काठमाडौं । नेपालले चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा करीब २ अर्ब रुपैयाँको दुग्ध पदार्थ निर्यात गरेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा नेपालबाट १ अर्ब ९९ करोड ८८ लाख रुपैयाँ बराबरको दुग्ध पदार्थ निर्यात भएको हो । यो दूध भारत हुँदै यूरोपका मुलुकमा निर्यात भएको बोर्डले जनाएको छ ।
दुग्ध पदार्थ निर्यातको यो आँकडा हालसम्मकै बढी हो । कोरोना महामारीपश्चात् नेपालमा दूध उपभोग घटेपछि उद्यमीहरूले त्यसबाट छुर्पी उत्पादन गरी निर्यात गर्न थालेकाले दुग्ध पदार्थको निर्यात बढेको बताइन्छ ।
यसै अवधिमा नेपालले विभिन्न मुलुकबाट १ अर्ब ३३ करोड ९ लाखको दुग्ध पदार्थ आयात गरेको छ । नेपालले निर्यात गरेको दुग्ध पदार्थमा १ अर्ब ९७ करोडको छुर्पी भएको बोर्डले बताएको छ । यसअघि आव २०७७/ ७८ मा नेपालले १ अर्ब ६७ करोड १८ लाखको दुग्ध पदार्थ आयात गरेको थियो । सोही आवमा नेपालले १ अर्ब ९६ करोड ५९ लाखको दुग्ध पदार्थ निर्यात गरेको तथ्यांक छ ।
यस आवको अन्त्यसम्म निर्यात अझ माथि उक्लिने अनुमान गरिएको बोर्डका प्राविधिक निर्देशक डा. बालक चौधरीले जानकारी दिए । उनका अनुसार कोरोना महामारीका कारण २ वर्षदेखि नेपालमा दूधको उपभोग घटेकाले उद्योगी, व्यवसायीले त्यसलाई छुर्पी बनाएर विदेश निर्यात गरे ।
यसको फलस्वरूप दुग्ध पदार्थको अन्तरराष्ट्रिय व्यापारमा नेपाल नाफामा गएको छ । ‘दुग्ध पदार्थको निर्यात बढाएर व्यापारघाटा कम गर्न कोरोना महामारी हाम्रा लागि अवसर बनेर आइदियो,’ उनले आर्थिक अभियानसँग भने ।
दूध उत्पादन बढी हुने समयमा नेपालमा औपचारिक क्षेत्रमा दैनिक १० लाख ५० हजार लिटर दूध माग हुन्छ । निजी तथा सार्वजनिक क्षेत्रका संस्थाले दैनिक १२ लाख लिटरसम्म आपूर्ति गर्छन् । यो समयमा बजारमा दैनिक १ लाख ५० हजार लिटर दूध बढी आपूर्ति हुन्छ । बढी भएको दूधलाई डेरी उद्योगले बटर र धूलो दूधमा परिणत गरेर उत्पादन कम हुने समयका लागि राख्छन् ।
दूध उत्पादन कम हुने समयमा औपचारिक क्षेत्रमा दैनिक माग १० लाख २५ हजार लिटर र आपूर्ति ७ लाख लिटर हुने गरेको छ । त्यो बेला बजारमा दैनिक ३ लाख २५ हजार लिटर दूध पुग्दैन । आपूर्ति कम भएका बेला डेरीले धूलो र बटर दूध प्रयोग गर्छन् ।
फागुनदेखि साउनसम्म अत्यधिक गर्मी हुने भएकाले दूध उत्पादन घट्छ । भदौदेखि फेरि उत्पादन बढ्छ । कुल गार्हस्थ्य उत्पादनमा करीब ९ प्रतिशत योगदान गर्ने दुग्ध उत्पादन क्षेत्र आत्मनिर्भर भने हुन सकेको छैन । अहिले पनि नेपालमा प्रतिव्यक्ति वार्षिक ७ लिटर दूध अपुग छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्छ । नेपालमा ८४ लिटरमात्रै उपलब्ध छ । नेपालले यस वर्ष पनि दीर्घजीवन गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन नारा बनाई विभिन्न कार्यक्रका साथ बुधवार राष्ट्रिय दूध दिवस मनाएको छ ।
दिवसमा बोर्डले दुग्ध उत्पादन तथा बजारीकरण क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा नेपाल डेरी एशोसिएशनका महासचिव प्रह्लाद दाहाल, दुग्ध व्यवसायी कृष्णगोपाल श्रेष्ठ, शेर्पा डेरी, नन्दिनी डेरी चितवनलगायत छन् ।