मोटर बीमामार्फत माघमा १ अर्ब ७ करोड बीमाशुल्क संकलन

काठमाडौं । माघ महीनामा मोटर बीमामार्फत रू. १ अर्ब ७ करोड बीमाशुल्क संकलन भएको छ । यो सातओटा प्रदेशमा मोटर बीमामार्फत आर्जन भएको कुल बीमाशुल्क हो । माघमा संकलित बीमाशुल्क पुसको तुलनामा भने २६ दशलमव २७ प्रतिशतले कम हो । पुसमा मोटर बीमामार्फत कुल रू. १ अर्ब ४५ करोड बीमाशुल्क संकलन भएको थियो । सात प्रदेशमध्ये मोटर बीमामार्फत बागमती प्रदेशबाट सबैभन्दा बढी रू. ५९ करोड ६२ लाख बीमाशुल्क आर्जन भएको छ । त्यसैगरी दोस्रोमा लुम्बिनी प्रदेशबाट रू. १३ करोड ६ लाख बीमाशुल्क संकलन भएको छ । यस्तै कर्णाली प्रदेशबाट सबैभन्दा कम रू. १ करोड २० लाख बीमाशुल्क संकलन भएको बीमा समितिको तथ्यांक छ । पुस महीनाको तुलनामा माघमा मधेश प्रदेश बाहेक बाँकी सबै प्रदेशबाट बीमाशुल्क घटेको छ । मधेश प्रदेशबाट मोटर बीमामार्फत माघमा संकलित बीमाशुल्क पुसको तुलनामा ४ दशमलव ३८ प्रतिशत बढी रहेको छ । सो प्रदेशमा पुसमा मोटर बीमामार्फत ९ करोड १८ लाख बीमाशुल्क आर्जन भएकोमा माघमा बढेर ९ करोड ५८ लाख पुगेको हो । मोटर बीमातर्फको बीमाशुल्क धेरै घट्नेमा बागमती प्रदेश अगाडि छ । यो प्रदेशमा पुसको तुलनामा माघमा मोटरबीमा मार्फत संकलित बीमाशुल्क ३६ दशलमव ३३ प्रतिशत घटेको छ । पुसमा बागमती प्रदेशबाट मोटर बीमामार्फत रू. ९३ करोड ६५ लाख बीमाशुल्क संकलन भएकोमा माघमा घटेर रू. ५९ करोड ६२ लाखमा सीमित छ ।

सम्बन्धित सामग्री

साढे ३ प्रतिशत घट्यो निर्जीवन बीमाशुल्क

काठमाडौं। अर्थतन्त्रमा कायम मन्दीको असर निर्जीवन बीमा व्यवसायमा देखिएको छ । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क संकलन साढे ३ प्रतिशतभन्दा धेरैले घटेको हो ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालू आव २०८०/८१ को पहिलो त्रैमासमा १४ निर्जीवन र दुई लघु निर्जीवन बीमा कम्पनीले गरी १० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । आव २०७९/८० को पहिलो त्रैमासमा बीमा कम्पनीहरूले १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  चालू आवको पहिलो त्रैमासको बीमाशुल्क अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा ३ दशमलव ५७ प्रतिशतले कम हो ।  चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । आर्थिक मन्दीको असर बीमा व्यवसायमा समेत पर्दा बीमाशुल्क घटेको यस क्षेत्रका जानकार बताउँछन् । प्राधिकरणका अनुसार चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यसले उक्त अवधिमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । यसले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सको बीमाशुल्क संकलन १ अर्ब ४ करोड १२ लाख रुपैयाँ छ ।  सञ्चालनमा रहेका दुईओटा लघु निर्जीवन बीमा कम्पनीले भने आव २०८०/८१ को पहिलो त्रैमासमा ९१ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ३० लाख ४६ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६१ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

निर्जीवन बीमा व्यवसाय मोटर र सम्पत्तिमा केन्द्रित

काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय मोटर बीमा र सम्पत्ति बीमामा मात्रै केन्द्रित भएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ को २ महीनामा जारी भएको बीमालेखमध्ये ८० प्रतिशत मोटर बीमा र सम्पत्ति बीमाको छ । मोटर र सम्पत्ति बीमा बाध्यकारी भएकाले अन्य बीमाको तुलनामा यी दुईमा बढी भएको यस क्षेत्रका जानकार बताउँछन् ।  प्राधिकरणका अनुसार आव २०८०/८१ को २ महीनामा ४ लाख ९ हजार ८० ओटा बीमालेख जारी भएका छन् । त्यसको ७९ दशमलव ४४ प्रतिशत बीमालेख मोटर बीमा र सम्पत्ति बीमाका छन् । साउन र भदौमा ५७ प्रतिशत (२ लाख ३३ हजार ८६०) मोटर बीमा र २२ प्रतिशत (९१ हजार १०१) सम्पत्ति बीमालेख जारी भएको छ ।  दुई महीनामा सबैभन्दा कम हवाई बीमालेख जारी भएको छ । यस अवधिमा हवाई बीमाको १८ ओटा बीमालेख जारी भएको हो ।  प्राधिकरणका अनुसार आव २०७९/८० को यही अवधिमा जारी भएका ४ लाख ४५ हजार ३७१ बीमालेखमध्ये ७६ प्रतिशत मोटर र सम्पत्ति बीमाका थिए । आव २०८०/८१ को २ महीनामा निर्जीवन बीमा कम्पनीहरूले कुल ७ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यसमध्ये २८ दशमलव शून्य ६ प्रतिशत (१ अर्ब ९८ करोड रुपैयाँ) मोटर बीमाबाट र २६ दशमलव ७६ प्रतिशत (१ अर्ब ८९ करोड रुपैयाँ) सम्पत्ति बीमाबाट संकलन भएको छ ।  नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं मोटर र सम्पत्ति बीमा बाध्यकारी भएकाले बीमा कम्पनीहरूको अंश अन्य बीमाको तुलनामा यी दुईमा बढी भएको बताउँछन् । ‘नेपालमा मोटर र सम्पत्ति बीमा कानूनी रूपमै बाध्य बनाइएको छ । मोटर बीमा अनिवार्य गर्नुपर्छ भनेर यातायात ऐनमा नै भनिएको छ,’ उनले भने, ‘त्यसैगरी राष्ट्र बैंकले बैंकबाट कर्जा लिँदा सम्पत्ति बीमा पनि अनिवार्य गरेको छ ।’  बीमालाई बाध्यकारी बनाउनेभन्दा पनि स्व:स्फूर्त रूपमा गर्न प्रोत्साहन गर्नुपर्ने चापागाईं बताउँछन् । ‘बीमालाई स्व:स्फूर्त प्रोत्साहन गर्न कम्पनीहरूले समयमा दाबी भुक्तानी गरेर विश्वसनीयता बढाउन आवश्यक छ,’ चापागाईं भन्छन्, ‘यस्तै प्राधिकरणले पनि कम्पनीहरूले गर्ने भुक्तानीलगायत कार्यको सुपरिवेक्षण गर्न आवश्यक छ । बीमाबारे आम नागरिकलाई सचेत गराउन पनि उत्तिकै आवश्यक छ ।’

आधुनिक बीमा सेवामा फड्को : राष्ट्रिय बीमा संस्थानको ५६औं वार्षिकोत्सव विशेष

काठमाडौं । मुलुकको बीमा क्षेत्रमा साढे ५ दशकको योगदान रहेको राष्ट्रिय बीमा संस्थान आज (बिहीवार) ५६औं वर्षमा प्रवेश गर्दै छ । २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना एक निजी कम्पनीको रूपमा भएको थियो । स्थापनाकालमा संस्थानको अधिकृत पूँजी १ करोड मात्र रहेको देखिन्छ । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ जारी भइसकेपछि २०२५ पुस १ गतेदेखि यसले संस्थागत रूप लिएको हो । २०२४ फागुन ११ गतदेखि व्यवसाय शुरू गरेकाले संस्थानले फागुन ११ गतेलाई आधार मानेर वार्षिकोत्सव मनाउने गरेको छ । शुरुआतमा निर्जीवन बीमा गर्ने संस्थानले प्रथम बीमितको रूपमा नेपालका तत्कालीन शासक राजा महेन्द्रको बीमा गरेको थियो । संस्थानले २०२९ फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय शुरू गर्‍यो । त्यसपछि बीमा २०७१ सालसम्म निर्जीवन र जीवन दुवै बीमा गर्दै आएकोे थियो । तर दुवै प्रकारका बीमा एउटै कम्पनीबाट गर्न नपाइने निर्देशनपछि २०७१ सालमा निर्जीवन बीमाका लागि राष्ट्रिय बीमा कम्पनीको स्थापना गरियो । संस्थानले अहिले जीवन बीमा मात्र गर्छ । अहिले सबै प्रदेशमा गरी २३ शाखा कार्यालयबाट जीवन बीमाको व्यवसाय भइरहेको छ । बीमा अभिकर्ताका लागि अहिले धेरै सजिलो भएको संस्थानका अधिकारीहरू बताउँछन् । शुरूका दिनमा अभिकर्ताले बीमा गर्न शाखा कार्यालयमा गएर कागजपत्र बुझाइसकेपछि काठमाडौंमा पठाउनुपर्ने र काठमाडौंबाट बीमालेख प्रिन्ट गरेर पठाउनुपर्ने व्यवस्था थियो । तर अहिले कागजपत्र पूरा गरेर ल्याएको आधा घण्टाभित्र बीमालेख जारी गरिसक्ने व्यवस्था रहेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए । ‘गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन शुरू गरेका छौं,’ उनले भने, ‘यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसको माध्यमबाट गर्दै छौं ।’ उनका अनुसार संस्थानले प्रविधिको क्षेत्रमा ठूलो सुधार गरेको छ । बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ ईश्वर पौडेल अध्यक्ष, राष्ट्रिय बीमा संस्थान राष्ट्रिय बीमा संस्थानलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ? म यो संस्थामा आएको ५/६ महीना मात्र भएको छ । राष्ट्रिय बीमा संस्थान बीमा क्षेत्रको अग्रणी संस्था हो । यसले बीमालाई व्यवस्थित गर्न, बीमाको बारेमा चेतना बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । संस्थान व्यावसायिक हिसाबले पनि सबल छ । पुरानो संस्था भएकाले पूँजी निर्माणमा संस्थान अग्रणी छ । हामीले बीमालाई अगाडि बढाउन कस्तो रणनीति लिने भनेर गहन छलफल गरेका छौं । लामो समयदेखि संस्थानको लेखापरीक्षण भएको छैन । त्यसलाई पूरा गर्नुपर्ने छ । समग्रमा संस्थानलाई अझै अब्बल बनाउन लागिपरेका छौं । संस्थानका शाखा पनि कम छन् । शाखा सञ्जाल विस्तारका लागि कस्तो योजना छ ? संस्थानका शाखा कम भयो भन्ने छ । तर जनशक्तिको स्थिति हेर्दा यो स्वाभाविक नै हो जस्तो लाग्छ । पहिले जीवन र निर्जीवन दुवै हेर्ने गरेको बीमा संस्थानबाट निर्जीवन बीमा हेर्नेगरी राष्ट्रिय बीमा कम्पनी बनेपछि जनशक्ति घटेका हुन् । पछि संस्थान निजीक्षेत्रका अन्य बीमा कम्पनी जसरी आक्रामक रूपमा विस्तार हुन नसकेको देखिन्छ । यसको एउटा कारण लेखापरीक्षण नहुँदा पूँजी बढ्न नसक्नु पनि हो । अहिले हाम्रा जति शाखा छन्, तिनबाट काम कारबाही अघि बढाउने, पछि पूँजी वृद्धि पनि गर्ने र शाखा बढाउने सोच छ । बीमा संस्थानमा सञ्चालक समिति र व्यवस्थापन समूहबीच कत्तिको समन्वय भइरहेको छ ? हिजो एउटा परिस्थितिमा यसको ऐन आयो । २०२५ सालमा अन्य कुनै बीमा कम्पनी नरहेको अवस्थामा संस्थानले आफ्नै संयन्त्र र स्रोतसाधनमार्फत यो व्यवसाय शुरू गरेको थियो । अहिलेको अवस्थामा व्यवस्थापनमा रहेका साथीहरू लामो समय बीमा क्षेत्रमा काम गरेका हुनुहुन्छ । साथै सर्वसाधारण शेयर धेरै नभएकाले व्यवस्थापनमा समस्या छैन । संस्थानका कर्मचारीले छाड्ने गरेको कुरा पनि आइरहन्छ नि । कारण के होला ? कर्मचारीले छाड्ने कुरा व्यक्तिगत कारण हो । कहाँ जाने, के गर्ने भन्ने भन्ने विषय कर्मचारीको योग्यता र क्षमतामा पनि भर पर्छ । सेवासुविधाको कुरा पनि होला । संस्थानमा सेवा सुविधा अलि अगाडिकै कायम छ । त्यसलाई अद्यावधिक गर्नुपर्ने छ । त्यसमा हामी लागेका छौं । सेवासुविधा बढाउन प्रस्ताव पनि गरिसकेको हो । तर अहिले आर्थिक मन्दीको जस्तो अवस्था भएकाले सबै कुरा समुचित तवरले हेर्नुपर्छ । संस्थानको ५५ वर्षको यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ ? नेपालको समग्र बीमा क्षेत्रमा बीमा संस्थानको ठूलो योगदान छ । जनसाधारणलाई बीमाका बारेमा जानकारी दिन र चेतना विकास गर्न संस्थानले अग्रणी भूमिका निर्वाह गरेको छ । अहिले निजीक्षेत्रका बीमा कम्पनीका कारण हाम्रो उपस्थिति अलि कमजस्तो देखिएको छ । यद्यपि हामो भूमिका उच्चस्तरको छ । हामी व्यावसायिक रूपमा सबल पनि छौं । चालू आवमै