जेठ २०, काठमाडौं । अपि पावर कम्पनीले आज (बिहीवार)देखि २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयरको विक्री खुला गर्ने भएको छ ।
कम्पनीले रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनको लागि कम्पनीले गत वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । सो आधारमा वैशाख २८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।
उक्त हकप्रद शेयरमा आवेदकले असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदमा अपि पावर कम्पनी ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
मेरो शेयरबाट हकप्रदका लागि आवेदन दिन सकिने छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ ।
उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्दछ । यसअघि कम्पनीले ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गरिसकेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रहेको छ । सोही पूँजीको आधारमा २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार पुग्नेछ ।