साउन ११, दाङ । दाङमा एक वर्षको अवधिमा २ हजार बढी नयाँ घरेलु तथा साना उद्योगहरु थपिएका छन् ।
आर्थिक वर्ष २०७७/ ७८ मा जिल्लाका विभिन्न प्रकृतिका २ हजार १८४ ओटा घरेलु तथा सना उद्योगहरु दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जानकारी दिएको छ ।
गएको आर्थिक वर्षमा थपिएका २ हजार १८४ नयाँ उद्योगसँगै ४ अर्ब ४८ करोड २३ लाख २१ हजार रुपैयाँ लगानी थपिएको छ । नयाँ थपिएका उद्योगहरुमध्ये २ हजार ५७ प्राइभेट फर्म, ९५ ओटा साझेदारी फर्म र ३२ ओटा प्रालि रहेको घरेलु कार्यालयले बताएको छ ।
पछिल्लो समयमा जिल्लामा महिला उद्यमीहरुको संख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले बताए । ‘महिला उद्येमीलाई प्रोत्सान गर्नका लागि सरकारले पनि केही प्याकेजका कार्यक्रम ल्याएको छ’, उनले भने, ‘त्यसले पनि महिलाहरुलाई उद्यमशीलतामा अग्रसरता बढाएको छ ।’
त्यस्तै प्रदेश सरकारले स्वदेशमै केही गर्न चाहानेहरुका लागि भन्दै उद्योगहरु निःशूल्क रुपमा दर्ता गर्ने व्यवस्था मिलाएपछि पनि जिल्लामा घरेलु तथा साना उद्योगहरु दर्ताको संख्या बढेको हो । निःशूल्क उद्योग तथा फर्महरु दर्ता हुने भएपछि केही युवा व्यवसायीहरुको पनि घरेलु तथा साना उद्योगहरुमा आकर्षित भएको निमित्त प्रमुख वलीले बताए ।
कार्यालयमा दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा बढी कृषिजन्य प्रकृतिका छन् । एक वर्षको अवधिमा १ हजार ५१२ ओटा कृषिजन्य उद्योगहरु दर्ता भएका छन् ।त्यसैगरी उत्पादनमूलक २०७, पर्यटन उद्योगहरु १६८ र सेवामूलक उद्योगहरु २९७ ओटा दर्ता भएका छन् । नयाँ थपिएका २ हजार १८४ उद्योगमा दुई हजार ४५४ जना उद्यमी थपिएका छन् ।
जसमा १ हजार २६२ पुरुष छन् भने १ हजार १९२ जना महिला उद्येमी छन् । ती उद्योगमा ८ हजार १७७ जनाले रोजगारी प्राप्त गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगसम्बन्धी ५ करोडस रुपैयाँसम्मका र बाणिज्यतर्फ २ करोड रुपैयाँसम्म लगानी भएका उद्योग तथा व्यवसाय दर्ता हुने गर्दछन् ।
अनलाइनबाट उद्योग दर्ता शुरु
घरेलु तथा साना उद्योग कार्यालयले अनलाइनमार्फत उद्योग तथा वाणिज्य सम्बन्धी व्यवसाय दर्ता गर्न शुरु गरेको छ । चालू आर्थिक वर्ष २०७८/ ०७९ बाट यस्तो सेवा शुरु गरेको कार्यालयका निमित प्रमुख उमबहादुर वलीले जानकारी दिए ।
अनलाइनमार्फत सबै कागजपत्र पुर्याएमा १५ दिनभित्रमा उद्योगसम्बन्धी दर्ता गरेर प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै वाणिज्यसम्बन्धी सात दिनभित्र दर्ता गरेर प्रमाणपत्र प्रदान गरिनेछ । अनलाइनमार्फत सेवा शुरु गरिएपछि सेवाग्राहीहरुलाई सेवामा सहजता हुने अपेक्षा गरिएको छ ।