लेखापरीक्षण सम्पन्न गर्ने तयारीमा छौं कविप्रसाद पाठक प्रशासक, राष्ट्रिय बीमा संस्थान विगतको तुलनामा अहिले राष्ट्रिय बीमा संस्थानमा बीमाशुल्क तथा दाबी भुक्तानी सेवामा के कस्तो परिवर्तन आएको छ ? पहिला बीमाशुल्क तिर्न बैंकमै जानुपर्ने वा हाम्रो काउन्टरमै आएर तिर्नुपर्ने अवस्था थियो । गतवर्षदेखि कनेक्ट आईपीएस, खल्ती र ई–सेवाबाट बीमाशुल्क संकलन कार्य शुरू गरेका छौं । यही फागुनदेखि दाबी भुक्तानी पनि कनेक्ट आईपीएसमार्फत गर्दै छौं । क्रमशः अन्य भुक्तानी पनि अनलाइनबाटै गर्ने व्यवस्था गर्नेछौं । संस्थानले आफूलाई कसरी प्रविधिमैत्री बनाइरहेको छ ? संस्थानमा म आइसकेपछि वेबबेस्ड सफ्टवेयर लागू गरेका छौं । यसमार्फत काम गर्दा शाखा कार्यालयको कारोबार र प्रधान कार्यालयको कारोबार एकीकृत भएको छ । साथै बीमा गरिसकेपछि ग्राहकलाई जानकारी दिने हिसाबले एसएमएस सेवा पनि शुरू गरेका छौं । मोबाइल एपको पनि विकास गरेका छौं, जसमार्फत बीमाशुल्क बुझाउन सकिने सुविधा ल्याइएको छ । लामो समयदेखि संस्थानको लेखापरीक्षण हुन सकेको छैन । यो कहिले हुन्छ ? लेखापरीक्षण हुन नसक्नु ठूलो समस्याको रूपमा रहेको छ । सबै तिरबाट राष्ट्रिय बीमा संस्थानले लेखापरीक्षण गरेन, गर्न सकेन भन्ने कुरा आइरहन्छ । हामीले यसलाई मुख्य प्राथमिकतामा राखेर चालू आर्थिक वर्षमै सक्नेगरी कार्ययोजना बनाउन लागिरहेका छौं । त्यसका लागि अहिले चार्टर्ड एकाउन्टेन्ट, सेमिक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट कन्ट्र्याक्टमा लिन लागेका छौं । चुक्तापूँजी बढाउने सम्बन्धमा तपाईंहरूको योजना के छ ? आउँदो चैतभित्र चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन नेपाल बीमा प्राधिकरणको निर्देशन छ । हाम्रो विशेष ऐन, राष्ट्रिय बीमा ऐन २०२५ अनुसार हाम्रो अधिकृत पूँजी ५० करोड रुपैयाँ मात्र भए पुग्ने व्यवस्था छ । त्यसो हुँदा ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन हामीलाई कानूनी अड्चन थियो । प्राधिकरणको उक्त निर्देशन आइसकेपछि ५ अर्ब चुक्तापूँजी पुर्‍याउने गरी पूँजी वृद्धि योजना सञ्चालक समितिबाट स्वीकृत गरेका छौं । प्राधिकरणलाई पनि यसको जानकारी गराएका छौं । पूँजी थप गर्न हाम्रा तीनओटै संस्थापक नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडलाई पत्राचार गरिसकेका छौं । अहिले पूँजी वृद्धिका लागि बनाइएको मोडालिटी ७० प्रतिशत संस्थापकबाट र ३० प्रतिशत सर्वसाधारणबाट जुटाउने हो । पछिल्लो समय संस्थानको बीमा व्यवसाय कत्तिको प्रतिस्पर्धी छ ? प्रतिस्पर्धा बढेको छ । तर हाम्रो ६०–७० प्रतिशत कर्पोरेट व्यवसाय छ । नेपाल सरकारका सम्पूर्ण कर्मचारी, सरकारी बैंक र सरकारी निकायको सम्पूर्ण व्यवसाय हामीसँग छ । व्यक्तिगत बीमाका लागि मात्र प्रतिस्पर्धा गर्ने हो । त्यसका लागि सेवाको गुणस्तर बढाउनुका साथै नयाँ नयाँ प्रडक्ट ल्याउँछौं । व्यावसायिक सूचकमा अगाडि नै छौं कृष्णकुमार श्रेष्ठ सहायक प्रशासक, राष्ट्रिय बीमा संस्थान अहिले राष्ट्रिय बीमा संस्थानको व्यावसायिक अवस्था कस्तो छ ? संस्थानले गत आर्थिक वर्षमा २०७८/७९ मा बीमाशुल्क करीब ९ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तै चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा करीब साढे ५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो वर्ष १२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन हुने अनुमान छ । त्यस्तै गत