काठमाडौं (अस) । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र वन तथा वातावरण विभागको बजेट व्यवस्थापनमा नेपाली सेनाले ‘सफा हिमाल अभियान–२०२२’ शुरू गर्ने भएको छ । नेपाली सेनाका २९ जना जनशक्तिसहित ४८ जना शेर्पा र अन्य समन्वय समिति र रियर अप्स ग्रूपका १४ गरी ९१ जनाको सहभागितामा चारओटा हिमाल सफा गरिने भएको छ ।
नेपाली सेनाले काठमाडौंमा मंगलवार कार्यक्रम गरी अभियान शुरू गरिने जानकारी दिएको छ । यो अभियानबाट सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिने सेनाले जानकारी दिएको छ । २०१३ मा सगरमाथा आरोहण गरेका सेनानी किशोर अधिकारीले जेठदेखि अभियान शुरू गर्ने योजना रहेको भन्दै बेस क्याम्पमाथि र बेश क्याम्प र सो वरिपरिको फोहोर गरी कुल ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखिएको बताए ।
उक्त अवसरमा सेनाले यो अभियानका लागि १३ करोड ९६ लाख बजेट आवश्यक पर्ने भए पनि सरकारबाट ८ करोड ३० लाख बजेट उपलब्ध भएको जानकारी दिएको छ । बाँकी अपुग ४ करोड ६६ लाख रकममध्ये १ करोड ३० लाख बजेट सेनाले व्यवस्थापन गर्ने र बाँकी अन्य स्रोतको खोजी गरिने उल्लेख गरिएको छ । यसअघि सरकारले सफा हिमाल अभियान–२०२१ का लागि भने १० करोड विनियोजन गरेको थियो । ‘सफा हिमाल अभियान–२०१९’ देखि शुरू गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्दै अधिकारीले प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पुर्याएका असरलाई कम गर्ने, पर्वतीय आर्थिक गविविधि अभिवृद्धि गर्न सरकारलाई सहयोग पुर्याउने, पर्यटकका साथै पर्वतारोहीलाई आकर्षित गर्ने र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने अभियानको लक्ष्य रहेको बताए ।