संशोधनको केन्द्रविन्दुमा राखिएको छ । आफ्नो सरोकार भएको कानूनमा आफ्नो स्वार्थ हेर्नु जायज भए तापनि जसरी लबिङ गरिएको छ, त्यो गुणस्तरीय देखिँदैन । अमुक समूहका व्यक्ति सचिव नहुने भएकाले एउटा तह नै हटाउने वा अमुक समूहका लागि एउटा तह नै थप गर्ने गरी गरिने लबिङ र डेलिगेशनको औचित्य सिद्ध गर्न सकिँदैन । सत्यको खोजी गरी सबै कर्मचारीको हित गर्नेभन्दा आफ्नो झोली भर्ने उद्यम चलेको आभास मिल्छ । उता कुनै कर्मचारी समूहले निजामती सेवाका साझा र व्यावसायिक सरोकारका विषय, जसमा देश र जनताको बढुवा हुने विषय रहेका छन्, त्यसमा वकालत गरेको देखिँदैन । अवकाश हुने उमेर बढाउने साझा सरोकारको विषयमा पर्याप्त छलफल र बहस भएकै छैन । अहिलेको ५८ वर्षलाई ६० वर्षमा उचाल्ने गरी विधेयकको लेखन भएको सुनिएको छ । तर, यसरी २ वर्ष बढाउनु पर्नाको आधार तथ्यगत रूपले स्थापित गरिएको छैन । औसत आयु र काम गर्ने क्षमता बढेकाले अवकाश हुने उमेर बढाउने गरिन्छ । उपदानको दायित्व घटाउन पनि अवकाश उमेर बढाउने प्रचलन छ । बढाउन खोजिएको २ वर्ष कसरी बढाइन्छ त्यो पनि ज्यादै महत्त्वपूर्ण विषय हो । एकैचोटि बढाउँदा सेवामा रहनेलाई त फाइदा होला तर नयाँ भर्ना पूरा २ वर्ष रोकिने हुन्छ । यस्तो अवस्थामा निजामती सेवामा नयाँ रक्तसञ्चार पनि अवरुद्ध हुन्छ । यही गम्भीरतालाई विचार गरेर जर्मनीमा अवकाश हुने उमेर ६५ बाट ६७ वर्ष बनाउँदा १८ वर्ष लागेको थियो ।  देशको विकास प्रक्रिया सुस्त हुनुमा पनि कर्मचारीतन्त्रको भूमिका छ । लक्षित आर्थिक वृद्धि प्राप्त नहुनु, उपलब्ध बजेट पनि खर्च गर्न नसक्नु, स्रोत सुनिश्चित नहुँदै आयोजना ठेक्कामा लगाउनु आदिमा कर्मचारीको व्यावसायिकता कमजोर हुनु कारण देखिन्छ । पहिलो १२ वर्षमा प्रतिवर्ष १ महीनाका दरले र पछिल्लो ६ वर्षमा प्रतिवर्ष २ महीनाको दरले अवकाश हुने उमेर बढाइएको थियो । यस्तो व्यवस्थाले सेवाबाट अवकाश हुन लागेका र सेवामा प्रवेश गर्न चाहने कसैलाई पनि थाहा पाउने गरेर असर गर्दैन । भन्नुको अर्थ कोही पनि बेखुशी बन्नु पर्ने अवस्था आउँदैन । औसत आयुमा भएको वृद्धि र उपदानको दायित्व घटाउनुपर्ने वित्तीय बाध्यताका कारण नेपालमा प्रतिवर्ष ४ महीनाका दरले अवकाश हुने उमेर थपेर आगामी २१ वर्षमा अवकाश हुने उमेर ६५ पुर्‍याउनु उपयुक्त हुनेछ । यस्तो व्यवस्थाबाट सबैको जित हुनेछ र निजामती सेवामा तदर्थवादको अन्त्य भई दीर्घकालीन दृष्टिकोणले प्रवेश पाउनेछ । अहिले नेपालीको औसत आयु ७२ वर्ष पुगेको र आगामी २१ वर्षमा ७५ वर्ष पुग्ने देखिएकाले ६५ वर्षको अवकाश उमेर जायज हुनेछ । यसबाट अहिलेका कर्मचारीलाई ७ वर्षसम्म तलब र उपदानको फरक हुने १० प्रतिशत रकमबाट नै सेवामा लगाउन सकिनेछ भने ६५ वर्षमा अवकाश दिँदा लामो समयसम्म उपदान पनि भुक्तानी गर्नुपर्ने छैन ।  