भदौ १८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार अपि पावर कम्पनी र ङादी ग्रुप पावर लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले अपि पावर कम्पनीको १० दशमलव ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४७८ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५२९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
त्यस्तै, ङादी ग्रुप पावरको २० प्रतिशत बोनस शेयर समायोजनपछि शेयरमूल्य रू. ८०७ तोकेको छ । कम्पनीको बिहीवार रू. ९६९ मा अन्तिम कारोबार भएको थियो ।
दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
अपि पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी भदौ २५ गते साधारण सभा आयोजना गर्न लागेको हो । कम्पनीले सभा प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।
त्यस्तै, ङादी ग्रुप पावर कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असोज ३ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ९ बजे क्विन्स क्याफे अनामनगर, काठमाडौंमा साधारण सभा बोलाएको हो ।