आर्थिक वर्षमा २०७८/७९ मा करीब साढे ४ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको थियो । चालू आर्थिक वर्षको ६ महीनामा १ अर्ब ८० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । यसमध्ये मृत्यु दाबीतर्फ ३ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ । मृत्यु दाबी एकदम कम पर्नुको अर्थ हाम्रो कार्यसम्पादन राम्रो भएर पनि हो । संस्थानमा लगानीयोग्य रकम कति छ ? अहिलेको स्थितिमा संस्थानको लगानीयोग्य रकम ४५ अर्ब रुपैयाँ छ । हरेक वर्ष यसमा करीब ५ अर्ब रुपैयाँ बढिरहेको छ । अहिले बैंकले ब्याज पनि धेरै दिइरहेको छ । यसले गर्दा संस्थानको राम्रै आम्दानी भइरहेको छ । बीमितलाई शेयरको व्यवस्था गर्नुपर्छ भन्ने तपाईंको मान्यता देखिन्छ । त्यो किन हो ? जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउनैपर्ने बीमा प्राधिकरणको निर्णय कार्यान्वयन गर्न हामीले संस्थापक शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशत गर्ने व्यवस्था गरेका छौं । सर्वसाधारण शेयरमध्ये ५ प्रतिशत कम्पनीका कर्मचारीलाई र केही प्रतिशत बीमितलाई दिनु उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो । यसबाट हाम्रो बीमालेखप्रति मानिसको आकर्षण बढ्छ । बीमितलाई शेयर दिँदा व्यवसाय तथा सरकारको राजस्व बढ्ने र बीमाको दायरा फराकिलो हुने देखिन्छ । संस्थानले आफ्नो व्यवसायका अतिरिक्त के कस्ता कार्य गरिरहेको छ ? बीमा संस्थानले व्यवसायका अतिरिक्त परोपकारी संस्थाका लागि सहयोग गर्दै आएको छ । हामीले अनाथ बालबालिकाका लागि खाद्यान्न वितरण गर्‍यौं । हामीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएका छौं । यस प्रकारका परोपकारी कार्यक्रम निरन्तर चलिरहेका हुन्छन् ।

बलियो प्रतिस्पर्धीको रूपमा आउँदै

काठमाडौं । नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वसहित २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । रू. १ करोड अधिकृत पूँजीमा स्थापित कम्पनीले २०२४ फागुन ११ गतेखि व्यावसायिक कारोबार शुरू गर्‍यो । पछि २०२५ सालमा ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ आएपछि यो संस्थानमा परिवर्तन भयो । शुरूमा निर्जीवन बीमा मात्र गर्ने संस्थानले २०२९ देखि जीवन बीमा व्यवसायको पनि थालनी गर्‍यो । तर, २०७१ सालयता संस्थानले जीवन बीमाको व्यवसाय मात्र गर्दै आएको छ । संस्थान आउनुअघि नेपाल बैंकले नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना गरेर २००४ सालदेखि बीमा व्यवसाय शुरू गरेको थियो, जुन अहिले नेपाल इस्योरेन्सको रूपमा सञ्चालित छ । तर, सो कम्पनीले नेपाल बैंकसँग सम्बन्धित बीमा मात्र गर्ने गरेको थियो । त्यसैले, राष्ट्रिय बीमा संस्थानलाई नेपालको पहिलो ‘फुल फेज’को बीमा कम्पनीको रूपमा पनि लिइन्छ । राष्ट्रिय बीमा संस्थान आउनुअघि नेपालमा भारतीय बीमा कम्पनीले बीमा सेवा प्रदान गर्दै आएका थिए । संस्थान आएपछि भारतीय कम्पनी फर्किए । त्यसपछि संस्थानलाई नेपाली बीमा बजारमा एक्लै ‘राज’ गर्ने अवसर प्राप्त भयो । तर, संस्थानले त्यसअनुरूप आफ्नो व्यावसायिक गतिविधि अगाडि बढाउन सकेन । मुलुकको राजनीतिक अस्थिरता, दशवर्षे सशस्त्र द्वन्द्व, ट्रेड युनियनमा हुने राजनीति लगायतले पनि संस्थानलाई नकारात्मक असर पार्‍यो । साथै, पर्याप्त तथा दक्ष जनशक्ति नहुँदा पनि संस्थान आन्तरिक रूपमा कमजोर हुँदै गयो । लेखापरीक्षण, बीमांकीय मूल्यांकन तथा वार्षिक