विधेयक तर्जुमामा यो साझा र महत्त्वपूर्ण विषय ओझेलमा परेको छ । देश र जनताको बढुवा हुने यस्तो विषय कर्मचारीले लबिङको प्राथमिकतामा पारेका छैनन् । निजामती सेवामा हुने सरुवा र बढुवालाई पनि देश र जनताको भलाइ र बढुवा हुने विषयसँग जोड्न सकिएको छैन । मूलत: सरुवाको प्रणाली बसाउनेतिर कसैको ध्यान गएको अनुभूति मिल्दैन । चक्रीय र अनुमानयोग्य बढुवा प्रणाली नहुँदा कर्मचारीहरू कि राजनीतिक नेताको चाकडी वा अन्य प्रकारको अनियमितताको शरणमा पर्नुपर्ने अवस्था छ । उपयुक्त व्यक्तिलाई उपयुक्त क्षमताको विकाससहित उपयुक्त स्थानमा खटाउने प्रणाली भएमा मात्र देशले लाभ लिन सक्छ । यसबाट मात्र उपयुक्त नीति तथा कार्यक्रमको तर्जुमा भई उपयुक्त कार्यान्वयनबाट नतिजा प्राप्त गर्न सकिन्छ ।  सेवा प्रवाहमा सुस्ती र अनियमितता रहनुको एउटा कारक तत्त्व अव्यवस्थित सरुवा व्यवस्थापन पनि हो । यसबाट देश र जनताको बढुवा हुनै सक्दैन । बढुवाको नाममा हुने प्रतिस्पर्धात्मक परीक्षाले पनि सेवा प्रवाहमा प्रतिकूल प्रभाव पारेको बताइन्छ । अर्कोतिर यस्ता परीक्षाबाट आएकाहरूले पनि सेवा प्रवाहमा प्रगति गरेको पुष्टि हुन सकेको छैन । यसलाई बुझेर भारतलगायत देशले ब्याच बढुवालाई कार्यान्वयनमा ल्याएका छन् । नेपालमा भने अधिकृतमा अब्बल भएपछि पनि कसी लगाइरहनुपर्ने व्यवस्था कहिलेसम्म र किन ? के यसले देशको भलो गरेको छ ? प्रमाण नभएकाले अवश्य छैन भन्नुपर्ने छ । देशको विकास प्रक्रिया सुस्त हुनुमा पनि कर्मचारीतन्त्रको भूमिका छ । लक्षित आर्थिक वृद्धि प्राप्त नहुने, उपलब्ध बजेट पनि खर्च गर्न नसकिनु, स्रोत सुनिश्चित नहुँदै आयोजना ठेक्कामा लगाउने, राजस्व असुलीको लक्ष्य प्राप्त नहुने, व्यापारघाटा चुलिँदै जाने, बेरुजु र अनियमितता बढ्ने, समग्र अर्थतन्त्रले वर्षौंसम्म लय नसमात्ने, वैदेशिक भ्रमणलाई उपलब्धिमूलक बनाउन नसकिनुले पनि विकासको गतिलाई अवरुद्ध गरेको छ ।  यी सबै विषयमा कर्मचारीको व्यावसायिकता कमजोर देखिन्छ । यी सबै कमजोरीमा पनि कर्मचारीतन्त्रलाई जिम्मेवार र उत्तरदायी बनाउन सकिएको छैन । कर्मचारीले आफ्नो निहित स्वार्थ र सेवाको सुरक्षालाई मात्र ध्यान दिँदा विकासको गतिमा रोक लागेको छ । छोटो समय सत्तामा रहने नेताको ध्याउन्न कतातिर हुन्छ भन्ने कुरा बुझ्न गाह्रो छैन । देशको हित र नागरिकलाई प्रभावकारी सेवा प्रवाहका लागि नेतालाई पनि थर्काउन सक्ने कर्मचारीतन्त्र अहिलेको आवश्यकता हो । देशको विकास नहुँदा पनि कर्मचारीहरूको विकास भइरहने व्यवस्था नतिजामूलक, जवाफदेही, आचरणयुक्त र नैतिक होइन । त्यसैले हामीलाई देश र जनताको पनि बढुवा गर्ने कर्मचारीतन्त्रको खाँचो छ, जसले अमेरिकासँगको हाम्रो विकासको खाडल घटाउन सकोस् । लेखक योजना आयोगमा कार्यरत छन् ।

