फागुन ३, काठमाडौं। काठमाडौंको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गरिएको छ ।
नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेशद्वारको मंगलवार मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले संयुक्त रुपमा शिलान्यास गरेका छन् । सोहि अवसरमा महानगरकी उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठ र दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) समेत सहभागी थिए।
दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न ६ ओटा क्षेत्रमा काम हुँदैछ । नगर- नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । यो वर्ष सञ्चालन हुने परियोजनाको लागत १ करोड २४ लाख रुपैयाँ रहेको छ ।
खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ । शिलान्यासपछि बोल्दै शाक्यले जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताए ।
‘काठमाडौं उपत्यकाका समस्याहरु एउटै छन् । एउटा ठाउँलाई छोडेर अर्को ठाउँ मात्र विकास गर्छौँ, भनेर काम गर्दा खण्डीकृत हुन्छ । हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुका विचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ’, मेयर शाक्यले भने, ‘हामीले काठमाडौंका सवै पालिकासँग सहकार्य गरेपछि भक्तपुरका २ ओटा नगरसँग साझेदारी सहयोग गर्यौ । यसै गरेर एक प्रदेश एक भगिनी सहरको नीति लियौँ । विभिन्न ५ ओटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको छ । ती नगरलाई पनि पार्क निर्माण गर्न अनुदान सहयोग गरेका छौँ । पहिले लिएका नीति र कार्यक्रमलाई असर नहुने गरी थप सहयोग गर्न तयार छौँ ।’
दक्षिणकाली नगरका मेयर बस्नेतले काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गरे । ‘काठमाडौँका जनतालाई आवश्यक पर्ने उत्पादन तथा सामग्री हाम्रो नगरमा छन् । हामी पनि महानगरका जनताको समस्या समाधानमा सघाउन चाहन्छौँ,’ उनले भने।
सबै नगरहरुको समृद्धिलाई साथमा लिएर काठमाडौँ महानगरपालिका अगाडि बढेको बताउँदै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहरी विकासका सानातिना समस्या समाधान गर्ने हो भने ठूला र जटिल ठाउँमा पुग्नै नपर्ने धारणा राखिन । ‘महानगर एक्लै समृद्ध भएर हुँदैन । यो अनुभूति गरेर हामीले साझेदारी कार्यक्रमलाई बढाएका हौँ । महानगरमा पार्क बनाउने जग्गा छैन छिमेकी नगरमा जग्गा छ । अब महानगरका जनता छिमेकी नगरमा घुम्न जाने संस्कार बनाउन चाहन्छौँ ।’
दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) ले साझेदारी कार्यक्रमलाई नजिकबाट अनुभव गर्न पाएको बताईन । ‘काठमाडौं महानगरले साना नगरहरुलाई उदार मनले विकासमा अगाडि बढायो । दक्षिणकाली मन्दिर पूर्वाधार विकासमा सहयोग गर्यो । यसबाट देखाउन सकिने काम गर्न पाइएको छ ।’
नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम शूरू भएको छ ।