वर्ल्ड पपुलेशन रिभ्यूले कुन देशका मानिस बढी बुद्धि भएका छन् भनेर विश्वका १९९ ओटा देशमा एउटा सर्भे गरेछ । परिणाम आउँदा नेपाल चाहिँ सबैभन्दा पुछारमा अर्थात् १९९ नम्बरमा परेछ । नम्बर पनि ४२.९९ मात्र दिएछ, थर्ड डिभिजनतिर । विश्वमै बहादुरीमा एक नम्बरमा रहेका हामी नेपालीलाई विश्वका सबैभन्दा कम बुद्धि भएका देशमा पारेर वल्र्ड पपुलेशन रिभ्यूले ठीक चैं गरेन है !
‘रिन लागोस् तर दिन नलागोस्’ भन्दै ‘सित्तैको बेसाहाले पखाला लाउँछ’ भन्ने बुद्धिमान्हरू बसोवास गर्ने देश पो हो त नेपाल । त्यसैले बरु ऋण लिने तर अनुदान नलिने नीति खाशगरी हाम्रा हाम नेताहरू सरी वाम नेताहरूले लिएका हुन् ।
यी इन्डेक्सवालाहरूले नेपाललाई बुद्धि भएका देशहरूको लिस्टको अन्तिममा पारेकोमा कुनै पनि नेपालीलाई चित्त बुझ्ने कुरै भएन । मलाई पनि यो चित्त बुझेको छैन । मभित्रको देशभक्ति उम्लिएर मात्र यसो भनेको होइन । म त तथ्य र तथ्यांकमा विश्वास गर्ने मानिस हो । त्यसैले मेरो अध्ययनले पनि भन्छ कि नेपाल विश्वका सबैभन्दा बढी टाठाबाठा मानिस बस्ने मुलुक पो हो त !
जस्तै, अरू देशमा विश्व राजनीतिको विश्लेषण राजनीतिक शास्त्रका विश्वविद्यालयहरूमा हुन्छ, अनुसन्धान केन्द्रहरूमा मात्र हुन्छ । हाम्रोमा त गोठमा भैंसी दुहुँदै होस् वा बारीमा घाँस काट्दै बेलायतमा प्रधानमन्त्रीको चुनावदेखि सोमालियाको गृहयुद्धसम्मका विश्लेषण प्रायः सबैजसो नेपाली गर्न सक्षम छन् । उनीहरूलाई भेनेजुएलादेखि उत्तर कोरियासम्मको राजनीति कण्ठस्थै हुन्छ । चिया पसलमा बिहानै आगामी सय वर्षमा यूरोपले के गर्छ, उक्रेनले के गर्छ, रूस र चीनले के गर्छ भनेर भविष्यवाणी गर्न सक्ने अति बुद्धिमान् जमात नेपालबाहेक अन्त कही देख्नुभएको छ ?
हिजोआज हेर्नुस् त, हरेक नेपालीलाई एमसीसी कण्ठस्थ मात्र छैन, एमसीसी आएपछि भोलि अमेरिकाले नेपालमा के के गर्छ भन्ने सबै सूचना नेपालीले पहिल्यै पाइसकेका छन् । उसले भावी सय वर्षसम्म चाल्ने कदमका बारेका गोप्य सूचना नेपालीहरूलाई पहिल्यै थाहा हुन्छ । यस्ता कुरा मै हुँ भन्ने इजरायलको मोसाददेखि बेलायतको एमआई लगायत रूस, चीन र भारतका गुप्तचर निकायले पनि प्राप्त गर्न सकेका हुँदैनन् । यस्ता तीक्ष्ण बुद्धि भएका नेपालीलाई लाटाहरूको देश भनेर घोषणा गर्ने वल्र्ड पपुलेशन रिभ्यूका तथ्यांकशास्त्रीहरू चैं बरु बुद्धि नभएका हुनुपर्छ ।
उनीहरूले सर्भे गर्दा हाम्रा चिया पसलमा भेटिने धुरन्धर विश्लेषकहरूलाई नछुटाएको भए नेपाल एक नम्बर बाठाहरूको लिस्टमा पुग्ने निश्चित थियो । ‘रिन लागोस् तर दिन नलागोस्’ भन्दै ‘सित्तैको बेसाहाले पखाला लाउँछ’ भन्ने बुद्धिमान्हरू बसोवास गर्ने देश पो हो त नेपाल । त्यसैले बरु ऋण लिने तर अनुदान नलिने नीति खाशगरी हाम्रा हाम नेताहरू सरी वाम नेताहरूले लिएका हुन् । यी काँग नेताहरू पनि कुरै बुझ्दैनन् । एमसीसीमा अहिले सित्तैमा अनुदान लिए परजुनीमा तिर्नुपर्छ भन्ने कुरा कांगे्रसजनहरूले किन नबुझेका होलान् कुन्नि ? अर्को जुनीमा समेत के के हुन्छ भन्ने चेत भएका नेपालीलाई बाठा छैनन् भन्ने वल्र्ड पपुलेशन रिभ्यूका तथ्यांकशास्त्रीको बुद्धि देखेर पो दया लाग्यो मलाई त ।
डोनाल्ड ट्रम्प र किम जोङ उनको भेटवार्ता गराउने होलीवाइनका चेला महान् नेपाली कूटनीतिज्ञका कुरा सुन्नुभएकै होला । उता अमेरिकी महाशक्तिलाई साइजमा ल्याउन भनेजुएलासँग रणनीतिक एलायन्स गर्नुपर्ने बुद्धि नेपाली बाहेक अरू कसले दिन सक्छ ? त्यत्ति पनि थाहा नपाउने, अनि को बाठा छन् भनेर सर्भे गरी हिँड्ने ?
