काठमाडौं । आफ्नो उत्पादनको भुक्तानी पाउन माग गर्दै काठमाडौंमा आन्दोलनरत एक उखु किसानको मृत्यु भएको छ । सरकारसँग सोमबार भएको सहमतिप्रति असन्तुष्ट रहेका सर्लाहीका किसान नारायण यादवको गंगालाल ह्रदयरोग अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो ।
यादवको हृदयघातका कारण मृत्यु भएको उनका सहकर्मीहरुले बताएका छन् । सोमबार राति असजिलो महसुुस गरेका उनलाई सुरुमा हेल्दी होममा लगिएको र त्यहाँबाट रिफर भएर गंगालाल अस्पतालमा भर्ना गरिएको थियो । ६३ वर्षीय यादवको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको हो ।
यादव सरकारसँगको सहमतिपछि पनि असन्तुष्ट रहेका उनका सहकर्मीहरु बताउँछन् । वर्षौदेखी बिक्रि गरेको उखुको पैसा नपाएपछि उनी काठमाडौंमा आएर धर्ना तथा आन्दोलनमा सहभागी थिए।
यादवले अन्नपूर्ण सुगरमिलबाट करिब २५ लाख बक्यौता लिन बाँकी थियो । जसमध्ये उनले १ लाख ६० हजार रुपैयाँ मात्र पाएका छन् । सोमबार सरकार र उखु किसानबीच चार बुँदे सहमति भएपछि विगत १६ दिनदेखि आन्दोलनरत उखु किसानहरुले आन्दोलन स्थगित गरेका थिए ।
किसानले उखु मिलहरुबाट करिब ९० करोड रुपैयाँ भुक्तानी पाउनुपर्ने बताउँदै आएका छन् । सरकारले सो भुक्तानी २१ दिनभित्र गराउने प्रतिवद्धता व्यक्त गरेको छ । गत वर्ष पनि यस्तै सहमति भएपनि कार्यान्वयन नभएपछि किसानहरु पुनः आन्दोलन गर्न काठमाडौं आएका हुन् ।