रङ्ग उद्योगहरूले प्रयोग गर्ने लेड अर्थात् सिसाको कणयुक्त रसायनका कारण बालबालिकाहरूको स्वास्थ्यमा गम्भीर असर पारेको देखिएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। मापदण्ड विपरीत लेडको अधिक प्रयोग औद्योगिक क्षेत्र वरपरका बासिन्दाहरूको लागि निकै जोखिमयुक्त भएको जानकारहरूले बताएका छन्।मधेस प्रदेश अन्तर्गत बारा पर्सा औद्योगिक करीडरमा रहेका करिब १४ वटा रङ्ग उद्योगमध्ये ३३ प्रतिशत भन्दा बढी उद्योगमा सरकारले तय गरेकोभन्दा बढी लेड पाइएको हो। त्यहाँ आसपास बसोबास गर्ने करिब ५० जना बालबालिकाहरूमा परीक्षण गर्दा उनीहरू सबैको रगतमा लेड भेटिएको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले जानकारी दिए।'यो निकै चुनौतीपूर्ण तथा जोखिमयुक्त अवस्था हो,' साहले भने।मापदण्डले तोकेको मात्रा कति?लेड प्राय रङ्गलाई चम्किलो बनाउन, धातुमा खिया लाग्न नदिन र रङ्गलाई चाँडो सुकाउन प्रयोग हुन्छ। नेपाल सरकारको मापदण्ड अनुसार रङ्गमा ९० पीपीएमभन्दा बढी लेड प्रयोग गर्न पाइँदैन। तर, हाल ८० प्रतिशत उद्योगले मापदण्ड पूरा गरे पनि २० प्रतिशत उद्योगहरूले लेडको प्रयोगमा जोखिमपूर्ण सामग्रीहरू उत्पादन गरिरहेको सर्वेक्षणले देखाएको छ।विभिन्न विज्ञ तथा वातावरण वैज्ञानिकहरूको टोलीले देशको सात वटै प्रदेशमा गरेको परीक्षणमा हाल सबैभन्दा बढी जोखिमयुक्त र प्राणघातक लेड मधेस प्रदेशकै रङ्ग उद्योगहरूमा पाइएको सिफेडले जनाएको छ।लेडले खासगरी बालबालिका तथा गर्भवती महिलालगायतलाई प्रभाव पारिरहेको वीरगञ्जका बाल रोग विशेषज्ञ डाक्टर शैलेश ठाकुरको भनाई छ।कति छन् रङ्ग उद्योग?उद्योग विभागको तथ्याङ्क अनुसार हाल नेपालमा १ सय ३० वटा रङ्ग उद्योग दर्तामा रहेका छन्। जसमध्ये करिब ४० वटा उद्योगको उत्पादन मात्रै बजारमा भेटिएको साहले बताए। मधेस प्रदेशमा १२ वटा रङ्ग उद्योगहरू छन्। तीमध्ये एक बहुराष्ट्रिय कम्पनी हो भने बाँकी राष्ट्रिय कम्पनीहरू हुन्।मधेस प्रदेशबाट १४ वडा नमुना लिइएकोमा १२ वटामा मापदण्ड भन्दा बढी लेड पाइएको साहले बताए।मापदण्डको कार्यान्वयनको अवस्था निकै कमजोर रहेको बताउँदै साह भन्छन्, 'यसका लागि सम्बन्धित निकायहरू जस्तै वातावरण विभाग, भन्सार विभाग लगायतबाट निरन्तर बजार तथा उद्योग उत्पादनको अनुगमन गरिनु पर्छ।'असर तथा प्रभावविश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यमा असर पार्ने १० वटा रसायनहरूमध्ये लेडलाई प्रमुख रसायनको रूपमा पहिचान गरेको जनाएको छ।लेडको सम्पर्कबाट विश्वमा हरेक वर्ष दश लाख मानिसको मृत्यु हुने गरेको छ। मध्यम आय भएको मुलुकमा यस रसायनका कारण हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको छ।लेडले खासगरी बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा असर पार्ने जनाइएको छ। बाल रोग विशेषज्ञ डाक्टर शैलेश ठाकुरका अनुसार बालबालिकाको शरीर कमजोर हुने भएकोले लेड शरीरमा गएपछि दीर्घकालिक रूपमा स्वास्थ्य समस्या निम्त्याउँछ।सरकारको पहलसरकारले वि.सं.२०७१ साल पुस ७ गते प्राणघातक रसायन लेड (सिसायुक्त) सम्बन्धी मापदण्ड बनाई राजपत्रमा प्रकाशित गरेको थियो। तर, उक्त मापदण्ड सार्वजनिक भएको वर्षौँ हुँदा पनि नेपालमा विक्री वितरण भइरहेका रङ्ग र इनामेलमा मापदण्ड विपरीत बढी मात्रा लेड रसायन पाइएको छ।रङ्गको प्रयोगबारे जनता आफै पनि सचेत र चनाखो हुन आवश्यक रहेको बताउँछन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ चिकित्सक डाक्टर भक्तबहादुर केसी। 'स्थानीय सरकारले यस समस्याको नीतिगत कार्यान्वयनमा ध्यान दिन पर्ने अवस्था छ। सरकार पनि आफ्नो दायित्वप्रति जिम्मेवार भएर लागेको छ।'विश्व स्वास्थ्य सङ्गठनको नेपाल स्थित कार्यालयका कार्यक्रम अधिकृत राजाराम पोटे श्रेष्ठ भन्छन्,'सात प्रदेश मध्ये मधेस प्रदेश अलि बढी जोखिममा देखिएको छ। त्यसैले पनि यहाँका औद्योगिक करीडरका रङ्ग उत्पादकहरूले मापदण्ड अनुसार उत्पादन गर्नु पर्यो।'समाधानका उपायलेडको अनुचित प्रयोग रोक्न कानुन कार्यान्वयनको पाटोमा जोड दिनु पर्ने बताउँछन् वैज्ञानिक साह। त्यस्तै लेडको विषाक्तता बारे जनचेतना फैलाउनु, बजार अनुगमनमा ध्यान दिनु अन्य विकल्पका रूपमा अघि सार्छन्।रङ्गको उद्योग वरपरका बस्तीहरूलाई तोकिए बमोजिमको दूरीमा राख्नुले जोखिम केही कम गर्ने जानकारहरूको भनाई छ। -बिबिसिबाट