नेपाली अति बुद्धिमान् छन् भन्ने उदाहरण अरू पनि छन् । सस्तोमा ठेक्का कबोलेर भेरिएसन गर्दै कैयौं गुणा बढी असुल गर्ने बुद्धि भएका मानिस नेपाल बाहेक अन्त कही देख्नुभएको छ ? विदेशमा लगानी गर्न नदिने कानून बनाउने, तर विदेशमा गैरकानूनी लगानी गरेर धनी भएकालाई मानसम्मान गर्ने मुलुक कहीँ छ ? दुई कट्ठामात्र जमीन हुने सर्वहाराको पनि यूरोप अमेरिकाका महँगा अस्पतालमा उपचार हुन्छ र त्यस्ता सर्वहाराहरू काठमाडौंमा राजामहाराजाको भन्दा ऐयासी जीवन बाँचिरहेका छन् । यस्ता तीक्ष्ण बुद्धि भएका मानिस नेपाल बाहेक विश्वका अरू कुन देशमा छन्, भन्नुस् त ?
गरीबका गीत गाउँदै आफू अर्बपति हुने कला नेपालमा जस्तो अरू कुनै देशका मानिसमा देखिएको छ र ? अझ आफूसँग सुको छैन भन्दै स्वीट्जरल्याण्डका बैंक भर्ने महान् बुद्धिमान्हरू नेपालीहरूलाई वल्र्ड पपुलेशन रिभ्यूले बुद्धि नभएका देशहरूको सूचीमा त्यो पनि लास्टमा राख्नु त सोह्रै आना अन्याय हो नि ।
रुघा लागे पनि विदेश धाउन सक्ने हैसियत बनाउने कला भएका मानिस बस्ने देशलाई सबैभन्दा कम बुद्धि भएको घोषणा गर्ने वल्र्ड पपुलेशन रिभ्यूको सूची हेरेपछि कसैको पनि कन्पारो तातेर आउँछ ।
हामी कति बाठा छौं भन्ने अरू पनि उदाहरण हेरौं न ।
हामीसँग देशैभरि कृषियोग्य जमिन छन् । तर हामी संसारभरबाट खाद्यान्न, तरकारी, फलफूल मगाएर खान्छौं । अरूले हामीलाई महामूर्ख ठान्छन् । तर उनीहरू के बुझ्दैनन् भने किनेरै खान पाइन्छ भने आफै उत्पादन गर्ने झन्झट किन गरिरहने ? किनेर खान पाइने दूधका लागि गाईभैंसी पालेर कसले दुःख बेसाओस् । सिंगापूर लगायत देशले तरकारी फलाउँछ र ? किनेर खाएकै छन् त । अर्थात् जति विकास त्यति खेतीपाती कम हुने हो नि ।
अहिले देशैभरि भ्यूटावर बनाउने होडबाजी चलेको छ । अबुझहरू प्रश्न गर्छन् स्वास्थ्यचौकी, स्कुल, बाटो बनाउन छोडेर भ्यूटावर किन भनेर । ल ! भ्यूटावरबाट रैतीहरूलाई माथिबाट हेर्नुको मज्जा के था यिनीहरूलाई ? यस्ता थुप्रै उदाहरणहरू छन् हामी नेपाली विश्वको बिछट्टै बाठाहरू बस्ने देश हो भन्ने ।
नेपालका कतिपय कर्मचारीहरूलाई नै हेर्नुस् न । आइतवारदेखि बिहीवारसम्म दिनभरि अफिसमै बसेर शेयर किनबेच गर्छन् । शुक्रवार र शनिवार जग्गा दलाली गर्न हिँड्छन् र पनि राष्ट्रसेवकको पगरी गुथेका गुथ्यै छन् । तलब सुविधा कम भयो भन्दै बढाएका बढायै छन् । हाजिर गरेको तलब र काम गरेको थप पैसा लिन खोज्ने नेपालका कर्मचारीजस्तो बाठा अरू कुनै देशमा होलान् ?
अझ आयल हो कि घायल निगम, रोयल निगमजस्ता निकायहरूमा त संस्था दिनहुँ अर्बौं रुपैयाँ घाटा भइरहँदा पनि युनियनबाजी गरेरै भए पनि अतिरिक्त भत्ता र बोनससमेत हाम पार्न सफल छन् । यस्ता विलक्षण प्रतिभा भएका विश्वकै बाठा मानिस नेपालबाहेक भेटिन्छन् त अन्त कतै ?
त्यसैले आउनुहोस्, नेपालीलाई मन्दबुद्धि भएका घोषणा गर्ने सो सूची नसच्याएसम्म वल्र्ड पपुलेशन रिभ्यूका विरुद्ध तपाईं हामी सबै मिलेर मोर्चा कसौं । माइतीघर मण्डलामा जाऔं, मैनबत्ती बालौं, टायर बालौं, नेपाल बन्द गरौं । त्यतिले नपुगे सडक भत्काऔं, उस्तै परे घरै जलाऔं । आआफै विकासका नाममा लडौं, जात र धर्मका नाममा लडौं, भूगोलका नाममा लडौं । त्यति गरेपछि त्यो रिभ्यूले हामी कति बुद्धिमानी छौं भन्ने कसो नदेख्ला ? बरु ढिला नगरौं । जिन्दावाद ! मुर्दावाद !!