काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व सम्पदामा सूचीकृत हनुमान ढोका दरबार परिसरमा पर्यटकलाई असहज हुने गरी सामान बेच्न रोक लगाएको छ । महानगरले सूचना जारी गरी यस्तो रोक लगाएको हो ।
महानगरपालिकाका अनुसार उक्त क्षेत्रभित्रको खुला ठाउँमा धुम्रपान, मद्यपान गर्न पाइने छैन । यस्तै, पर्यटकलाई असहज किसिमले सामानहरू विक्री गर्न, पैसा माग्न, चिया तथा मकै बेच्न, रातमा दरवार परिसरमा सुत्न तथा बास बस्न पनि रोक लगाइएको छ ।
यसैगरी, उक्त क्षेत्रमा अब खेलकुदजन्य गतिविधि गर्न, पोस्टर टाँस्न तथा विज्ञापन गर्न र प्राचीन स्मारक तथा धार्मिक आस्थामा आँच आउने कार्य गर्न नपाइने भएको छ । अब उक्त क्षेत्रमा राजनीतिक सभा, सम्मेलन एवं कार्यक्रम गर्नसमेत रोक लगाइएको छ ।
उक्त क्षेत्रमा चलचित्र छायांकन, नाचगान एवं अन्य कुनै पनि भिडियो खिच्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय संस्कृति एवं दरवार क्षेत्रलक्षित परम्परागत कार्यक्रमका लागि पनि महानगरको पूर्वस्वीकृति लिनुपर्नेछ ।
हनुमानढोका परिसरलाई सम्पदामैत्री र व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको महानगरले जनाएकाे छ ।