वातावरण बिग्रँदा सासै फेर्न गाह्रो हुने भएजस्तै राजनीतिक प्रदूषण बढ्दा ‘आफू ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो’ हुनु अनौठो होइन । नेपाली राजनीतिक इतिहासमा विफलताको एउटै कारण प्रदूषणविरुद्ध अभियान नचालिनु हो । प्रदूषण आन्तरिक र बाह्य दुवै छन् । सातसाले ऐतिहासिक परिवर्तनपछि आपसी वैमनस्य, लोभ, मोह र फुटको प्रदूषण नरहेको भए उत्तरी सिमानामा भारतीय सैन्य पोस्ट राख्ने दुष्कार्य सम्भव थिएन । नेपाली जनमनलाई त्यो असह्य भएको उदाहरण उतिबेलैदेखि विरोधका स्वर बढ्दै आएकाले देखाउँछ । २०१६ साउन १७ गते तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ‘चेकपोस्टमा बसेका भारतीयहरू तालिम दिन आएका हुन् र हाम्रा नेपालीहरूले तालिम प्राप्त गरेपछि उनीहरूबाट नै चेकपोस्टको कार्य सम्हालिनेछ’ भनाइले पनि वस्तुगत अवस्था दर्शाएको छ । २०२६ मा आएर १७ वटा सैन्यपोस्टबाट भारतीय सेना फर्काउन सफलता प्राप्त भयो तर २०१९ सालमा चीनसितको युद्धपछि रणनीतिक क्षेत्र मानी केही समयका लागि अनुरोधसहित कालापानीमा बसेको भारतीय सेना अहिलेसम्म नहटाइनुको पीडा अचाक्ली छ ।