विराटनगर । प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको पहिलो बैठकबाट आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश बहुमतले पारित भएको छ । प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले जारी गरेको प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश बहुमतले पारित भएको हो ।
त्यस्तै सो अध्यादेश प्रदेशसभा नियमावली अनुकूल प्रयोग गर्नुपर्ने अवस्था देखिएकाले प्रदेशसभा निमावली २०७४ को नियम १९७ को उपनियम १ बमोजिम प्रदेशसभा नियमावली २०७४ को नियम ११८ को उपनियमम ४ खारेजीको प्रस्ताव समेत बैठकले बहुमतले पास गरेको छ ।
प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली २०७४ को नियम ८० बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङलाई प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश सदनमा प्रस्तुत गर्ने अनुमति दिएका थिए ।
सभामा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बुहाङले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रदेश प्रमुखबाट जेठ १९ मा जारी भएको अध्यादेशमार्फत प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ को उपदफा १ र २ संशोधन गर्न प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश २०७८ सभामा पेश गरेका थिए ।
त्यस्तै संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रदेश प्रमुखबाट जेठ १९ गते जारी भएको अध्यादेशमार्फत प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दाफा ९ को उपदफा १ र २ संशोधन गरिएकोमा प्रदेशसभा नियमावली २०७४ को ११८ को उपनियम ४ लाई उक्त अध्यादेश अनुकूल प्रयोग गर्नुपर्ने अवस्था देखिएकाले उक्त उपनियम खारेजीको प्रस्ताव पेश गर्न सत्ता पक्षका प्रदेशसभा सदस्य विमल कार्कीलाई सभामुख भण्डारीले समय दिएका थिए ।