कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँ–बल्मी जोड्न दोदा नदीमा पक्की पुल निर्माण गरिएको छ । नदीमा झन्डै ६ करोड रुपैयाँ लातमा पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै गाउँपालिका जान आउन सर्वसाधारणलाई सहज भएको छ ।
‘सहज रूपमै सवारीसाधनमा चढेर गाउँपालिकासँगै अन्य क्षेत्रमा जान सकिने भएको छ,’ वडाध्यक्ष टीकाराम चौधरीले भने, ‘विगतमा गाउँमा कोही बिरामी पर्दा जोखिमपूर्ण रूपमा नदी तरेर स्वास्थ्यचौकी लैजानुपथ्र्यो । बाढी आएका दिन नदी तर्न नसके बिरामीलाई घरमै राख्नुपर्दा ज्यान जाने जोखिम रहन्थ्यो । गर्भवती महिलालाई अस्पताल पुर्याउन नसक्दा घरमै जोखिम मोलेर पनि सुत्केरी गराउने गरेका थिए । पुल निर्माणसँगै त्यो अवस्था अन्त्य भएको छ ।’
पुल निर्माण भएपछि गाउँपालिकाबाट सेवा लिनबाट वञ्चित हुनुपर्ने अवस्था टरेको छ । पुल निर्माण नहुँदा गाउँपालिका पुग्न चारपांग्रे सवारीसाधनमा कैलाली हुँदै डोकेबजार भएर लामो यात्रा गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता थियो । तर अहिले नन्दगाउँ हुँदै सीधैं बेलौरी कलुवापुर सडकसम्म पुग्न सकिने भएको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताए ।
गाउँपालिकाको आन्तरिक स्रोत, प्रदेश सरकार र संघीय सरकारको बजेट परिचालन गरी गएको चार वर्षमा पुल निर्माण भएको हो । लालझाडी गाउँपालिका जिल्लाकै विकट क्षेत्रका रूपमा परिचित छ । जिल्लाको दक्षिण पूर्वमा रहेको लालझाडीलाईे चारैतिर दोदा नदीले घेरिएकाले एक गाउँबाट अर्काे गाउँ जान नदी तर्नुपर्ने अवस्था थियो । गाउँपालिका जोडनका लागि दोदा नदीमा एक साथ तीन पक्की पुल निर्माण थालिए पनि अहिले एक मात्रै पुल निर्माण भएको हो । अन्य दुई पुल निर्माणाधीन छन् । रासस