सार्वजनिक सेवामा प्रश्न

सरकारी निकायप्रतिको विश्वसनीयता जोगाउनु मुलुकको वर्तमान चुनौती हो। सेवा प्रवाहका माध्यमले सरकारले जनतासमक्ष आफ्नो चिनारी दिएको हुन्छ। सेवा प्रवाह गुनासारहित हुँदा मात्र सरकार जनताप्रति जिम्मेवार र जवाफदेही भएको मान्न सकिन्छ। सेवा केन्द्रमा रहेका कर्मचारीले आफ्ना सोच, व्यवहार र प्रवृत्तिलाई इमानदारितासँग तादात्म्यता कायम गर्न सकेको अवस्थामा मात्र सरकारी निकायको विश्वसनीय

अधिकांश पुरानै एजेन्डा, महत्वकांक्षी नयाँ प्रतिवद्धता

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले ‘समुन्नत गाउँ, समुन्नत नगर सबल स्थानीय सरकार’ नाराका साथ पार्टीको घोषणापत्र सार्वजिनक गरेको छ । आइतबार सार्वजनिक घोषणापत्रमा ‘नि:शुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच’ सुनिश्चित गर्न ६ बुँदे संकल्प समेटिएको छ । जसमा सबल स्थानीय स्वास्थ्य प्रणालीका लागि सचेत नागरिक जवाफदेही...

मेटलाइफद्वारा साढे २ अर्बको प्रतिबद्धता

काठमाडौं (अस) । मेटलाइफ फाउण्डेसनले समाज विकासका लागि २ अर्ब ५० करोड अमेरिकी डलर सहयोगको प्रतिबद्धता सार्वजनिक गरेको छ । फाउण्डेसनले जनशक्ति तथा समाजमा सकारात्मक सुधारका लागि उक्त प्रतिबद्घता सार्वजनिक गरेको हो । सेवामा पहुँच नभएका तथा कम प्रतिनिधित्व भएकाहरूको आवश्यकतालाई सम्बोधन गर्न ‘विविधता, समता तथा समावेशीकरण २०३० प्रतिबद्घता’को घोषणा गरिएको फाउण्डेसनले जानकारी दिएको छ । संस्थाका अनुसार लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक सेवामा पहुँच नभएकाहरूलाई प्रतिबद्धताले लक्षित गरेको छ । मेटलाइफका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफले मेटलाइफको उद्देश्यले आफ्ना सबै सरोकारवालाका लागि थप समावेशी र समतामूलक संसार निर्माण गरिने बताए । ‘आफ्नो प्रगतिका लागि स्पष्ट अपेक्षा तथा लक्ष्यहरूको निर्धारणले हामीलाई जवाफदेही बनाउनुका साथै हाम्रो गतिलाई कायम राख्न मद्दत गर्दछ,’ उनले भने । मेटलाइफले गरेका प्रतिबद्धता अनुसार सन् २०३० सम्ममा महिला, अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिहरूको स्वामित्वमा रहेका फर्मलाई अघि बढाउन १ अर्ब अमेरिकी डलरको कोष स्थापना गरिनेछ । उक्त प्रतिबद्घताका लागि मेटलाइफले सन् २०२१ मा करीब १० करोड अमेरिकी डलर अग्रिम भुक्तानी पनि गरिसकेको जानकारी दिइएको छ । त्यसैगरी विविध आपूर्तिकर्ताहरूसँग गरिने खर्चलाई मेटलाइफको आपूर्तिकर्ता समावेशीकरण तथा विकास कार्यक्रमले हालसम्म प्रतिबद्घ गरेको रकमभन्दा १ अर्ब ६० करोड अमेरिकी डलरले बढाएर ५ अर्ब अमेरिकी डलर पुर्‍याइने फाउण्डेसनले बताएको छ । यस्तै फाउण्डेसनले सेवामा पहँच नभएका तथा कम प्रतिनिधित्व भएका समुदायका लागि १५ करोड अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने बताइएको छ ।