साधारणसभा जस्ता गतिविधिमा समेत संस्थान पछि पर्दै गयो । संस्थानले १०औं वर्षसम्म पनि लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न सकेन । संस्थानले धेरै वर्षहरू ‘पेन्डिङ’मा रहेका काम गरेरै बितायो । अझै पनि संस्थानको आव २०६९/७० यताको साधारणसभा भएको छैन । यस्ता समस्या हुँदाहुँदै पनि संस्थान बीमा बजारमा बलियो प्रतिस्पर्धीको रूपमा आउन लागेको छ । संस्थानको पछिल्लो वर्षका वित्तीय परिसूचकले पनि त्यो पुष्टि गर्छ । संस्थानका बीमाशुल्क संकलन, नाफा, जीवन बीमा कोष बढ्दो अवस्थामा छन् । बीमाशुल्क, बीमा कोषको आधारमा संस्थानले बीमा बजारको करीब ९ प्रतिशत हिस्सा ओगटेको छ । चालू आवमा त बीमा संस्थान बीमाशुल्क संकलन गर्ने मामलामा तेस्रो स्थानमा आएको छ । त्यसअनुसार अब छिट्टै संस्थान बीमा बजारको बलियो प्रतिस्पर्धी कम्पनी बन्ने देखिन्छ । संस्थानका सञ्चालक एवं उच्च अधिकारीहरू पनि सोहीअनुसार कम्पनीलाई अगाडि बढाउने बताउँछन् । संस्थानका सेवासुविधालाई पनि डिजिटलीकरण गरिँदै लगिएको छ । अनलाइनबाटै बीमाशुल्क भुक्तानी गर्न मिल्ने, एसएमएसमार्फत बीमालेखबारे जानकारी लिन सकिने जस्ता सुविधा संस्थानले शुरू गरिसकेको छ । यस्तै, मोबाइल एपमार्फत संस्थानको सेवाबारे सहजै बझ्न सकिन्छ । संस्थानले आफ्नो आन्तरिक सफ्टवेयर समेत विकसित गर्दै आएको छ । यसअघि लामो समयसम्म ‘डेस्कबेस्ड’मै काम गरेको थियो । त्यसबेलाका तथ्यांक राख्ने पनि कुनै प्रविधि थिएन । संस्थानका सबै तथ्यांक कागजी रूपमा मात्र भण्डारण गरिएको थियो । तर, अहिले आन्तरिक प्रयोजनका लागि नयाँ सफ्टवेयर ल्याइसकेको छ । त्यसमा संस्थानका सबै तथ्यांक समावेश भइसकेको छ । शाखा संख्या पनि सातै प्रदेशमा हुने गरी २२ ओटा पुर्‍याइएको छ । अब छिट्टै बागलुङ र इलाममा शाखा स्थापना हुँदै छ । आगामी ३ वर्षमा ५६ ओटा शाखा पुर्‍याउने संस्थानको लक्ष्य छ । सबै शाखाबाट संस्थानका सबै सेवा लिन पाउने व्यवस्था गरिएको छ । बीमालेख जारी गर्न अब प्रधान कार्यालयमै आउनुपर्ने बाध्यता छैन । संस्थानले ग्राहकको चाहनालाई लक्षित गरेर ‘इन्डोमेन्ट’ तथा ‘मनी ब्याक’ बीमा योजना ल्याउन लागेको छ । त्यो बीमा समितिबाट स्वीकृत हुने चरणमा छ । यसका अलावा अभिकर्ताको संख्या तथा क्षमता विस्तार गर्ने, कर्मचारी थप गर्ने, व्यावसायिक योजना बनाउने संस्थानको तयारी छ । त्यसअनुसार अहिले संस्थानलाई प्रतिस्पर्धी कम्पनीको रूपमा आउन प्रशस्त आधार तय भइसकेको देखिन्छ । संस्थानको लेखापरीक्षण, बीमांकीय मूल्यांकन, साधारणसभा नहुने जस्ता समस्या करीब समाधान हुने चरणमा छन् । अबको पालो व्यवसाय विस्तार तथा संस्थानको वृद्धि विकास नै भएको संस्थानले बताएको छ । संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले कम्पनीलाई बलियो प्रतिस्पर्धीको रूपमा अघि बढाइने बताए । ‘अहिले कम्पनीको कमजोर पक्ष लेखापरीक्षण र साधारणसभा हुन नसक्नु हो । यद्यपि आव २०७५/७६ सम्मको लेखापरीक्षण भइसकेको छ, समितिबाट स्वीकृत हुन मात्र बाँकी हो,’ उनले भने, ‘त्यो स्वीकृत हुनासाथ साधारणसभा पनि भइहाल्छ । त्यसपछि बजारमा संस्थानप्रतिको नकारात्मक सन्देश पनि हट्छ । त्यसपछि हामी नयाँ उत्साहका साथ बीमा बजारमा प्रवेश गर्छाैं । त्यसका लागि प्रशस्त आधार पनि तयार भएका छन् ।’ संस्थानले आव २०६६/६७ देखि २०६८/६९ सम्मको साधारणसभा सम्पन्न गरी आव २०६९/७० देखि २०७१/७२ सम्मको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । साथै आव २०७२/७३ देखि २०७५/७६ सम्मको बाह्य लेखापरीक्षकद्वारा लेखापरीक्षण सम्पन्न गरी अन्तिम वित्तीय विवरण प्राप्त हुने क्रममा रहेको बताइएको छ । संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले पनि संस्थानलाई बलियो प्रतिस्पर्धीको रूपमा विकास गरिने बताए । यसका लागि अहिले संस्थानको संरचना नै परिवर्तन गर्ने काम भएको उनको भनाइ छ । ‘अहिले हाम्रो लेखापरीक्षण तथा साधारणसभाको काम बाँकी नै छ । तर, हामी त्यसमा मात्र केन्द्रित छैनौं,’ उनले भने, ‘व्यवसाय विस्तार गर्ने काम पनि सँगसँगै अगाडि बढाएका छौं । अब छिट्टै नै बलियो प्रतिस्पर्धी बीमा कम्पनीको रूपमा उदाउँछौं ।’ संस्थानका सहायक प्रशासक कृष्णकुमार श्रेष्ठले पनि कम्पनीलाई बलियो रूपमा अघि बढाउने बताए । साथै, संस्थानको सेवालाई पनि ग्राहकमुखी बनाउँदै लगिने उनको भनाइ छ । संस्थानको लेखापरीक्षण, बीमांकीय मूल्यांकन, साधारणसभा नहुने जस्ता समस्या करीब समाधान भइसकेका छन् । अबको पालो व्यवसाय विस्तार तथा संस्थानको वृद्धि विकास नै भएको संस्थानले बताएको छ । संस्थानलाई यो लक्ष्य प्राप्ति गर्न चुनौती पनि उत्तिकै छ । कोरोनाले प्रभावित व्यावसायिक गतिविधि चलायमान बनाउनु, व्यावसायिक वृद्धिदर कायम गर्नु संस्थानका मुख्य चुनौती हुन् । साथै, अभिकर्ता र बीमितको संख्या बढाउन समेत चुनौतीपूर्ण देखिन्छ । निजी कम्पनीहरूले धेरै सेवा सुविधा दिएर अभिकर्ता र बीमितलाई आकर्षित गरिरहेका छन् । तर, संस्थानमा बीमित र अभिकर्ताका लागि यस्ता योजना छैनन् । अभिकर्ता र बीमित बीमा व्यवसायका लागि अभिन्न अंग हुन । त्यसैले, संस्थान यस विषयमा गम्भीर भएर अगाडि बढ्नुपर्ने देखिन्छ । बीमा बजारमा संस्थानको उपस्थिति चालू आवको पुस मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरूको जीवन बीमा कोष ४ खर्ब ५२ अर्ब ७९ करोड छ । संस्थानले उक्त अवधिसम्ममा ३८ अर्ब ७८ करोड जीवन बीमा कोष कायम गरेको छ, जुन कुल जीवन बीमा कोषको ८ दशमलव ५६ प्रतिशत हो । यस्तै, चालू आवको ६ महीनामा ६ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको छ । यसै अवधिमा १९ जीवन बीमा कम्पनीहरूले भने ७० अर्ब ९१ करोड बीमाशुल्क संकलन गरेका छन् । त्यसअनुसार संस्थानको बजार हिस्सा झन्डै ९ प्रतिशत रहेको देखिन्छ । हालसम्म कम्पनीको बीमितको संख्या ६ लाख ३८ हजारर ७९३ पुगेको छ । संस्थानको लगानी लगानी व्यवस्थापन जीवन बीमा प्रदायकहरूको अर्को महŒवपूर्ण काम हो । संस्थानले बीमाशुल्कबापत उपलब्ध स्रोत नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा तोकिएको क्षेत्रमा संस्थानले लगानी गर्दै आएको छ । विशेषगरी विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी संस्थानले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेख्य प्रतिफल प्राप्त हुँदै आएको छ । सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरूमा आफ्नो स्रोतको उपयोग गर्ने क्रममा संस्थानले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २१ करोड १८ लाख शेयर पूँजी (हालको बजार पूँजीकरण रकम १ अर्ब ३८ करोड) र २ अर्ब ८० करोड ऋण लगानी गरेको थियो । अहिले त्यो ब्याज पूँजीकरणसहित ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीमा १ अर्ब शेयर लगानी (हालको बजार पूँजीकरण ३ अर्ब २० करोड) गरिएको छ । त्यस्तै विद्युत् उत्पादन कम्पनीमा ६ करोड ६ लाख संस्थापक शेयर लगानी छ । जलविद्युत् लगानी तथा विकास