एशियन लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरणपछि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेको हो ।  माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ५ अर्ब पुर्याउन बोनस शेयर वितरणपश्चात १ बराबर ०.४२  काे अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ४०७ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।  प्रस्तावित बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ । कम्पनीले उक्त पूँजीकाे ४२ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । 

सम्बन्धित सामग्री

तीन कारोबार दिनमा ५७.९ अंक घट्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक लगातार तीन कारोबार दिन घटेको छ । गत बुधवारयता घट्न थालेको नेप्से त्यसयताका तीन कारोबार दिनमा ५७ दशमलव ९ अंक घटेको हो । साताको पहिलो कारोबार दिन आइतवार भने परिसूचक ५ दशलमव ३१ अंक घटेर २ हजार ६१ दशमलव ७० विन्दुमा झरेको छ । यस दिन परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसअघिको कारोबार दिन रू. ४ अर्ब १८ करोड बराबरको शेयर कारोबार भएकोमा आज रू. ३ अर्ब २१ करोडमा झरेको छ ।  पछिल्लो समय लगानीकर्ताले प्रोफिट हुनेबित्तिकै बुक गरिहाल्छन् । यस कारण दुई-तीन दिन बजार बढेपछि नेप्से घट्ने गरेको छ । लगानीकर्ताको मनोबलले शेयर बजार प्रभाव पार्ने गरेको छ । पछिल्लो समय बजारमा खरीदकर्ताभन्दा विक्रेता हाबी भएको देखिएको छ । गत आर्थिक वर्ष (आव)को नाफाबाट कम्पनीले दिएको बोनस शेयर सूचीकृत हुने क्रम शुरु भएको छ ।  बोनस सेयर डिम्याट खातामा आउनेबित्तिकै बेचिहाल्ने प्रवृत्तिले समेत बजार प्रभावित भएको जानकार बताउँछन् ।  आइतवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव २५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १६ प्रतिशत घटेको छ । यस दिन ३०७ धितोपत्रको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर ७० हजार ७९० पटकमा रू. ३ अर्ब २१ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितापत्रमध्ये युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१ हजार २०३ दशमलव ५० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा मोलुङ्ग हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ४६ प्रतिशत वृद्धि भएर रू. ४८६  पुगेको छ ।  आइतवार सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ३७ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६५५ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा रावा इनर्जी डेभलपमेन्ट कम्पनी छ । कम्पनीको शेयर मूल्य ५ दशलमव १७ प्रतिशत घटेर रू. ५१२ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३३ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६८८ दशमलव १० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा एशियन लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. १२ करोड ९८ लाख बराबरको भएको छ । यस कम्पनीले बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकीको सूचक घटेको छ । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ५१ प्रतिशत बढेको छ भने अन्य समूहको सूचक सबैभन्दा बढी १ दशमलव ०४ प्रतिशत घटेको छ ।