नक्सा पास प्रक्रिया पेपरलेस बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले घर÷भवनको नक्सा पास प्रक्रियालाई पेपरलेस प्रविधिमा रूपान्तरण गरेको छ । सेवाग्राहीले कागजी फाइल बोकेर कार्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्दै महानगरमा नक्सा पास प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था शुरू गरिएको हो । शुक्रवार महानगरमा एक कार्यक्रममा महानगर प्रमुख रेणु दाहालले यससम्बन्धी सफ्टवेयर प्रणालीको शुभारम्भ गरिन् । सो अवसरमा दाहालले भरतपुर महानगरले नगरवासीलाई घरबाटै सेवा लिन सक्ने वातावरण बनाउँदै लगेको बताइन् । सेवाग्राहीलाई कार्यालयमा हुने अनावश्यक झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफूहरू अगाडि बढेको उनको भनाइ थियो । अनलाइनमार्फत नक्सा पास प्रक्रिया शुरू भएसँगै कामप्रति कर्मचारी थप जवाफदेही बन्ने र सेवाग्राहीलाई सहज सुविधा पुग्ने अपेक्षा गरिएको छ । अनलाइन प्रक्रियाबाट नक्सा पास प्रक्रिया थालनीका लागि आवश्यक सफ्टवयेर भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले भरतपुर महानगरलाई निःशुल्क प्रदान गरेको महानगरका वरिष्ठ इन्जिनियर सूर्यप्रकाश लामाले बताए । उक्त सफ्टवेयर निर्माणमा करीब २० लाख रुपैयाँ खर्च भएको बताइएको छ । यो सप्mटवेयरको माध्यमबाट घरमै बसेर नक्सा पास प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ । भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित शहर र व्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माणको अभियानमा यो सफ्टवेयरले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताए । उक्त सप्mटवेयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाउने सप्mटवेयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए । कन्सल्टेन्सीले अनलाइनमा विवरण प्रविष्टि गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठीक भए÷नभएको जाँच गरेपछि १५ दिने सूचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ । निर्माण पूरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डेटाका आधारमा सम्पन्नताको प्रमाणपत्र सेवाग्राहीले पाउनेछन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जीपीएस लोकेसनसमेत एकिन गर्ने भएकाले स्मार्ट शहर निर्माणमा सहज हुने उनले बताए । अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सप्mटवेयरमा समावेश गरिएको  छैन । यसलाई पनि केही महीनाभित्र समावेश गर्ने योजना रहेको परामर्शदाता कम्पनीले बताएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले लामो समयको प्रयास र छलफलपछि महानगरले निकै राम्रो सप्mटवेयर सञ्चालनमा ल्याउन सफल भएको बताए । यसको माध्यमबाट सुशासन कायम हुने, आर्थिक पारदर्शिता हुने, कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र टेबुलमै आएर फाइल खोलेर हेर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।

भरतपुरमा नक्सा पास प्रक्रिया पेपरलेस प्रविधिबाट शुरु

भदौ ४, चितवन । भरतपुर महानगरपालिकाले नक्सा पास प्रक्रियालाई पेपरलेस प्रविधिमा रुपान्तरण गरेको छ । यसअघि सेवाग्राहीले कागजी फाइल बोकेर पास पर्ने बाध्यताको अन्त्य गर्दै शुक्रवारदेखि अनलाईन प्रविधिमा फड्को मारेको हो ।  शुक्रवार महानगरमा एक कार्यक्रमका बीच अनलाइन भवन निर्माण अनुमती प्रक्रियाको सफ्टवेयरको प्रमुख मेयर रेनु दाहालले १५ दिने सूचना सेवाग्राहीलाई उपलब्ध गराएर घर नक्साको शुभारम्भ गरेकी हुन् ।    शुभारम्भ कार्यक्रममा बोल्दै दाहालले भरतपुर महानगरले प्रविधिको प्रयोग गरी कामलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै सेवाग्राहीलाई घरमै बसेर सेवा लिन सक्ने वातावरण बनाउँदै लगेको बताइन् । सेवाग्राहीलाई अनावश्यक कार्यालयमा हुने झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफूहरु अगाडि बढेको उनको भनाइ थियो   । यो शुभारम्भ भएसँगै कामप्रति कर्मचारीलाई थप जवाफदेही गराउने र सेवाग्राहीलाई यसले धेरै फाइदा पुग्ने उनका विश्वास छ ।  भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालले करीब २० लाख खर्च लाग्ने सो सफ्टवेयर भरतपुर महानगरलाई निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरेको महानगरका वरिष्ठ इन्जिनियर्स सुर्यप्रकाश लामाले बताए । यो सफ्टवयरले घरमै बसेर नक्सा पास गर्न सकिने उनको भनाइ छ । भुकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित सहर र व्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माण गर्न यो सफट्वेयरले महत्वपूर्ण भुमिका खेल्ने बताए । यो सफ्टवेयर बहुउपयोगी हुने र यसले कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र सेवाग्राही समय र झन्झट कम हुने उनले बताए । यो सफ्टवेयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाएको सफ्टवेयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए ।  कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठिक भए नभएको जाँच गरेपछि १५ दिने सूचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ । निर्माण पूरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डाटाका आधारमा सम्पन्नता को प्रमाणपत्र सेवाग्राहीले पाउनेछन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जिपिएस लोकेशनसमेत यकिन गरेर स्मार्ट सहर बनाउन सहजता मिल्ने उनको भनाइ छ ।   अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सफ्टवेयरमा समावेश गरिएको  छैन । यसलाई पनि केही महीनाभित्र समावेश गर्ने योजना रहेको परामर्श दाता कम्पनीले बताएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले लामो समयको प्रयास र छलफलपछि महानगरले निकै राम्रो सफ्टवेयर सञ्चालनमा ल्याउन सफल भएको बताए । यसको माध्यामबाट सुशासन कायम हुने, आर्थिक पारदर्शीता हुने, कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र टेवुलमै आएर फाइल खोलेर हेर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।