कम्पनीको अगुवाइमा कम लागत तथा उच्च प्रतिफलयुक्त जलविद्युत् आयोजनाहरूमा स्वपूँजी तथा ऋण लगानी सम्बन्धमा छलफल भइरहेको छ । नागरिक लगानी कोषमा कोषको कुल शेयर पूँजीको ३१ दशमलव ५ प्रतिशत स्वामित्व रहनुका साथै सन्राइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी जस्ता वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी रकम २४ अर्ब १९ करोड तथा डिबेञ्चरमा ४ अर्ब ३२ करोड रुपैयाँ लगानी छ । संगठन तथा व्यवस्थापन सर्भे संस्थानको विद्यमान संगठन तथा व्यवस्थापन समयसापेक्ष बनाउन नयाँ संगठन तथा व्यवस्थापन सर्भेको कार्य काठमाडौं विश्वविद्यालयको सहयोगमा तर्जुमा गरी सञ्चालक समितिमा पेश गरिएको छ । सञ्चालक समिति र नेपाल सरकारबाट स्वीकृति लिई उक्त सर्भे प्रतिवेदन कार्यान्वयन हुने संस्थानको भनाइ छ ।

१८ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निजीक्षेत्रका निर्जीवन बीमा कम्पनीले रू. २३ अर्ब २ करोड बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये निजीक्षेत्रका १९ निर्जीवन बीमा कम्पनीले ९ महीनामा उक्त बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । समितिका अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने उक्त अवधिको विवरण पेश गरेको छैन । कोरोना कहरका बीच पनि समीक्षा अवधिमा बीमाशुल्क संकलन करीब १८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा उक्त कम्पनीहरूले रू. १९ अर्ब ५१ करोड बीमाशुल्क संकलन गरेका थिए । कोरोना कहर र विगतमा लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा यस्तो बीमाको व्यवसायमा सुधार आएको कम्पनीहरूको भनाइ छ । विशेषगरी बैंकबाट कर्जा प्रवाह बढ्दा निर्जीवन बीमाको व्यवसाय बढेको एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले बताए । बैंकबाट कर्जा लिएर गरिने व्यवसाय तथा बनाइने घरहरूको अनिवार्य रूपमा बीमा गर्नुपर्ने हुन्छ । सो अवस्थामा बैंकबाट कर्जा प्रवाह बढ्दा निर्जीवन बीमाको व्यवसाय उत्साहजनक रूपमा बढेको पन्तको भनाइ छ । ‘कोरोना कहरको बीच पनि समीक्षा अवधिमा निर्जीवन बीमाको व्यवसाय बढेको छ । यसको मुख्य कारण बैंकको कर्जा प्रवाह बढ्नु हो,’ उनले भने, ‘साथै, बीमायोग्य सम्पत्तिको बीमा र नयाँ व्यवसाय पनि भइरहेको छ । यसले पनि व्यवसाय बढेको हो ।’ अबका दिनमा भने निर्जीवन बीमा व्यवसायको कस्तो हुन्छ भन्ने आकलन नगरिएको उनको भनाइ छ । ‘कोरोनाको दोस्रो लहर शुरू भएसँगै अहिले राजधानी सहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ । यसको असर पक्कै पनि व्यवसायमा देखिन्छ,’ उनले भने, ‘यद्यपि, नवीकरण गरिने बीमालेखमा समस्या आउँदैन । अनलाइनमार्फत नै गर्न सकिन्छ । पहिले लकडाउन हुँदा पनि नवीकरण व्यवसाय त्यति प्रभावित भएको थिएन । तर, नयाँ व्यवसायमा भने असर गर्ने देखिएको छ ।’ समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । उक्त कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले रू. १ अर्ब ९९ करोड र तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले रू. १ अर्ब ९५ करोड बीमाशुल्क संकलन गरेको छ । ३ वर्षअघि सञ्चालनमा आएका तीन निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले रू. ९९ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, जनरल इन्स्योरेन्सले रू. ५२ करोड र सानिमा जनरलले रू. ४६ करोड बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।