जेठ १०, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।
उनी नेकपा(एमाले) का उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।
मेयरमा विजयी भएका राजेशमानले ४६ हजार २१५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी विजय सरावगीले २३ हजार ६७१ मत मात्र प्राप्त गरेका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । उपप्रमुखमा आलम २५ हजार ५१८ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत ल्याएका छन् ।
यसपटक मेयर पदका दुवै जना दल बदलेर चुनावी मैदानमा उत्रिएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका हुन् भने विजय सरावगी जसपा त्यागेर नेकपा(एमाले) बाट उम्मेदवार बनेका थिए ।
कुल ३२ ओटा वडा रहेको वीरगञ्जमा जम्मा ९३ हजार ७८२ मत खसेको थियो । मत परिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ ।