माघ ४, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये अपि पावर कम्पनीको रू. २८ करोड ११ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५४ कायम भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि लगानीकर्ताको आकर्षण बढेको हो ।
मंगलवार कम्पनीको ५ लाख ५ हजार ७६४ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले १: ०.३९ अनुपातमा रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असोज २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।